पहिले निश्चित उमेर पुगेपछि मात्र देखिने उच्च रक्तचाप पछिल्लो समय वृद्ध, युवा सबैमा बढ्दै गएको छ। उच्च रक्तचाप नभएका तर बढ्दो उमेर र वंशाणुगत गुण बोकेका व्यक्तिले जीवनशैलीमा परिवर्तन ल्याउनु आवश्यक हुन्छ। पछिल्लो समय युवावस्थामा उच्च रक्तचाप बढ्दै गएको पाईन् छ । युवावस्थामै उच्च रक्तचाप देखिनुको मुख्य कारण व्यक्तिले अपनाएको जीवनशैली नै हो । उच्च रक्तचापलाई सधैँका लागि निदान गर्न सकिँदैन तर जीवनशैलीमा परिवर्तन ल्याउन सके नियन्त्रणमा राख्न सकिन्छ।
के हो त उच्च रक्तचाप ?
उच्च रक्तचाप एउटा दीर्घकालीन रोग हो । रक्तचापलाई ‘सिस्टोलिक’ र तलको रक्तचापलाई ‘डायस्टोलिक’ भनिन्छ। मुटु खुम्चिँदा पैदा भएको चापलाई सिस्टोलिक रक्तचाप भनिन्छ भने मुटु फैलिँदा पैदा भएको रक्तचापलाई डायस्टोलिक रक्तचाप भनिन्छ। सामान्य रक्तचाप १२०/८० भन्दा कम हुनपर्छ । शरीरमा जब रगतको दवाव १४०/९० एमएम एचजी भन्दा उच्च हुन्छ तब व्यक्तिलाई उच्च रक्तचापको समस्या भएको मानिन्छ ।
युवामा उच्च रक्तचापका कारणहरू
धेरै व्यक्तिमा उच्च रक्तचापको कुनै पनि निश्चित कारण थाहा हुँदैन । १० प्रतिशतमा भने विभिन्न रोगजस्तै मिर्गौलाको रोग, मुटु रोग, मधुमेह आदिले गर्दा हुने गर्दछ।
- वंशाणुगत,
- जीवनशैली,
- मोटोपन,
- धूम्रपान तथा मध्यपानको सेवन,
- अत्यधिक मात्रामा नुन खाने,
- बढि तनाव,
- व्यायामको अभाव,
- चिल्लो पदार्थ वा मसलादार खानाको बढी सेवन,
- चिया कफी बढी पिउने बानी,
- निदाउन नपाएर,
- जथाभावि औषधीहरूको सेवन,
- दीर्घकालीन रोग,
रक्तचाप कसरि नाप्ने ?
रक्तचाप जाँच्दा १५ मिनेट आरामले बसेको, भिडभाड नभएको, पिसाब नलागेको हुनुपर्छ। अरू कुनै रोग नभएको व्यक्तिमा रक्तचाप १६०/१०० एमएमएचजीसम्म भएमा केही हप्ता हेर्नु पर्छ। यस अवधिमा रक्तचाप १४०/९० एमएमएचजीभन्दा माथि नै रहिरहेमा औषधि सुरु गर्नु पर्छ।
सामन्यतया वयस्क–स्वस्थ मानिसको औसत रक्तचाप १२०/८० एमएमएचजी हुन्छ। यो रक्तचाप बढेर १४०/९० एमएमएचजी भए उच्च रक्तचाप भएको भन्न सकिन्छ। एक पटक रक्तचाप उच्च देखिँदैमा उच्च रक्तचाप भन्न मिल्दैन। आराम गरेर कम्तीमा तीन पटक नाप्दा पनि उच्च देखिएमा उच्च रक्तचाप भएको भन्न सकिन्छ।
उच्च रक्तचापले शरीरमा अन्य कस्तो असर गर्छ ?
