गर्भावस्थामा हुने मधुमेह भनेको गर्भवती भएको समयमा हुने मधुमेह हो । यो मधुमेह गर्भ रहनु अगाडि वा प्रसुती पश्चात रहदैँन ।
गर्भवती हुदाँ शरीरका विभिन्न हर्मोन (कोर्टिसोल, एसट्रोजेन, प्रोजेस्टेरोन, प्रोलाक्टिन, प्लासेन्टल ग्रोथ हर्मोन) को परिमाण शरीरमा बढ्न जान्छ ।साथै आमाको शरीरमा अन्य तत्व (अडिपोसाइट्स, इमुन सेल्स, हिपाटोसाइट्स) मा परिर्वतन,आमामा शारीरिक कसरतको कमी, मोटोपना, पोषणको कमी वा पश्चिमी खाद्यशैली तथा पोलिसिस्टिक ओभरीयन सिन्ड्रोमका साथै बंशानुगत कारण (TCF7L2, GCK, KCNQ) इत्यादि जिनको परिर्वतनले गर्भवतीको शरीरमा इन्सुलिन रेजिस्ट्यान्स गर्छ । जसका कारण गर्भवती महिलामा मधुमेह हुने गर्दछ ।
कस्ता महिलालाई गर्भावस्थामा मधुमेहको जोखिम हुन्छ ?
- गर्भवती महिलाकोे उमेर २५ बर्ष भन्दा माथी भएमा,
- गर्भवती महिलामा मोटोपना भएमा,
- अगाडिको गर्भावस्थामा मधुमेह, बिना कारण शिशुको गर्भमा मुत्यु वा धेरै तौलको बच्चा जन्मिएमा,
- बंशानुगत गर्भावस्थाको मधुमेहको समस्या भएमा,
- बंशानुगत मधुमेह भएमा,
गर्भावस्थामा हुने मधुमेहका जटिलताहरु
गर्भावस्थामा हुने मधुमेहले आमा र भुण्र दुबैमा जटिलता उत्पन्न गराउँन सक्छ । गर्भावस्थामा हुने मधुमेहले गर्भवतीको तौल बढ्ने, प्रि इक्लाम्पसिया, पोलिहाइड्रामिनस, पटक पटक गर्भावस्थामा हुने मधुमेह किटोएसिडोसिस, समय भन्दा अगाडि बच्चा जन्मिने व्यथा लाग्न सक्छ । साथै प्रसुतीको केहि समय पश्चात मधुमेह तथा हृदय रोग निम्त्याउँन सक्छ ।
गर्भावस्थामा हुने मधुमेहले शिशुको शरीरमा ग्लुकोजको मात्रा कम गराउँछ । क्याल्सियमको कमी, तौल धेरै हुने, बिलिरुबिन बढ्ने, जन्मजात बिसंगती हुने साथै निकट भविष्यमा मधुमेह र हृदय रोग लाग्न सक्ने सम्भावना उच्च हुन्छ ।
कसरी नियन्त्रण गर्ने ?
- खाद्य विधि
- काब्रोहाइडेटजन्य खाना कम खाने
- ३ पटक खाने समय भाग गरेर ६ पटक खाने
- धेरै क्यालोरी भएका खाना नखाने चिकित्सकको सल्लाह अनुसारको खानपान सेवन गर्ने
- क्याल्सियमजन्य खाना र औषधि खाने
व्यायाम
- खाना खाएपछि ३० मिनेट आराम गरेपछि १० मिनेट हिड्ने,
- चिकित्सकको परामर्श अनुसार मात्र व्यायम गर्ने,
- गर्भमा शिशुको बजन कम भएका, अवोरशनको सम्भावना भएका, उच्च रक्तचाप भएका, समय भन्दा अगाडि बच्चा जन्मने सम्भावना भएका आमाहरुले व्यायम गर्नु हुदैँन ।
औषधि
गर्भावस्थाको मधुमेहमा मुखले खाने औषधिको प्रयोग गर्नुहुदैन । औषधिकै आवश्यक परेमा चिकित्सकको सल्लाहअनुसार इन्सुलिनको प्रयोग गर्नुपर्छ । सो इन्सुलिन बच्चाको जन्म भएसँगै लिन छोड्नुपर्छ ।
गर्भावस्थाको मधुमेह भएमा घरमा नै ग्लुकोमिटरको साहायताले आफ्नो शरीरको ग्लुकोज नाप्न सकिन्छ । ग्लुकोजको मात्रा खाली पेटमा र खाएको २ घण्टापछि नाप्न सकिन्छ । महिलाहरुले समय समयमा भिडियो एक्सरे गराउनुपर्छ ।
गर्भावस्थाको मधुमेह भएका महिलाहरुमा स्वभाविक रुपमा प्रसुती हुन सक्छ । तर उच्च रक्तचाप, उच्च ग्लुकोज लेभल भएका गर्भवती, भुण्रको तौल बढि भएमा सिजरियन सेक्सन मार्फत शिशु निकाल्नुपर्ने हुन सक्छ ।
गर्भावस्थामा मधुमेह भएका महिलाहरुमा पछि गएर मधुमेह हुने सम्भावना बढि भएकाले समय समयमा चिकित्सककोमा गएर परिक्षण गराउनुपर्छ । यसका केहि जटिलता भएपनि चिकित्सकको सल्लाह अनुसार खाद्य विधि, व्यायम, र समयमा औषधि प्रयोग गर्नाका कारण गर्भवती महिलाहरुले सहज रुपमा जिवनयापन गर्न र स्वस्थ शिशुलाई जन्मदिन सक्छन् ।
महिलाहरुले गर्भधारण गर्नु अघि र गरेपछि रगतमा ग्लुकोजको परिमाण कती छ परिक्षण गराउनु नै पर्छ । जसका कारण गर्भावस्थामा हुने जटिलताबाट समयमा नै बच्न तथा बचाउँन सकिन्छ ।