काठमाडौँ । मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउन सरोकारवालाले जोड दिएका छन् ।स्वास्थ्य पत्रकार मञ्च, नेपालले आज आयोजना गरेको ‘औषधिको गुणस्तर, मापदण्ड र कानूनी प्रावधान’ बिषयको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा.विकास देवकोटाले सरकारले औषधिमा मुलुकलाई आत्मनिर्भर बनाउने पहल गरिरहेको बताए ।
उनले सरकारले निःशुल्क वितरण गर्ने ९८ वटा औषधि खरिद गरे नेपाली औषधि उद्योग फस्टाउने धारणा राखे । उनले सरकारले ९८ किसिमका औषधि खरिद गर्न सके बाहिरबाट औषधि ल्याउन नपर्ने भनाई पनि राखे ।
अहिले हामी ५० प्रतिशत मात्र आत्मनिर्भर भएका छौ। उत्पादन र आयातको तारताव्यता मिलाउनु पर्यो । कुनै पनि देशले आफ्नै देशमा उत्पादित औषधिबाटै नै आत्मनिर्भर हुने भन्छ ।
हामीले पनि स्वदेशी औषधि उपभोग गर्नुपर्दछ,’ उनले भने, ‘कुन–कुन उद्योगबाट के–के औषधि उत्पादन गर्न हुन्छ के हुदैन । हाम्रो देशमा कस्ता रोग फैलिरहेको छ । त्यो हेरेर हामीले औषधि उत्पादनको रोडम्याप बनाउनु पर्दछ ।’
अतिरिक्त स्वास्थ्य सचिव डा. देवकोटाले चुहावट नियन्त्रण गरेर औषधिको मूल्यमा समायोजन गर्ने बताए । उनले उद्योगमा नै प्रयोगशाला रहेकोले औषधि गुणस्तर रहेको छ भन्ने हामीले विश्वास गरेको बताए ।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले शरिरमा औषधिले काम गर्यो भने मात्र औषधिको गुणस्तर मापन हुने बताए । उनले गुणस्तर सुधार्न विभागले नयाँ नयाँ प्रविधि ल्याइरहेको भन्दै उद्योगले पनि सुधार गरिरहेको बताए ।
‘रिसर्च, विज्ञलाई राखेर औषधिको फर्मुलेसन भइरहेको छ । सर्टेन टेष्ट गरेपछि गुणस्तर भन्ने मिल्दैन । होल लाइफसाइकललाई हेर्नुपर्दछ । जिवन पथमा त्यो औषधिले काम गरेर मात्र त्यो गुणस्तर हुन्छ’ उनले भने ।
उनले औषधिको उत्पादनदेखि प्रयोगसम्म हेरेर मात्र गुणस्तर हो वा होइन भन्ने थाहा हुने बताए । नेपाल औषधि उत्पादक संघका अध्यक्ष महेश प्रधानले नेपालमा उत्पादन गने औषधि गुणस्तर नै रहेको बताए ।
औषधि उद्योग संचालन गर्न त्यति सजिलो नभएको भन्दै बाहिर बसेर औषधि उद्योगभित्र पिडा नबुझ्ने बताए । “औषधि उद्योगमा ६० अर्ब रुपिया लगानी रहेको छ ।
एउटाऔषधि उद्योग संचालन गर्न करिव ८० करोड लाग्दछ । तर स्वदेशी उद्योगले उत्पादन गरेका औषधिको उपभोगको ३० अर्ब रहेको छ,” उनले भने, “ ६० अर्ब लगानी गरेर ३० अर्ब वेचेको छौ । कुनै पनि बिजनेश लगानीको ६ गुणा गर्नुपर्दछ । यसले गर्दा हामीलाई समस्या छ ।”
उनले सरकारले खरिद गर्ने औषधि स्वदेशी उद्योगले उत्पादन गरेको खण्डमा औषधि उद्योग फस्टाउने बताए । उनले सरकारले खरिद गर्ने औषधि किनेमा आफुहरु छ बर्षभित्रमा मुलुकलाई चाहिने औषधि उत्पादन गर्न सक्ने र बाहिरबाट कुनै पनि औषधि खरिद गर्न नपर्ने अवस्थाको सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले औषधि गुणस्तर बनाउन मिसन, औजारको प्रर्दशनी चितवनमा हुने एक्स्पोमा हुने बताए । आयुर्वेदिक औषधि उत्पादन संघका अध्यक्ष सुमन पाण्डेले औषधिको गुणस्तरमा संवेदशनलि रहेको छ । उनले सरकारले बनाएको मापदण्ड पुरा गरेर नै विरामी सम्म पुरयाएको बताए ।
उनले सरकारले उद्योगलाई सहयोग गरे उद्योगीले मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउने बताए । नेपाल फर्मास्युटिकल्स एसोसिएसनका महासचिव संजिव कट्टेलले औषधिको लागि गुणस्तरिय प्रयोगशालामा ध्यान दिनुपर्ने बताए ।औषधि आयातकर्ता संघका महासचिव पवन आचार्य नेपाली औषधि उद्योग फस्टाउनुपर्ने बताए ।
उनले औषधिको गुणस्तर कायम राख्नुपर्ने भन्दै वदेश उद्योग संरक्षण आवश्यक रहेको बताए । विश्वमा नेपाल सवभन्दा कम मूल्यमा औषधि वेच्ने मुलुकको रुपमा रहेको बताए ।कार्यक्रममा स्वास्थ्य पत्रकार मंचका अध्यक्ष सरोज ढुंगेलले औषधि मानिसको स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने भएकोले गुणस्तरिय औषधि उत्पादनमा ध्यान दिनुपर्ने बताए ।