काठमाडौँ। केही वर्षअघिसम्म घरमै सुत्केरी हुने गरेका बागलुङका गर्भवती अहिले समयअगावै स्वास्थ्य संस्था पुग्ने गरेका छन् । जिल्लाका स्वास्थ्य चौकीमा ‘प्रसूति प्रतिक्षा घर’को व्यवस्था गरिएपछि यहाँका सुत्केरी र गर्भवतीलाई यसबाट राहत मिलेको छ ।
स्थानीय पालिका र ग्रामीण स्वास्थ्य सुधार परियोजनाको साझेदारीमा बागलुङका २२ बर्थिङ सेन्टर रहेका स्वास्थ्य संस्थामा प्रसूति प्रतिक्षा घरको व्यवस्था गरिएको छ । सुत्केरी हुनुअगावै स्वास्थ्य संस्थामा कुरुवासहित खाना खाने र बस्ने व्यवस्था मिलाइएको छ ।
जैमिनी नगरपालिका–५ बिनामारेका २२ वर्षीया यामुना नेपालीले दुई महिना पहिला शिशुलाई जन्म दिन छिमेकी वडाको सर्कुवा स्वास्थ्यचौकी पुगिन् । जैमिनी नगरपालिका–४ सकुवा स्वास्थ्यचौकीमै सुत्केरी हुनलाई यामुनालाई प्रेरित गरेको थियो प्रसूति प्रतिक्षा घरले । सुत्केरी हुने समय आएपछि गर्भवती एक–दुई दिन पहिले नै स्वास्थ्यचौकी पुग्न थालेपछि सम्भावित खतराबाट समेत बच्न सफल भएका छन् ।
“बेथा लागेर हिँड्दा समस्या नआउला भन्न सकिँदैन, अहिले त स्वास्थ्य स्वयंसेविकाले घरमै गएर सुत्केरी हुने मितिको विषयमा जानकारी गराएर स्वास्थ्य संस्था बोलाउनुहुन्छ । दुई दिनअगावै सकुवा स्वास्थचौकीमा आएर कुरुवासहित बसेँ, स्वास्थ्यमा सुधार आएपछि मात्रै घर फर्केँ”, यामुनाले भनिन्, “स्वास्थ्यकर्मीको निगरानीमा नवजात शिशुको उचित स्याहार भयो । हामीजस्ता व्यक्ति होटेलमा बसेर सुत्केरी हुन समस्या हुन्थ्यो । अहिले त पकाउने खाद्यान्न लिएर स्वास्थ्यचौकी आए हुँदोरहेछ ।”
यामुना मात्र होइन, अधिकांश गर्भवतीलाई सुत्केरीको भन्दा खाने बस्ने र कुरुवाको समस्याले सताउने गरेको पाइन्छ । पछिल्लो समय बागलुङमा पकाएर खाने र बस्ने सुविधासहितको प्रसूति प्रतिक्षाघरले गर्भवतीलाई सहजमात्रै बनाएको छैन, खर्च र समय दुवैको बचत गराएको छ । प्रसूति प्रतिक्षा घर नहुँदा यहाँका गर्भवती सुत्केरी हुनकै लागि कुश्मिसेरा तथा बागलुङ बजार पुग्दै आएका थिए ।
बागलुङ जिल्लामै सबैभन्दा बढी सुत्केरी हुने स्वास्थ्य संस्थाका रूपमा परिचय कमाएको निसीखोला गाउँपालिका–३ स्थित बोहोरागाउँ स्वास्थ्य संस्थामा निसीखोला गाउँपालिका र ग्रामीण स्वास्थ्य सुधार परियोजनाको सहयोगमा प्रसूति प्रतिक्षा घर नै निर्माण गरिएको छ ।
भान्साघर र सुत्ने ठाउँसहितको प्रसूति प्रतिक्षाघरले गर्भवतीलाई खर्च र जोखिम दुवै कम गराएको स्वास्थ्यचौकी प्रमुख कसिन्द्र शाहीले जानकारी दिए । बोहोरागाउँ स्वास्थ्यचौकीमा गत वर्षमात्रै १४० गर्भवती सुरक्षित सुत्केरी भएको शाहीले बताए।
चालु वर्षमा मात्रै ५४ गर्भवती सुरक्षित सुत्केरी भइसकेका छन् ।