हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न हुने एक प्रकारको रोग हो । शरीरको कुनै अङ्ग आफ्नो सामान्य स्थितिभन्दा धेरै बढ्यो भने त्यसलाई हर्निया भनिन्छ । यो शरीरको कुनै पनि भागमा हुन सक्छ ।
मानिसलाई धेरैजसो पेटको हर्निया हुन सक्छ । यसबाट मानिसलाई अत्यन्त पीडा हुन्छ । धेरैजसो हर्निया छालाभन्दा भित्र नै उत्पन्न हुन्छ । कुनै हर्नियामा दुखाइ नभई खोक्दा अथवा शौच गर्दामात्र देखिने हुन्छ । पेटको एब्डोमिनल वाल कमजोर भएर पेटभित्र रहेको कुनै भाग जब बाहिरतिर निस्किन लाग्छ, यसैलाई हर्निया भनिन्छ ।
यो विशेष गरी जाँघको विशेष भागको मांसपेशी कमजोर हुनाले पेटबाट बाहिर निस्किन्छ । हर्नियाको समस्या जन्मजात पनि हुन सक्छ । यस्तो स्थितिलाई कन्जेनाइटल हर्निया भनिन्छ । हर्निया कसैलाई पनि हुन सक्छ ।
साधारणतया मानिसहरु हर्नियाको उपचार अपरेशन मात्र हो भन्ने सोचेर डाक्टरको सल्लाह लिन हिचकिचाउँछन् । तर हर्निया चिरफार नगरी पनि ठीक हुन सक्छ ।
हर्निया भएमा अपनाउनुपर्ने सावधानी
कुनै पनि सामान उठाउँदा आफूलाई सहज हुने तरिकाले उठाउनुहोस् । यसको लागि डाक्टरसँग सल्लाह पनि लिन सकिन्छ ।
आफ्नो तौल बढ्न नदिनुहोस् । तौल बढेमा यसले समस्या झन् बढाउन सक्छ । तौल धेरै छ भने त्यसलाई नियन्त्रण गर्नुहोस् । विशेषज्ञबाट आहारको सूची तयार गरी सोहीअनुसार नियमित भोजन गर्नुहोस् ।
कब्जियतले समस्यालाई अझै बढाउन सक्ने भएकाले पाचनप्रणालीलाई बिग्रिन नदिनुहोस् । यसको लागि फाइबरयुक्त आहारमा बढी जोड दिनुहोस् । साथै, तरल पदार्थको सेवन बढी गर्नुहोस् । समयमै शौचालय जाने बानी बसाल्नुहोस् । रोकेर राख्ने बानीले समस्या बढाउन सक्छ ।
अल्ट्रा साउण्डबाट हर्नियाको परीक्षण
अल्ट्रासाउण्ड गरी हर्निया भए नभएको पत्ता लगाउन सकिन्छ । यसमा ध्वनि तरंगको माध्यमले शरीरको भित्री भागको तस्वीर खिचिन्छ । यसले मानिसको मांसपेशीबीचको खाली भाग कति छ भन्ने थाहा पाउन सकिन्छ । यसले हर्नियाको बारेमा जानकारी दिन सक्छ ।
अल्ट्रासाउण्डबाट शरीरभित्र भएको कुनै पनि समस्याले तपाईंलाई पीडा त दिएको छैन भनी त्यसको कारण पत्ता लगाउन पनि सकिन्छ । कुनै अवस्थामा सिटीस्क्यिान अथवा एमआरआई गर्न पनि डाक्टरले सल्लाह दिन सक्छन् ।
हर्नियाबाट बच्न यी उपाय अपनाउनुहोस्
मलाशयको सफाइ सही ढंगले गर्नुहोस्,
मोटोपन बच्नुहोस् अथवा तौल बढ्न नदिनुहोस्,
प्रोटिन अथवा भिटामिन सीको सेवन गर्नुहोस्,
आरामदायी भित्री वस्त्र लगाउनुहोस्,
पेटको मांसपेशीलाई दबाब दिने कार्यबाट बच्नुहोस्,
कब्जियतको समस्या छ भने त्यसको तुरुन्त उपचार गर्नुहोस्,
रेशादार अथवा फाइबरयुक्त पदार्थको सेवन गर्नुहोस्,
हर्नियाको लागि योगासनले पनि फाइदा पुर्याउन सक्छ, तर कुन किसिमको योगासन गर्ने भन्ने कुरा विशेषज्ञको सल्लाह लिनु अत्यन्त जरुरी छ ।