हाइपरटेन्सन अर्थात् उच्च रक्तचापको सीधा सम्बन्ध मधुमेह र मुटुरोगसँग हुन्छ । यो पूर्ण रूपमा पुष्टि भइसकेको छ । त्यसबाट अगाडि बढेर अनुसन्धानकर्ता यस्तो नतिजामा पुगिसकेका छन् कि उच्च रक्तचापले डिमेन्सिया अर्थात् स्मरणशक्तिलाई कमजोर बनाउँदै लैजान्छ । विश्वका विभिन्न ठाउँमा भएका अनुसन्धानले यो पनि पुष्टि गरेको छ कि कम उमेरमै हुने मस्तिष्कघातको सम्बन्ध पनि उच्च रक्तचापसँगै हुन्छ ।
त्यस्तै, उच्च रक्तचापकै कारण कम उमेरमा पनि डिमेन्सिया हुने सम्भावना बढ्दै जान्छ । त्यस्तै, ४० देखि ६५ वर्षको उमेरका अधिकांश मानिसमा उच्च रक्तचापको समस्या देखिन्छ । जसले डिमेन्सियाको स्थिति पनि निम्त्याउँछ । सुरुको अवस्थामा यसको कुनै लक्षण देखिँदैन । तर, एमआरआई स्क्यानमा भने ब्रेनको ह्वाइट म्याटर ड्यामेज हुँदै गरेको पाइन्छ । त्यस्तालाई डिमेन्सियाको खतरा अत्यधिक हुन्छ ।
कारणको पहिचान
डिमेन्सियाले स्मरणशक्ति कमजोर, निर्णय लिन कठिनाइ, कन्फ्युजन, ध्यान केन्द्रीकरणमा समस्या, व्यवहारमा परिवर्तन, उदासीनतालगायतको समस्या निम्त्याउँछ । जसका कारण सम्बन्धित व्यक्तिको नियमित दैनिकी नै प्रभावित हुन्छ ।
यो समस्याको एउटा कारण वंशानुगत पनि हो ।
शरीरमा बढेको खराब कोलेस्ट्रोलले गर्दा पनि डिमेन्सियाको समस्या उत्पन्न हुन्छ ।
धूम्रपान र मद्यपान सबैभन्दा ठूलो कारण हो । यसले रक्तचापलाई बढाउँछ र डिमेन्सिया हुने गर्छ ।
आधुनिक जीवनशैलीमा प्रायः मानिस शारीरिक क्रियाकलापका दृष्टिले निष्क्रियप्रायः छ । त्यस्तै, अस्वस्थकर खानपान, तनावपूर्ण प्रोफेसन, मदिरा तथा धूम्रपानको सेवन आम भएकाले हाइपरटेन्सन तथा डिमेन्सियाको समस्या पनि आम बन्दै गएको छ ।
बढी मानिसले नोटिस गर्न सक्दैनन्
सामान्यतया ब्लडप्रेसर १२०–८० एमएमएचजीको वरिपरि हुन्छ । यो बोर्डरलाइनमा छ भन्नुको अर्थ हो– उच्च रक्तचाप । उच्च रक्तचापले मस्तिष्कमा निकै दबाब सिर्जना गर्छ । जसका कारण कम उमेरमै डिमेन्सियाको खतरा बढ्न सक्छ ।
डिमेन्सिया मात्र नभएर यो अझ अघि बढेर अल्जाइमर डिजिजको खतरा पनि हुन्छ । अनुसन्धानले डिमेन्सिया हुने दोस्रो मुलुकमा भारतलाई देखाएको छ ।
डिमेन्सियाबाट बच्न सबैभन्दा राम्रो विधि भनेको यसलाई बढाउने कारकको नियन्त्रण हो ।
यदि कसैमा स्मरणसम्बन्धी समस्या छ भने या भनौँ सोच्ने क्षमतामा असर परेको भए सायकाट्रिक इभोलुसनको आवश्यकता हुन्छ ।
डिमेन्सियाका चरण
डिमेन्सियाका पाँच चरण हुन्छन् ।
पहिलो चरणमा यसले कुनै समस्या सिर्जना गर्दैन या भनौँ कुनै लक्षण देखिँदैन । त्यसपछि अगाडि बढ्दै जाँदा कठिनाइ र गम्भीरता पनि बढ्दै जान्छ ।
यसको परीक्षण गर्न भने लामो समय लाग्ने गर्छ । यसका लागि मेमोरी टेस्ट र इमेन्जिङ स्टडी गर्नुपर्ने हुन्छ ।