रक्तचाप एउटा माध्यम हो, यसको असर विभिन्न अंगमा विभिन्न तरिकाले आउन सक्छ। उच्च रक्तचाप भएका सबैलाई अन्य अंगमा असर नगर्न पनि सक्छ। तर उच्च रक्तचापले मिर्गौला फेल हुने, पक्षघात, बे्रन हेमरेज हुने, मुटुको धमनी फुट्ने, आँखाको दृष्टि नसामा असर पुग्ने र मस्तिष्कको नसामा रक्तसञ्चार बन्द हुन सक्ने जस्ता समस्या देखिन सक्छ।
उच्च रक्तचापका लक्षणहरु
सामान्यता उच्च रक्तचापको केहि लक्षण हुँदैन। यसैले उच्च रक्तचापलाई साइलेन्ट किलर पनि मानिन्छ। धेरैजसो मानिसहरू आफ्नो रक्तचाप बढेको चाल नै पाउँदैनन्। केही व्यक्तिमा टाउको दुख्ने, रिंगटा लाग्ने, आँखा धमिलो हुने, झुम्म हुने, थकाइ महशुस हुने, शरीर आलस्य हुने, अकस्मात् नाकबाट रगत बग्ने, मुटु ढुकढुक हुने, छाती दुख्ने, बेहोस हुनेजस्ता प्रमुख लक्षणहरू देखिन सक्छन्।
उच्च रक्तचाप भएको थाहा नपाउँदा व्यक्तिहरू मिर्गौला फेल, हृदयाघात, पक्षाघात, रक्तनली फुट्ने, अन्धो हुने, हातखुट्टा नचल्ने यस्तो जटिल समस्या लिएर अस्पताल आउँछन्।
त्यसैले वयस्क व्यक्तिले कम्तीमा पनि छ महिनामा एक पटक आफ्नो रक्तचाप अनिवार्य जाँच गराउनु पर्छ। यसो गरेर भविष्यको सम्भावित दुर्घटनाबाट बच्न सकिन्छ। उच्च रक्तचाप भएको व्यक्ति चिकित्सकसँग नियमित परामर्शमा रहनुपर्छ।
उपचार
कुनै पनि औषधि सुरु गर्नु अघि रक्तचाप सिस्टोलिक १४० भन्दा माथि वा डायस्टोलिक ९० भन्दा माथि छ भने हामी २४ घण्टाको लागि रक्तचाप जाँच गरिन्छ । त्यस निगरानीमा कुनै पनि कारणहरू कार्डियक रेनल वा अन्य रोगहरू जस्तै हाइपरथाइराइडिज्म र डिस्लिपिडेमिया देखिएमा त्यसै अनुरुप उपचार गरिन्छ । सबै भन्दा पहिले के कारणले उच्च रक्तचाप भएको त्यो पता लगाउनु पर्छ त्यस पछि मात्र औषधि सेवन गर्नुपर्छ ।
उच्च रक्तचाप नियन्त्रणका उपाय
औषधि उपचार, खानपान र उचित जीवनशैली नै उच्च रक्तचाप नियन्त्रणको मुख्य तरिका हो। एक्सरसाइज गर्ने, खानामा सन्तुलन मिलाउने र तनाव घटाउने गर्नुपर्छ। रक्तचाप भयो भने सँगसँगै मुटु, मिर्गौला, मस्तिष्क र सुगरको समस्या पनि आइहाल्छ। त्यसैले जसरी भए पनि रक्तचाप नियन्त्रणमा राख्नुपर्छ।
- खानपान र जीवनशैली सुधार्ने ।
- नियमित एक्सरसाइज गर्ने ।
- धूम्रपान तथा मध्यपानको सेवन नगर्ने।
- नुन कम खाने ।
- मोटोपन घटाउने ।
- कम्तीमा पनि ६ देखि ८ घण्टा निदाउनुपर्छ ।
- प्रशस्त मात्रामा सागसब्जी तथा फलफूल खाने ।
- नियमित रक्तचाप जाँच गर्ने ।
- चिकित्सकको सल्लाह अनुसार नियमित औषधि खाने ।
समयमै स्वस्थ जीवनशैली अपनाउनु पहिलो उपचार हो। रोकथामका उपायहरू अपनाउनाले उच्च रक्तचाप त नियन्त्रणमा आउँछ साथै, अन्य रोगहरूलाई पनि फाइदा पुग्छ । उच्च रोकथामका उपायहरू अपनाउन बेलैमा होशियारी अपनाऔँ । त्यसैले समयमै सावधानी अपनाऔं र उच्च रक्तचापबाट बचौं।