सामान्य स्वास्थ्य समस्या आउँदा प्रायले क्लिनिकमा पाइने एन्टिबायोटिक खरिद गरेर आफूखुसी खाने प्रचलन छ । ज्वरो, खोकी वा अन्य दुखाइका वेला प्रेस्क्रिप्सनविनै यसरी औषधि प्रयोग गरिन्छ । कुनै रोग लागेर अस्पताल पुगेका बिरामीलाई चिकित्सकले पनि प्रायः एन्टिबायोटिक प्रयोग गर्न सल्लाह दिन्छन् । एन्टिबायोटिकको प्रयोग विश्वमै बढ्दो छ । जसले स्वास्थ्यमा सकारात्मकभन्दा बढी नकारात्मक असर पु-याउने गर्छ । यी हुन् आफूखुसी एन्टिबायोटिक प्रयोग गर्दाका असर :
के गर्छ एन्टिबायोटिकले ?
शरीरमा विभिन्न कीटाणुले आक्रमण गर्छन् । त्यस्ता कीटाणुसँग लड्ने क्षमता एन्टिबायोटिकमा हुन्छ । यस्तो औषधिले इन्फेक्सनको कारणलाई नष्ट गर्ने काम गर्छ ।
एन्टिबायोटिकले शरीरमा हुने विभिन्न ब्याक्टेरियल इन्फेक्सनलाई पनि हटाउन मद्दत गर्छ । तर, एन्टिबायोटिकको गलत प्रयोग बढ्दै जाँदा किटाणुसँग लड्न सक्ने शरीरको क्षमता पनि बिस्तारै घट्दै जान्छ ।
एन्टिबायोटिक अत्यधिक प्रयोग गर्दा भने सानो रोगले पनि लामो समयसम्म सताउने गर्छ । शरीरको प्रतिरक्षा प्रणाली निकै कमजोर भएर जान्छ । जसले गर्दा छिटै रोगले आक्रमण गर्ने समस्या हुन्छ ।
कसरी गर्ने प्रयोग ?
विश्वमै एन्टिबायोटिकको गलत प्रयोग तीव्र रूपमा बढ्दो छ । त्यसैले यसको सही ढंगले प्रयोग गर्न अत्यावश्यक हुन्छ ।
चिकित्सकको सल्लाहमा मात्र एन्टिबायोटिक सेवन गर्नुपर्छ । र, औषधि पसलहरूले पनि चिकित्सकको प्रेस्क्रिप्सनपछि मात्र एन्टिबायोटिक बेच्न पाउने व्यवस्था हुनुपर्छ ।
पछिल्लो समयमा पशुपक्षी, बिउबीजन, तरकारी, खाद्यान्नलगायतमा पनि एन्टिबायोटिकको प्रयोग बढिरहेको छ । चिकित्सक, पशुविज्ञ, कृषिविज्ञलगायतले यस्तामा गरिने गलत प्रयोगलाई निरुत्साहित गर्नुपर्छ ।
चिकित्सकले पनि औषधि प्रदान गर्दा एन्टिबायोटिकको बढी र गलत प्रयोग कम गर्नुपर्ने हुन्छ । सकेसम्म एन्टिबायोटिकको सट्टामा अर्को औषधि प्रयोग गर्दा राम्रो हुन्छ ।