कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमा जोड दिनुपर्ने बताए। कर्णाली प्रदेश अस्पतालको १८औँ स्थापना दिवस कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उनले यहाँका नागरिकको स्वास्थ्य अवस्थालाई सुरक्षित बनाउन अस्पताल प्रशासनको विशेष हात रहेको बताए ।
“धेरै अस्पतालले बिरामी बढ्दा सेवामा प्रभाव बढेको ठान्छन्,” उनले भने, “बिरामी होइन, हामीले रोग बढ्न नदिने गरी गुणस्तरीय सेवाको विकास र विस्तार गर्नुपर्दछ ।” प्रदेश सरकारले दशवटै जिल्लामा स्वास्थ्य सेवाको विकासमा विशेष जोड दिएको बताउँदै सङ्घीय सरकारको केन्द्रीकृत मानसिकताले केही अप्ठ्यारो परेको टिप्पणी गरे । अस्पतालको सेवा वृद्धि र जनशक्ति व्यवस्थापनमा सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काले आठ वर्षको कार्यकालमा आठ उपलब्धि हासिल गरेको बताए । भौतिक पूर्वाधारमा भएको विकास, जनशक्तिको पर्याप्तता, आधुनिक स्वास्थ्य उपकरण जडान, अस्पतालको सेवामा सुधार तथा विस्तार, जटिल खालका रोगको निदान तथा उपचारमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान र कोरोना महामारीसँगको साहसिक लडाइँ, अस्पतालको सर्वाङ्गीण विकासका लागि सरोकारवालासँगको प्रगाढ सम्बन्ध र सहकार्य तथा यी सबै प्रयासबाट आर्जित जनविश्वास प्रमुख उपलब्धि भएको उनले बताए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको उपकुलपति डा मङ्गल रावलले पश्चिम नेपालको हिमाली क्षेत्र अवस्थित प्रतिष्ठान र प्रदेश अस्पतालबीचको सहकार्यले कर्णालीका नागरिकको स्वास्थ्य अवस्था जुरुक्कै माथि उठ्ने बताए । उनले भने, “बिरामी चाप बढ्नुले कतै हामीले नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउन सकेनौँ कि भन्नेबारे गम्भीररुपले सोच्नै पर्दछ ।”
प्रतिष्ठानमा ९० भन्दा बढी विशेषज्ञ सहित तीन सय ५० जनशक्ति रहेको जनाउँदै उपकुलपति रावलले ग्रामीण स्वास्थ्यको अध्ययन केन्द्र जुम्ला बन्ने जिकिर गरे । प्राज्ञिक संस्था र अस्पताल दुवै एक अर्काका परिपूरक भएकाले प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेतको सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो ।