काठमाण्डौं । पाठेघरको मुखको क्यान्सर नेपालका महिलाहरूमा हुने क्यान्सर मध्ये पहिलो स्थानमा रहेको छ । पाठेघरको मुखको क्यान्सरका कारण हरेक दिन ४ जना महिलाको मृत्यु हुने गरेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाकी शर्मिला दाहालले बताइन् ।
बिहीबार भएको पत्रकार सम्मेलनमा पाठेघरको मुखको क्यान्सरको परिक्षण र रोकथामका लागि सचेतना अभियान घोषणा गरेको छ । एनसेल, मेरी स्टोप्स इन्टरनेशनल नेपाल र अष्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापार विभाग र परिवार कल्याण महाशाखाको संयुक्त सहकार्यमा पाठेघरको मुखको क्यान्सरको परिक्षण र रोकथामका लागि राष्ट्रव्यापी सचेतना अभियान सुरु गरेको छ ।
दाहालका अनुसा् स्तन क्यान्सर नयाँ पत्ता लाग्ने दर १४ दशमलब ४ प्रतिशत र मृत्युको ७ दशमलब ६ प्रतिशत रहेको छ भने पाठेघरको मुखको क्यान्सर नयाँ पत्ता लाग्ने दर १४ दशमलब २ र त्यसबाट हुने मृत्यु ८ दशमलब ७ प्रतिशत रहेको छ । विश्वको तथ्यांक हेर्दा पाठेघरको मुखको क्यान्सर पाँचौं स्थानमा रहे पनि नेपालमा भने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर एक र दुई स्थानमा पर्ने उनले बताईन ।
पाठेघरको मुखको क्यान्सर नेपालका महिलाहरूमा हुने क्यान्सर मध्ये पहिलो स्थानमा रहेको छ । पाठेघरको मुखको क्यान्सरका कारण हरेक दिन ४ जना महिलाको मृत्यु हुने गर्छ, जसको कारण महिलाहरूले अकालमै ज्यान गुमाउनुपरेको तथ्यांकले देखाउछ । सन् २०२२ मा मात्रै २,१६९
जना महिलाहरूमा पाठेघरको मुखको क्यान्सर भएको पाईयो भने यस रोगको कारण १,३१३ जनाले आफ्नो ज्यान गुमाएको छ ।
मार्च २०२४ देखि सञ्चालन हुने यस सचेतना अभियान अन्तर्गत ९ देखि ४९ वर्ष उमेर समूहका किशोरी तथा महिलाहरूलाई लक्षित गरी विभिन्न क्रियाकलापहरु संचालन गरिनेछ । साथै अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ५० जनालाई निःशुल्क क्यान्सर स्क्रिनिङ सेवा प्रदान गर्ने भएको छ।
यस अभियानको मुख्य उद्देश्य भनेको अभियान लागू हुने जिल्लाहरुमा पाठेघरको मुखको क्यान्सरको परिक्षण गर्ने र खोपको माध्यमबाट पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सघाउ पुऱ्याउनु हो । यस बाहेक यस अभियानले पाठेघरको मुखको क्यान्सर रोकथाम र उपचारको बारेमा महत्वपुर्ण जानकारी फैलाउनु रहेको बताए ।