१. कुष्ठरोग भनेको के हो ?
कुष्ठरोग (Mycobacterium Leprae) नामको सूक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको कम सर्ने रोग हो । यो रोगका किटाणुहरु
विस्तारै फैलिन्छन्। यो रोगको सरायु अवधि (Incubation Period) २ देखि ५ वर्ष रहेको छ । यस रोगका किटाणुले खास गरेर छाला र स्नायुमा असर गर्दछ ।
२. कुष्ठरोग कसरी सर्छ ?
उपचार नगरेको कुष्ठरोग विरामीसंग लामो समय (हप्तामा २० घण्टा भन्दा बढि समय) सम्म सम्पर्कमा आउने व्यक्तिलाईमुख्यतः
श्वास प्रश्वासको माध्यामबाट यो रोग सर्न सक्दछ ।
३. कुष्ठरोगका चिन्ह र लक्षणहरु के-के हुन् ?
- शरीरको कुनै भागमा छुंदा थाहा नपाउने, रातो, फुस्रो दागहरु देखा पर्नु।
- हात खुट्टा झम-झम गर्नु।
- बाहिरी सतहका स्नायु सुन्निनु।
- हात खुट्टामा नदुख्ने घाउहरु देखा पर्नु।
४. कुष्ठरोग कति प्रकारका हुन्छन् ?
उपचारको दृष्टिकोणले कुष्ठरोगलाई दुई प्रकारमा विभाजन गरिएको छ ।
- Pauci Bacillary (PB) कम किटाणु भएको
- Multi Bacillary (MB) धेरै किटाणु भएको
५. कुष्ठरोग लागे पछि उपचार कसरी गरिन्छ ?
बहु-औषधी उपचार विधि (Multi-Drug Therapy) बाट गरिन्छ । बहु-औषधी उपचार विधि भनेको एक भन्दा बढी प्रकारका
औषधीबाट कुष्ठरोगको उपचार गर्नु हो। यसमा कुष्ठरोगको कम किटाणु भएको (PB) विरामीले ६ पत्ता अर्थात ६ महिनासम्म खानु पर्छ र कुष्ठरोगको धेरै किटाणु भएको (MB) विरामीले १२ पत्ता अर्थात १२ महिनासम्म औषधी खानु पर्छ । विशेषज्ञ डाक्टरको सल्लाह अनुसार थप गरी २ वर्षसम्म पनि औषधी खानु पर्ने हुन सक्छ ।
६. कुष्ठरोग कसरी पत्ता लगाइन्छ ?
कुष्ठरोगको चिन्ह र लक्षणको आधारमा र विरामीको छालाको (Slit-Skin Smear) जाँच गरेर कुष्ठरोग पत्ता लगाइन्छ ।
७. कुष्ठरोग जस्तै लक्षण देखिने अरु रोग के-के हुन् ?
दाद, दिनाइ, दुबी, जन्मजात दाग, छालाको क्षयरोग आदिले पनि कुष्ठरोगको जस्तो लक्षण देखाउन सक्छन्।
८. कुष्ठरोगले कसरी अपांगता/असमर्थता गराउँछ ?
यस रोगका किटाणुले बाहिरी सतहका स्नायुहरु (Peripheral Nerve) मा असर गर्दछ जसले गर्दा स्नायुहरुको कार्यक्षमतामा
ह्रास आउँछ । हात/गोडामा छुँदा थाहा नपाउने वा केही वस्तुले घाउ, चोटपटक लाग्दा समेत थाहा पाउँदैनन् र संक्रमण हुन थाल्छ । यदि समयमा उपचार नगरेमा मांशपेशीहरुमा समेत पक्षघात हुन्छ । विस्तारै हात/गोडाका औँलाहरु बांगिने/टेढों
हुने र कडापन आउँछ । यस किटाणुले अनुहारको स्नायु (Facial Nerve ) मा पारेको छ भने आँखाको ढकनी बन्द गर्न नमिल्ने भई संक्रमणका कारण विस्तारै आँखा नदेख्ने समेत हुन सक्छ ।
९. कुष्ठरोग लाग्यो भने हात खुट्टाका औलाहरु झर्छन् ?
कुष्ठरोग लाग्दैमा हात खुट्टाका औलाहरु झर्दैन्न । कुष्ठरोगको किटाणुले स्नायुमा असर गरेर दुखाई र चोटपटकको अनुभुती
हराउँछ । यसरी तातो समाउदा वा चोटपटक लाग्दा नदुख्ने घाँउ बन्दछन् र त्यस घाँउमा संक्रमण भई हड्डीमा असर पुग्छ र हात
खुट्टाका औलाहरु छोटा हुन्छन्वा झर्न थाल्छन्।
१०.कुष्ठरोग लागेको विरामीलाई छुट्टै ठाँउमा राखेर उपचार गर्नुपर्छ ?
