- डा तरुण प्रधान
काठमाडौं - पाठेघरको मुख अगाडि पिसाब थैली र नली हुन्छ । त्यस्तै पाठेघरको पछाडि दिशा गर्ने आन्द्रा हुन्छ । यो अंगहरु एकअर्कासँग एकदमै नजिक हुन्छन् जसलाई बलियो प्रकारको मासुले मात्र छुट्याएको हुन्छ ।
कुनै कारणबश यसरी जोडिएको मासुहरु कमजोर भएमा पाठेघर, पिसाब थैलि र दिशा गर्ने अंगपनि पनि योनिबाट बाहिर निस्कन खोज्नुलाई नै आङ खस्नु भनिन्छ । वा यी तिनै वटा अंगहरु मध्ये कुनै एउटा अंग खस्नुलाई नै आङ खस्नु भन्ने गरिन्छ ।
उमेर ढल्किदै जाँदा मासु कमजोर हुदै जान्छ, पाठेघरलाई साहारा दिने अंगहरुमा केहि समस्या आएमा पाठेघर योनिबाट बाहिर निस्कन्छ । मोटापा भएका व्यक्तिको मासु कमजोर हुदैँ जादाँ आंग खस्ने समस्या हुने गर्छ ।
बाह्रय मुलुकहरुमा हेर्दा यो समस्या अलि उमेर ढल्केपछि वा बुढेशकाल लागिसकेका महिलाहरुमा देखिन्छ तर नेपालको सन्दर्भमा हेर्ने हो भने २० बर्ष देखिका महिलाहरुमा पनि आङ खस्ने समस्या भएको पाइन्छ ।
नेपालमा अझैपनि सानै उमेरमा विवाह गरि बच्चा जन्माउने प्रचलन कायमै छ । सानै उमेरमा विवाह गर्नाले वा कम उमेरमा गर्भवती हुनाले आंग खस्ने समस्या बढाइरहेको छ ।
त्यस्तै, गर्भवती हुन पनि आङ खस्ने समस्याको एक जोखिम हो । यो समयमा ९ सेन्टिमिटरको पाठेघर ठुलो भएर पुरा पेट नै ढाकेको हुन्छ । प्रसुती हुने समयमा लामो समयसम्म अड्किएर बस्यो वा कुनै पनि प्राविधिक साधनले शिशुलाई निकाल्दा त्यस वरिपरिको मासुलाई चोट पुग्न सक्छ जसका कारण भविष्यमा आङ खस्ने समस्या हुनसक्छ ।
सानै उमेरमा विवाह गर्दा, बच्चा जन्माउँदा पाठेघरमा केहि चोट पुग्दा वा कब्जियत भइरहने महिलाहरुमा पनि आंग खस्ने सम्भाबना बढि हुन्छ । त्यसैले कलिलै उमेर विवाह नगर्ने, बच्चा नजन्माउने र कब्जियत हुन नदिने किसिमका खानेकुरा हरियो सागसब्जि र गेडागुडि प्रशस्त मात्रामा खानु राम्रो मानिन्छ ।
आङ खस्ने अन्य केहि कारणहरुः
कम उमेरमा गर्भवती हुनु,
गह्रुगो सामान उचाल्नु वा भारी बोक्नु,
बल गरेर दिशा गर्नु,
सुत्केरी अवस्थामा भारी काम गर्नु,
जन्मान्तर कम हुनु,
धुम्रपान गर्नु,
मोटापा हुनु,
उमेर ढल्किदै जादाँ मासु कमजोर हुनु,
दैनिक खोकिरहनु,
सामान्यतया हामीले यसरी आंग खस्ने समस्या छ भनेर थाहा पाउँन सक्छौंः
केहि वस्तु योनीबाट बाहिर निस्केको जस्तो महसुश हुनु,
हिड्दा असहज महसुश हुनु,
खोक्दा पिसाब चुहिरहने समस्या भएमा,
दिशा नहुने औला योनि भित्र छिराएर सर्पोट गरेपछि मात्र दिशा गर्न सकिने,
आङ खस्ने बित्तिकै ज्यानै जान्छ भन्ने सोच्नु त्यो गतल हो तर यसले महिलाहरुको दैनिकीमा भने केहि समस्या ल्याउँछ । हरेक समय योनिबाट केहि निस्किरहेको जस्तो महशुस हुन सक्छ । हिड्दा दुई खुट्टाको बिचमा रगडिएर घाउ भई इन्फेक्सन हुन सक्छ । साथै खोक्दा नै पिसाब चुहिने जस्ता समस्या पनि हुन सक्छन् ।
