काठमाडौं। शुक्लाफाँटा नगरपालिका–४ असैनामा १० शय्याको नगर अस्पताल भवन निर्माण थालिएको छ ।
स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको रु पाँच करोड ४७ लाख २९ हजार आठ सय ४७ मा ठेक्का प्रक्रियामार्फत निर्माण भइरहेको छ । अस्पताल निर्माणका लागि एमके विल्डर्स र निरज कन्स्ट्रक्सनसँग अस्पताल भवन निर्माणका लागि सम्झौता गरिएको छ । सम्झौताअनुसार अस्ताल भवनको तीन ब्लकमा निर्माणकार्य भइरहेको छ ।
इन्जिनियर दीपक धामीका अनुसार तीन वर्षअघिदेखि निर्माण अगाडि बढाइएको अस्पतालको हालसम्म ५५ प्रतिशत निर्माण पूरा भएको छ । निर्माण व्यवसायीलाई कार्यप्रगतिका आधारमा हालसम्म रु दुई करोड ५० लाख रकम भुक्तानी गरेका छौँ । असार मसान्तसम्म निर्माण पूरा गर्नेगरी म्याद थप गरिएको बताए ।
भवनमा मुख्य द्वार, गार्डपोष्ट, शवगृह, दश शय्याको प्राथमिक अस्पताल वार्ड, बिरामी जाँच्ने कोठा, कार्यालय कक्ष, सभाकक्ष, शौचालय, स्नानघर, बिरामी उपचार कक्ष, शल्यक्रिया कक्षलगायत निर्माण हुने उनले जानकारी दिए ।
यसैगरी भवनसँगै ‘वाउड्री वाल, एम्बुलेन्स पार्किङ’स्थल, स्वास्थ्यकर्मी आवास, भूमिकगत पानीटयाङ्की, फोहर पानी प्रशोधन गर्ने ठाउँ, पार्क, पहुँचमार्गलगायत निर्माण गरिनेछन् । भवन पूर्णरूपमा भूकम्पप्रतिरोधी हुने इन्जिनियर धामीले बताए ।
अस्पताल निर्माण पूरा भएपछि यस क्षेत्रका बासिन्दाले उपचारका लागि टाढाको महेन्द्रनगर, धनगढी तथा भारतीय सहर पुग्नुपर्ने अवस्थाको अन्त्य हुने वडाध्यक्ष कमल ठकुल्लाले बताए । अस्पतालमा सामान्य प्राथमिक उपचारदेखि शल्यक्रिया सेवासमेत उपलव्ध हुने भएकाले नगर क्षेत्रका बासिन्दाले सहजरूपमा सेवा पाउने उनले उल्लेख गरे ।