काठमाडौँ । पोखरामा हुन लागेको ‘नेपाल लिट्रेचर फेस्टिवल २०२४’ मा सूर्तिजन्य पदार्थको प्रचारप्रसार, विज्ञापन तथा प्रायोजन गर्न नपाइने कानून देशमा हुँदाहुँदै सूर्य नेपालले स्पोन्सर मात्र नभई जताततै आफनो लोगो प्रयोग गरेर चुरोट कम्पनीको ब्राण्डिङ गरेको पाइएको छ ।
सूर्तीजन्य पदार्थ उत्पादक कम्पनीले यस खालको कार्यक्रम प्रायोजन गर्नु कानुन विपरीत रहेको विज्ञप्ति निकालेर जानकारी दिइएको छ। सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ को दफा १० मा विज्ञापन तथा प्रायोजन गर्न नपाइने भनेर स्पष्ट उल्लेख छ । जहाँ भनिएको छ, ‘उत्पादक लगायत कसैले पनि पत्रपत्रिका तथा रेडियो, टेलिभिजन, एफएम, इन्टरनेट, ईमेल जस्ता विद्युतीय सञ्चार माध्यम, अन्तरक्रिया कार्यक्रम, होर्डिङ्ग बोर्ड, भित्तेलेखन, लोगो, सङ्केत, लेख, दृश्य, आवाज, चिन्ह, व्यक्ति वा अन्य कुनै पनि माध्यमबाट सूर्तिजन्य पदार्थको विज्ञापन वा प्रवर्धन गर्न वा कुनै कार्यक्रम, समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाउने छैन ।’ यहाँ अन्तरक्रिया कार्यक्रम भनेर स्पष्ट उल्लेख भएका, लोगो र चिह्न वा संकेत समेत प्रयोग गर्न रोक लगाइएको स्पष्ट रुपमा उल्लेख छ ।
सूर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी ऐनको कार्यान्वयन नगर्न भन्दै सुर्ती उद्योगीहरु सर्बोच्च अदालतमा मुद्धा लिएर जाँदा तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठले ऐन कार्यान्वयन गर्नुपर्ने पक्षमा ऐतिहासिक फैसला गरेका थिए । उनले सूर्तीजन्य उद्योगको स्वास्थ्य भन्दा नेपाली जनताकोे स्वास्थ्य ठूलो हो भने ऐनको पक्षमा फैसला गरेका थियो। तर, यसपटक उनै श्रेष्ठ सुर्ती उद्योगको प्रायोजनमा पोखरामा हुने भनिएको साहित्य सम्मेलनमा संविधान र सुशासनको विषयमा विद्धत्प्रवचन दिने तयारी गर्दैछन् ।
जनस्वास्थ्यका लागि हानिकारक वस्तु उत्पादकलाई संस्थागत सामाजिक उत्तरदायित्वका नाममा काम गर्न समेत रोक लगाइएको छ। कसैले पनि उत्पादक लगायतले प्रदान गर्ने आर्थिक, भौतिक र संरचनागत सहयोग ग्रहण गर्न पाउनेछैन र उत्पादक लगायतले पनि यस्तो सहयोग गर्न पाउने छैन् ।
सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को परिच्छेद ३ दफा २२ को उपदफा ६ अनुसार सार्वजनिक निकायका पदाधिकारीहरुलाई सूर्ति उद्योगबाट प्रदान गरिने कुनै पनि प्रकारका सहयोग र पुरस्कार प्राप्त गर्न, सूर्ति उद्योगबाट प्रायोजित कार्यक्रममा सहभागिता, सूर्ति उद्योगको सहयोगमा वा सूर्ति उद्योगको आमन्त्रणमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय बैठक, भ्रमण, तालीम, गोष्ठी, सम्मेलन जस्ता कार्यक्रमहरुमा सहभागीता स्वीकार गर्नु हुदैन।’
धूम्रपान तथा सूर्तिसेवन मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक छन्। यसको सेवनले नेपालमाहरेक वर्ष ३७ हजार पाँच सय व्यक्तिको अल्पआयुमै मृत्यु हुन्छ । जुन नेपालमा हुने कुल मृत्युकोझण्डै १९.४५ % हो। सन् २०१९ मा स्वास्थ्य मन्त्रालयले गरेकोसर्वेक्षण अनुसार हाल नेपालमा कुल जनसंख्याको झण्डै २९% मानिस धूम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन गर्दछन् ।
त्यस्तै एक्सन नेपालले हालसालै गरेको सूर्तिजन्य पदार्थको सेवनबाट हुने क्यान्सर रोगको निदान तथा उपचार सेवामा आउने बिरामीको आर्थिक भार सम्बन्धी अध्ययनले १६% बिरामीले उपचारका लागि आफ्नो घरखेत बेच्ने गरेको देखाएको छ । यी रोगहरुबाट बचाउन सूर्तिजन्य पदार्थको सेवन न्युनिकरण, नियन्त्रण तथा नियमन गरी सर्वसाधारण जनताको स्वास्थ्य र आर्थिक हितको अभिवृद्धि गर्न सरकारले सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८, नियमावली २०६८ तथा निर्देशिका २०७१ समेत ल्याई कार्यान्वयनमा समेत आइसकेको छ ।
यी तमाम कानुनी प्रावधान बिपरित कार्यक्रम नगर्न सरकार, आयोजक संस्था, सार्वजनिक निकायका व्यक्तित्व, कानुन निर्माता र सरोकारवालालाई कानुनमा ध्यान दिँदै कानुन विपरीतका प्रायोजन नस्वीकार्न र कार्यक्रममा सहभागी नहुन अपिल अपिल गरिएको छ।