यौन जीवनमा पर्ने असरः
पाठेघर, पिसाबको थैली र दिशा गर्ने अंग यि तिनै अंग योनिबाट बाहिर निस्नकेको छ भने शारीरिक सम्पर्क गर्दा समस्या हुनसक्छ । यसले वैवाहिक जिवनमा नकारात्मक असर पार्ने गर्दछ । जसले गर्दा सम्बन्ध बिच्छेदसम्मको घटना निम्त्याउन सक्छ ।
नेपाल सरकारले आङ खसेको महिलाको निशुल्क शल्यक्रिया गर्ने व्यवस्था गरिसक्दा समेत महिलाहरु यो समस्याका बारेमा खुलेर भन्न सकिरहेका छैनन् । समस्या भन्नु अघि उनिहरुको मनमा समाजमा कसले के सोच्ला वा भन्ला भन्ने सोच हाबि भएको हुन्छ । जसका कारण बषैंसम्म महिलाहरु यस्तो समस्या बोकेर हिड्न बाध्य हुन्छन् ।
आङ खस्न नदिन कस्तो सावधानी अपनाउने
आङ खस्न नदिन सरकारले आम जागरुकता सम्बन्धि कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ । हरेक परिवारका एक सदस्य सहभागी गराई विवाह कहिले गर्ने, बच्चा कहिले जन्माउने, बच्चाको जन्मान्तर कति राख्ने, प्रसुति भएको कति समयपछि पहिलाको क्रियाकलापमा सहभागी हुने जस्ता बिषयमा जानकारी दिनाले आंग खस्ने सम्भाबना कम हुनुका साथै महिलाको स्वास्थ्य सुधार गर्न सकिन्छ ।
आङ खसेको उपचार गर्न सुरुमा पाठेघर कति खसेको छ भन्ने जानकारी लिन र उपचार गर्न परिक्षण गर्नुपर्ने हुन्छ । यसलाई ४ ग्रेडमा विभाजन गरिन्छ । पोठघर योनी भित्र नै छ योनीको माथिल्लो भागसम्म आइपुगेको छ भने त्यसलाई ग्रेड १ भनिन्छ । पाठेघर खसेर योनीको बाहिरी भागसम्म मात्र आइपुगेको छ भने त्यसलाई ग्रेड २ भनिन्छ, पाठेघर योनीबाट बाहिरै आएको छ भने ग्रेड ३ र पाठेघर सबै योनीबाट बाहिर निस्केको छ भने ग्रेड ४ भनिन्छ । ग्रेड १ भएमा चुरा लगाएर पाठेघरलाई माथि नै राख्ने गरिन्छ । त्यो चुरालाई तिन तिन महिनामा फेरीरहनु पर्छ ।
ग्रेड ३ र ४ भएका शल्यक्रिया गर्नुपर्ने हुन्छ । शल्यक्रिया विभिन्न तरीकाबाट गर्न सकिन्छ । यदि प्रजजनन उमेरको पहिला छ उसलाई अझै बच्चाको चाह छ भने पाठेघर भित्र राखेर फिक्स गर्नुपर्ने हुन्छ । उमेर बढि उसलाई बच्चा पुगिसकेको छ भने पाठघर झिकेर ठिक गर्न मिल्छ ।
प्रजनन उमेरको महिलामा आङ खस्ने समस्या भएपनि गर्भवती हुने सम्भाबना भने हुन्छ ।
प्रजनन् उमेर काटिसकेको र योनिबाट बाहिर पाठेघर निस्केको छ भने पाठेघर फाल्न सकिन्छ । त्यस्तै पोठेघरमा नै घाउ छ भने पनि फाल्न सकिन्छ । यदि महिलालाई पाठेघर जागाउनु छ भने जोगाएर पनि शल्यक्रिया गर्न सकिन्छ । पिसाबको थैली मात्र झरेको छ योनी बाहिर आइपुगेको छैन भने त्यसलाई माथि धकेलेर फिक्स गर्न सकिन्छ ।
( डा. प्रधान स्त्री रोग बिशेषज्ञ हुन् । उनि बिराट मेडिकल कलेजमा कार्यरत छन् ।)