गुल्मी । गुल्मीको तम्घासमा सञ्चालित सफल र सम्पन्न आयुर्वेद पसलमाथी छानविन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ । छानविन समितिले तयार गरेको प्रतिवेदन प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालाई बुझाएको छ ।
समितिले बुझाएको प्रतिवेदन भने सार्वजनिक गरिएको छैन् । जिल्ला सदरमुकाम तम्घासको पुरानो बजारमा रमेश अधिकारीले सञ्चालन गर्दै आएको सम्पन्न आयुर्वेद पसल र सफल होमियोप्याथिक औषधी पसलमा अधिकार क्षेत्र भन्दा बाहिर रहेर काम गरेको पाइएको भन्दै प्रशासनले गत माघ १५ गते सिल गरेको थियो ।
आयुर्वेद पसल सिल गरेर प्रशासनले सत्य तथ्य छानविन गर्नका लागि माघ १६ गते जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीको नेतृत्वमा पाँच सदस्य रहेको समिति गठन गरेको थियो ।
छानविन समितिले तयार गरेको प्रतिवेदनमाथी अध्ययन र थप अनुसन्धान गर्नुपर्ने भएकाले अझै केहि दिनमा सार्वजनिक गरिने प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।
छानविन समितिमाको सदस्यहरुमा स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत गोपाल बहादुर कार्की, रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मञ्जु घर्ती, आयुर्वेद स्वास्थ्य केन्द्र गुल्मीका डक्टर सुरज पाण्डे र प्रहरी निरीक्षक सूर्यमान चौधरी सदसय रहेको समिति गठन गरिएको थियो ।
समितिले तयार गरेको प्रतिवेदनमा क्षेत्र अधिकार भन्दा बाहिर रहेर आयुर्वेद सञ्चालन गरेको पाइएको बुझिएको छ । तर के कारवाही हुने र कसरी हुने भन्ने बारेमा प्रशासनले थप अनुसन्धान पनि मात्रै खुल्ने छ ।
औषधी खुद्रा बिक्रीको लागि दर्ता भएको उक्त पसलले गैरकानुनी ढंगले क्षेत्र अधिकार बाहिर रहेर उपचार र ल्याब सेवा सञ्चालन गरेको पाइएको थियो । उक्त पसलले आयुर्वेद र एलोपेथिक औषधीहरु राख्ने गरेको, एक्स–रे तथा भिडियो–रे सेवा, फिजियो थेरापी र नेबुलाइजर सेवा पनि प्रवाह गरेको अनुगमनकर्ताले फेला पारेका थिए ।
अनुगमनको क्रममा औषधी पसल सञ्चालकले बिरामी भर्ना गरेर उपचार गर्दै गरेको र एक्स–रे पनि गर्दै गरेको अवस्थामा फेला परेका थिए । अधिकारीले रेसुङ्गा नगरपालिका वडानम्बर ८ मा पसल र वडानम्बर ९ मा ल्याब र औषधीको ठूलो जोदाम राखेर सेवा प्रवाह गर्दै आएको फेला परेको प्रशासनले जनाएको छ ।
आयुर्वेदले गम्भीर प्रकृतिका बिरामी हेर्ने, औषधि वितरण गर्ने र प्रयोगशाला संचालन गरेको गुनासो आएपछि प्रशासनले अनुगमन गरेको थियो । आयुर्वेद पसलले आठ कोठामा औषधि, प्रयोगशाला र बिरामी कुरुवा कक्ष सञ्चालन गरेको छ ।
जिल्ला सदरमुकामै क्षेत्र अधिकार बाहिर रहेर आयुर्वेद पसल सञ्चालन गरेर स्वास्थ्य जस्तो सम्बेदनशिल बिषयमा खेलबाड हुँदै आएको प्रति नागरिकको गुनासो रहेको छ । उक्त पसलले गम्भीर प्रकृतिका बिरामी भर्ना गर्ने र चेक जाँच गर्ने गरेको आरोप स्थानीयको छ ।
पसलमा आयुर्वेद स्वास्थ्य केन्द्र गुल्मीले अनुगमन गर्दा क्षेत्राधिकार भन्दा बाहिर रहेर काम गरेको फेला पारेर पटक–पटक सुझाब दिँदा समेत अटेर गर्दै आएको स्वास्थ्य केन्द्रले जनाएको छ ।