कलेजोमा भएको क्यान्सरले जीवनसँग सङ्घर्ष गरिरहेका तीन वर्षीय छोरालाई आमाले कलेजोको टुक्रा दिएर नयाँ जीवन दिएकी छिन्।
आमाका लागि उसका सन्तान कलेजोको टुक्रा सरह हुन्छन भन्ने भनाइलाई वीरगञ्ज पर्साकी ३० वर्षीया सीता भट्टले प्रमाणित गरेकी छिन् । कलेजोको क्यान्सरले जीवनसँग सङ्घर्ष गरिरहेका तीन वर्षीय छोरा रिसव भट्टलाई आमा सीताले कलेजोको टुक्रा दिएर नयाँ जीवन दिएकी छिन्।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा उपचाररत रिसवलाई आमा सीताको ४० प्रतिशत कलेजोको सफल प्रत्यारोपण गरिएको अस्पतालका कार्यकारी निर्देशक एवं वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा पुकारचन्द्र श्रेष्ठले बताए । उनको नेतृत्वमा चिकित्सक सहितको ५० जनाको टोलीले निरन्तर १४ घण्टाको शल्यक्रियापछि कलेजोको सफल प्रत्यारोपण गरेको हो ।
कलेजो झिकेको छ दिनमा आमा र नौ दिन पछि छोरालाई ‘डिस्चार्ज’ गरिएको केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले जानकारी दिए । हाल बालक र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उनले बताए । डा श्रेष्ठका अनुसार यति सानो बालकको शरीरमा कलेजो प्रत्यारोपण भएको केन्द्रमा पहिलो पटक हो । चिकित्सा विज्ञानमा कलेजको प्रत्यारोपण सबैभन्दा जटिल प्रत्यारोपणका रुपमा मानिन्छ”, उनले भने ।
रिसवलाई सुरुमा बान्ता हुने, वाकवाकी लाग्ने, खाना अपच हुने जस्ता समस्या देखिएपछि भरतपुर क्यान्सर अस्पतालमा लगिएको थियो । त्यहाँ जाँच गर्दा उनको कलेजोमा क्यान्सर पहिचान भएपछि कीमोथेरापी दिइएको थियो ।
आमा सीताका अनुसार क्यान्सर रोगको पहिचान भएपछि बालकलाई उपचारका लागि भारतका दिल्लीमा लगिएको थियो । तर भारतमा उपचार गर्दा धेरै खर्च भएपछि आफन्त र एक चिकित्सकमार्फत भक्तपुरको प्रत्यारोपण केन्द्रमा ल्याएर बालकमा कलेजो प्रत्यारोपण गरिएको हो ।
सीताले भनिन्, “क्यान्सर रोग पहिचान भएपछि उपचार गरी पूर्ण निको हुन्छ भन्ने लागेको थिएन, तर यो अस्पतालमा आएपछि मैले कलेजो काटेर दिएँ र छोराले नयाँ जीवन पाउन सक्यो ।”