चितवन:यही फागुन २५ देखि चितवन प्रर्दशनी केन्द्रमा हुने नवौं फर्मा एक्स्पाको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल औषधि उत्पादक संघ( एपोन)ले आज भरतपुरमा पत्रकार सम्मेलन गरी तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै एपोनका अध्यक्ष महेश प्रधानले धराशायी बन्दै गएको नेपाली औषधि उद्योगलाई चिनाउन फर्मा एक्स्पो गर्न लागिएको बताए । ‘हामी अहिले ८४ वटा उद्योग भएर पनि पूर्ण क्षमतामा चलाउन सकेका छैनौ, उनले भने, यसको गुणस्तरीयता र प्रभावकारिता बारे जानकारी दिन पनि एक्स्पो गर्न लागेका हौं ।’ नेपालीऔषधि उद्योग गुणस्तरीय भएपनि सबैको पहुंँचमा नपुगेको उनले बताए ।
‘हामीले डब्लु एचओको मापदण्डमा औषधि उत्पादन गरेका छौ, तर सरकारले साथ नदिंँदा हामी पछाडि परे जस्तो भएका छौं ।’ उनले भने । संघका बरिष्ठ उपाध्यक्ष एवं एक्स्पो संयोजक प्रभात रुङ्गटाले देशको केन्द्र भागमा रहेको चितवनमा पुनः फर्मा एक्स्पो गर्न पाउँदा गौरवान्भित भएको बताए । सरकारलाई नेपाली औषधि उद्योगले कस्ता प्रविधि, उपकरण, कच्चापदार्थ प्रयोग गरेर औषधि उत्पादन गर्दछन् भनेर जानकारी गराउनु आफूहरुको अर्काे उद्देश्य रहेको उनको भनाई छ । एपोनका उपाध्यक्ष एवं मिडिया संयोजक सन्तोष बरालले एक्स्पोमा बिदेशी प्रर्दशक र प्रतिनिधि पनि आउने जानकारी दिए । उनका अनुसार यो एक्स्पोमा भारत, सिंगापुर बंगलादेश, अमेरिका, जर्मन, चीन लगायत नौवटा देशबाट प्रतिनिधिहरु आउनेछन । ‘हामीले एक्स्पोमा औषधिको उत्पादन डेमो पनि प्रर्दशन गर्नेछौं उनले भने, यसले हाम्रा उत्पादन निर्यात गर्न मदत मिल्नेछ ।’ एक्स्पोमा १६० वटा स्टल राखिएका छन् ।
यसमा नेपाल, भारत, सिंगापुर, बंगलादेश, अमेरिका, जर्मन, चीन लगायत नौ देशहरूले उत्पादनमा प्रयोग गर्ने उपकरण, ल्याब (प्रयोगशाला), कच्चापदार्थ र नेपाली औषधि उद्योगले बनाएको औषधिको स्टल पनि राखिएको छ । एक्स्पोमा उत्पादन गर्न प्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई पनि देखाइने छ ।
नेपालका औषधी उद्योगको विकास लागि नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधी व्यवस्था विभाग, नेपाल चिकित्सक संघ, नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल फर्मासिटिकल्स एसोसिएसन, नेपाल औषधि ब्यबसायी संघ, नेपाल आयुर्वेदिक औषधि उत्पादक संघ, रसायन तथा मेडिकल आपूर्ति संघ, फार्मेसी एसोसिएसन अफ नेपाल, नेपाल फर्मासिटिकल्स डिलर एसोसिएसन र स्वास्थ्य पत्रकार मंच बीच समन्वय र सहकार्य गरिने आयोजकले जनाएको छ ।
नवौं नेपाल फर्मा एक्स्पो २०२४ लाई सफलतापूर्वक आयोजना गर्नको लागि एल्माक प्याकेज प्रालि प्लाटिनम स्पोन्सर, एचभीएएक्स मेसिनरी प्रालि र प्यासिफिक लिमिटेड डाइमन्ड स्पोन्सर, एनपीएम मेसिनरी प्रालि, ज्ञानसान र स्याम टोयल प्याकेजिङ्ग गोल्ड स्पोन्सरको रुपमा रहेका छन् । यसैगरी सिल्भर स्पोन्सर आदित्य इन्जिनियरिङ र एकुरेट्स मेसिन र कर्पोरेट्स स्पोन्सरमा आस्था इन्टरनेसनल मिडिया सपोर्टमा स्वास्थ्य पत्रकार मञ्च, डिजिटल पार्टनरमा खल्ती डिजिटल, इभेन्ट पार्टनरमा टोयोटा, एथर र टाटा मोटर्स, इभेन्टमा माइस नेपाल रहेका छन् ।
नेपालको औषधी उद्योगको सबभन्दा ठूलो र महत्वपूर्ण पर्वको रुपमा रहेको यस एक्स्पोको अवलोकन चिकित्सक, स्वास्थ्यकर्मी, फर्मासिस्ट, नर्स, औषधि व्यवसायी, सञ्चारकर्मी, उद्योगी र सर्वसाधारण गरी करिव २५ हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।