काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थप गर्न लागिएको बताएको छ।
सोमबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थप गर्न लागिएको बताइन्।
उनले केही दिनभित्रै लोक सेवाको सेड्युलबाट विज्ञापनमा आउने बताइन्। उनले केही समयअघि करारमा रहेका वीर अस्पतालका २२१ जना कर्मचारी हटाइएकोबारे सञ्चार माध्यममा फरक ढंगले प्रचार गरिएको बताइन्।
उनले २२१ करारका कर्मचारीहरू कोरोनाका लागि राखिएको र गत साल नै निकाल्नुपर्नेमा मन्त्रालयले स्थायी दरबन्दी ल्याउन नसकेकाले राखिरहेको बताइन्। उनले अहिले दसैंअघिदेखि नै ३ सय जना स्वास्थ्य जनशक्ति लोक सेवाबाट सिफारिस भएर काम गरिरहेको बताइन्।
उनले भनिन्, ‘वीर अस्पतालको कुरा अलि फरक तरिकाले मिडियामा आएको छ। त्यो होइन। हामीले ८३१ दरबन्दीमध्ये ५ सय जना नर्सिङको दरबन्दी थियो। त्यसमा हामीले ३ सयको लोक सेवाबाट सिफारिस गरेर उहाँहरू दसैंअघिदेखि काम गर्दै हुनुहुन्छ। २३४ को विज्ञापन गइसक्यो। पद रिक्तको गरेर २६१ जनाको विज्ञापन गएको छ। २ सय बढी वीरबाट निकालियो भन्ने छ, त्यो अघिल्लो वर्ष नै निकाल्नुपर्ने थियो, लोक सेवाबाट प्रोसेस आइनसकेकोले उहाँहरूलाई काममा राखेका थियौं।’
उनले अगाडि भनिन्, ‘उहाँहरू जुन रूपमा मिडियामा जानुभएको छ, त्यो होइन। उहाँहरूलाई कोभिड १९ केसको लागि राखिएको थियो। स्थायी दरबन्दी ल्याउन नसकेकाले राखेका थियौं। राज्यको स्रोतअनुसार गर्नुपर्ने भएकाले बाध्य भएर निकाल्नुपरेको हो। अहिले त्यसको रिप्लेस भइसकेको छ र २३४ प्लस अरू रिक्त गरेर २६१ विज्ञापन गइसक्यो, लोक सेवाको सेड्युलबाट सायद आजभोलि विज्ञापनमा आउँछ।’