कुष्ठरोग लागेको विरामीलाई कुनै विशेष क्लिनिक वा अस्पतालमा उपचार गर्नु पर्छ भन्ने हुंदैन । आफ्नै घरमा बसेर कुष्ठरोगको
बहु-औषधी उपचार विधिबाट उपचार गर्न सकिन्छ ।
११. कुष्ठरोग लागेपछि औषधी जीवनभर खानुपर्छ ?
पर्दैन । कुष्ठरोगको कम किटाणु भएको (PB) विरामीले ६ महिना र कुष्ठरोगको धेरै किटाणु भएको (MB) विरामीले १२ महिना
औषधी खाए पछि कुष्ठरोग निको हुन्छ ।
१२. के कुष्ठरोग निको हुन्छ ?
बहुऔषधी उपचार पद्धतिबाट यो रोग निको हुन्छ । यस पद्धतिमा तीनवटा औषधी संयुक्त रुपमा खुवाइन्छ । यस औषधीको सेवनले किटाणुलाई नष्ट गरी रोग निको पार्छ । सुरुको अवस्थामा नै उपचार गरेमा अपांगता/असमर्थता हुदैंन ।
१३. कुष्ठरोग वंशानुगत वा कुष्ठरोग भएका बुबा-आमाको सन्तानलाई पनि हुन्छ ?
कुष्ठरोग वंषाणुगत रोग होइन । यो रोग उपचार नगरेको विरामीसंग धेरै समय संगै बस्दा मुख्यतः स्वास प्रस्वासबाट सर्न
सक्छ ।
१४.कुष्ठरोग लागेको विरामीसँग एउटै घर/कोठामा बस्न सकिन्छ ?
कुष्ठरोग एक प्रकारको कम सर्ने रोग हो। बहु-औषधी उपचार विधि शुरु गर्ने वित्तिकै ९९ प्रतिशत भन्दा बढि किटाणुहरु
निष्क्रिय हुन्छन्। त्यस कारण कुष्ठरोग लागेर उपचार शुरु गरेको विरामीसँग एउटै घर/कोठामा बस्न सकिन्छ ।
१५.कुष्ठरोग लागेका विरामीले सामाजिक क्रियाकलापमा भाग लिन सक्छन् ?
अरु व्यक्ति सरह कुष्ठरोग लागेका विरामी पनि समाजको हरेक क्रियाकलापमा सहभागी हुन सक्छन्।
१६. कुष्ठरोग लागेको विरामीसंग घरायसी सामानहरु जस्तै चम्चा, थाल, शौचालय, खाट, भान्छा, आदि उपयोग गर्न सकिन्छ ?
कुष्ठरोग घरायसी सामानहरुबाट नसर्ने भएकाले घरायसी उपभोग्य वस्तुहरु समान रुपमा उपभोग गर्न सकिन्छ ।
१७. कुष्ठरोग प्रभावित व्यक्तिले विवाह गर्न मिल्छ कि मिल्दैन ?
कुष्ठरोग प्रभावित व्यक्तिले अरु व्यक्ति सरह जीवन यापन गर्न,विवाह गर्न र बच्चा जन्माउन सक्छन्।
१८.कुष्ठरोग प्रभावित व्यक्तिले रोजगार पाउँछन् ?
कुष्ठरोग प्रभावित व्यक्ति अन्य सामान्य नागरिक सरह रोजगारबाट बन्चित हुनु हुंदैन ।
१९. परिवारमा केही एक जनामा कुष्ठरोग देखियो भने अरु सदस्यलाई जांच गराउनु पर्छ ?
कुष्ठरोग सर्न सक्ने तर कम सर्ने रोग हो । कुष्ठरोग लागेको विरामीको परिवारको अन्य सदस्यलाई सर्ने सम्भावना भएकोले
उक्त व्यक्तिको परिवार तथा संगै बस्ने अरु सदस्यलाई पनि कुष्ठरोगको जाँच गराउनु पर्दछ ।
२०.कुष्ठरोगको औषधी शुरु गरे पछि शरीर किन रातो/खैरो हुन्छ ?
