मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशका १४ महिला स्वास्थ्य स्वसेविकालाई नगदसहित सम्मान गरेका छन ।
प्रजातन्त्रको दिवसको अवसरमा प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा विराटनगरमा आयोजित उत्कृष्ट महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सम्मान कार्यक्रममा उनले महिला स्वास्थ्य स्वसेविकालाई खुट्टामा नयाँ जुत्ता लगाइदिएर उनीहरूलाई १५ हजार नगद र प्रमाणपत्र सहित सम्मान गरेका छन ।
यसरी सम्मानित हुने हरुमा पम्फा राई ताप्लेजुङ, दिलमाया मगर उदयपुर, निरकुमारी राणा ओखलढुङ्गा, तिलमाया खड्का सुनसरी, दयावति राजवंशी झापा, छिरिजम्बा भोटे सङ्खुवासभा, पुण्यकुमारी पौडेल खोटाङ र यशोदा ढकाल पाँचथर जिल्लाकि रहेकि छन।
यस्तै गोमा भट्टराई तेह्रथुम, सिता तामाङ भोजपुर, इश्वरा निरौला इलाम, सोनीकुमारी चौधरी मोरङ, ल्हेमी शेर्मा सोलुखुम्बु र खड्गकुमारी विश्वकर्मा धनकुटा जिल्लाका रहेकि छन।
मुख्यमन्त्री कार्कीले सम्मानित १४ महिला स्वयंसेविकाहरूलाई ब्याग, साडी सेट र टर्च लाइट समेत प्रदान गरेका छन।
सम्मान कार्यक्रममा मुख्यमन्त्री कार्कीले महिला स्वयंसेविकाले दिनरात नभनी दुर्गम तथा ग्रामीण क्षेत्रमा रहेका गर्भवतीको निस्वार्थ सेवा गर्ने भएकोले उनीहरूको कामको सम्मान गरिएको बताए ।
उहाँले महिला स्वयंसेविकाको कारण मातृ र बाल मृत्यु दरमा कमी आएको चर्चा गर्नुहुँदै महिला स्वयंसेविकालाई तिनै तहको सरकारले सम्मान गर्नुपर्ने बताए।
कोशी प्रदेशका स्वास्थ्यमन्त्री प्रदीपकुमार सुनुवारले स्वयंसेविकालाई गरिएको सम्मानले उच्च मनोबलका साथ काम गर्न प्रेरणा मिल्ने बताए ।
स्वास्थ्य मन्त्रालयकी सचिव डा सुधा देवकोटाले सरकारले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा जनताले अनुभूति हुने खालको कार्यक्रमहरू ल्याउने जानकारी दिए ।
कोशी प्रदेशमा आठ हजार सात सय ९१ जना महिला स्वयंसेविका रहेका छन् ।