चितवन । नेपाल नेत्रज्योति सङ्घ चितवन शाखाले दाताको सहयोगमा तीनतले सुविधासम्पन्न अस्पताल भवन निर्माण गरेको छ । भरतपुर आँखा अस्पताल हाताभित्र २५ हजार पाँच सय स्क्वायर फिटको भवन निर्माण गरिएको हो ।
भवन निर्माण समितिका संयोजक एवं सङ्घका पूर्वसभापति चिजकुमार मास्केका अनुसार रु २० करोड १५ लाख २२ हजार लागत अनुमान गरी निर्माण थालिएको भवन रु १३ करोड ५० लाखमा निर्माण गरिएको हो । उनका अनुसार नवनिर्मित भवनको पहिलो तलामा बाल आँखारोग बहिरङ्ग विभाग, दोस्रो तलामा अन्तरङ्ग विभाग र तेस्रो तलामा चारवटा मोडुलर शल्यक्रिया कक्ष रहेका छन् ।
विसं २०७८ फागुनमा निर्माण सुरु गरिएको सो भवन आउँदो शुक्रबार उद्घाटन गरिने कार्यक्रम छ । स्वदेशी तथा विदेशी दातृ संस्था, प्रदेश सरकार र भरतपुर महानगरपालिकाको आर्थिक सहयोगमा भवन निर्माण गरिएकोे हो । उनले भने, “भवन निर्माणका लागि रु आठ करोड ५० लाख ७३ हजार पाँच सय ५७ चन्दादाता, दातृ तथा विभिन्न संस्थाहरूबाट प्राप्त भएको हो । अपुग रकम अस्पतालले व्यहोरेको थियो ।”
उक्त आँखा अस्पतालका तीनवटा शाखा अस्पताल, १८ वटा प्राथमिक आँखा उपचार केन्द्र छन् । ती शाखा, केन्द्र र मुख्य अस्पतालबाट गरी दैनिक आठ सय हाराहारीमा बिरामीले सेवा लिँदै आएको सङ्घका जिल्ला सभापति जयराम श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रत्येक वर्ष तीन लाखभन्दा बढी बिरामीले सेवा लिने गरेकामा १० हजारभन्दा बढी शल्यक्रिया हुने गरेको छ । अस्पतालले ठोरीबाट भारतीय बिरामीलाई समेत सेवा दिँदै आएको छ ।
उक्त अस्पतालले बागमती प्रदेश, मधेस प्रदेश र गण्डकी प्रदेशका आठवटा जिल्लामा सेवा पुर्याउँदै आएको छ । विसं २०४४ चैत १८ गते स्थापना भई सेवा सुरु गरेको भरतपुर आँखा अस्पतालले अहिले उपचारात्मक, अनुसन्धानात्मक र प्रतिरोधात्मक कार्यक्रम सञ्चालन गर्दै आइरहेको उनले बताए । सभापति श्रेष्ठले भने, “भवन निर्माणसँगै सेवालाई अझै प्रभावकारीरूपमा अघि बढाउने योजनामा रहेका छाँैं ।” उक्त अस्पतालमा आँखासम्बन्धी स्नातकोत्तरसम्मको पढाइसमेत हुँदै आएको छ ।