कुष्ठरोगको विरामीले सेवन गर्ने औषधीमा क्लोफाजिमिन (CLOFAZIMINE) नामक औषधीले गर्दा शरीरको छाला रातो
हुन्छ । औषधी पुरा गरेको ६-१२ महिना पछि त्यो रातोपन हराई पहिलेको जस्तै हुन्छ ।
२१. कुष्ठरोगबाट हुने अपाङ्गताबाट कसरी बच्न सकिन्छ ?
कुष्ठरोग शुरुमै पत्ता लगाई तुरुन्त बहु-औषधी उपचार विधीबाट उपचार गरेर कुष्ठरोगबाट हुने अपाङ्गताबाट बच्न सकिन्छ ।
२२. बहु-औषधी उपचार विधिमा हुने औषधीले के-के असर पुर्याउँदछ ?
बहु-औषधी उपचार विधिका प्राय जसो औषधी असर नगर्ने खालका छन्। कुनै-कुनै औषधीले सामान्य असर गर्न सक्छन्।
गम्भिर असर पुर्याउने सम्भावना न्यून छ ।
सामान्य असरहरुः
- रिफाम्पीसीन (Rifampicin) : रातो पिसाव
- ड्याप्सोन -Dapsone): शरीरमा रगतको कमी
- क्लोफाजिमिन (Clofazimine) : शरीरको छाला खैरो गराउन सक्छ ।
२३. बहु-औषधी उपचार विधिका औषधीले एलर्जी (Allergy) वा गम्भिर असर गर्यो भने के गर्ने ?
यदि बहु-औषधी उपचार विधिका औषधीले एलर्जी गर्यो भने औषधी खान बन्द गरी विशेषज्ञ चिकित्सकसंग परामर्श गरी अरु
औषधी उपचार गर्न सकिन्छ ।
ड्याप्सोन (Dapsone) एलर्जी : औषधी खाएको दुई महिना भित्र छालामा दादुरा जस्तो विविरा देखा परेमा, ज्वरो आएमा वा
जन्डिस भएमा तुरन्तै औषधी सेवन बन्द गरी नजिकैको स्वास्थ्य केन्द्रमा जचाउँनुपर्छ ।
२४.बहु-औषधी उपचार विधि गर्भवती/स्तनपान गराउने महिलालाई दिन सकिन्छ ?
सकिन्छ । बहु-औषधी उपचारले गर्भवती/स्तनपान गराउने महिलालाई केही हानी पुर्याउँदैन । साथै आमाले कुष्ठरोगको
औषधी सेवन गरी रहेको भएता पनि गर्भमा रहेको भ्रुण तथा स्तनपान गरि रहेको बच्चालाई पनि केही असर गर्दैन ।
२५.मैले कुष्ठरोग लागेको व्यक्तिलाई छोएँ । अब मैले कुष्ठरोगको औषधी शुरु गर्नु पर्छ ?
छुंदैमा कुष्ठरोग सर्ने सम्भावना अत्यन्त न्यून रहेकोले कुष्ठरोग लागेको व्यक्तिलाई छुंदैमा कुष्ठरोगको औषधी शुरु गर्नु पर्दैन ।
२६. कुष्ठरोगमा प्रतिक्रिया (Reaction) भनेको के हो ?
कुष्ठरोग लागेको व्यक्तिलाई एक्कासी छालामा रातोपना, सुन्निने, दुख्ने, चिलाउने दाग, नयाँ दाग देखा परेमा, स्नायु सुन्निएमा,
दुखेमा औषधीबाट प्रतिक्रिया (Reaction) भएको शंका गर्नु पर्छ । प्रतिक्रिया (Reaction) बहु-औषधी विधि शुरु गर्नु भन्दा पहिले, औषधी सेवन गरेको बखत या औषधी उपचार सकिए पछि, जहिले पनि देखा पर्न सक्छ ।
२७.कुष्ठरोगको औषधी कहाँ पाइन्छ ?
सरकारी अस्पताल, प्रेषण केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा कुष्ठरोगको औषधी निःशुल्क पाइन्छ ।
२८.कुष्ठरोगका विरामी तथा प्रभावितहरुले अपनाउनु पर्ने सावधानीहरु के-के छन् ?
- छुँदा थाहा नहुने हातलाई चोटपटक तथा तातोबाट बचाउने।
- गोडामा छुँदा थाहा नहुने विरामीले नरम तथा सुरक्षित जुत्ता लगाउने।
- हातखुट्टा सुख्खा भएमा पानीमा भिजाएर कडा छाला खुर्कने र चिल्लो लगाई छालालाई नरम बनाउने।
- औषधीको सेवन गर्दा साधारण या गम्भिर असर देखा परेमा स्वास्थ्यकर्मीसँग सल्लाह गर्ने ।