च्याउ औषधीय गुणहरूले भरिएको खाद्यपदार्थ हो । च्याउका परिकार खानका लागि निकै स्वादिलो हुने कुरामा दुइमत छैन । प्रायः हरेकको भान्सामा पाक्ने च्याउ स्वास्थ्यको लागि निकै लाभदायक मानिन्छ । घरमा वा फार्ममा व्यवसायिक रुपले उत्पादन गरिएका च्याउमा भिटामिन ‘बी’सहित विभिन्न प्रकारका खनिज तत्व पाइन्छ । च्याउमा सेलेनियम, तामा, फस्फोरस, पोटासियम, चिल्लो पदार्थ, कार्बोहाड्रेड प्रशस्त मात्रामा पाइन्छ । तर, च्याउमा क्यालोरी अत्यन्त कम हुन्छ ।
अध्ययन अनुसार विश्वमा १ लाख ४० हजार प्रकारका च्याउ पाइनेमा १ सय प्रकारका च्याउ खानका लागि उपयुक्त तथा स्वस्थ मानिन्छन् । च्याउमा औषधीय गुण भरिएको हुन्छ । यो एक प्राकृतिक एन्टिबायोटिक हो, जुन माइक्रोवियल र अन्य फंगल संक्रमणबाट जोगाउँछ । च्याउ खानु स्वास्थ्यका लागि लाभदायक भए पनि जुन पायो त्यही च्याउ खानु भने हुँदैन । किनकी जंगली च्याउहरुमा विषादी हुने भएका कारण मानिसको स्वास्थ्यमा असर पुर्याउँछ ।
च्याउको सेवनले सरीरमा कोलेस्ट्रोलको मात्रालाई सन्तुलित गर्ने देखि लिएर स्तन क्यान्सर तथा प्रोस्टेट क्यान्सरको जोखिम पनि कम गर्ने, मोटोपन घटाउने र मधुमेहको खतरालाई पनि घटाउने विभिन्न अध्ययनहरुले देखाएका छन् ।
च्याउले कुन कुन रोग कम गर्नमा फाईदा गर्छ ?
रोगप्रतिरोधक क्षमता बढाउन : च्याउ एक प्राकृतिक एन्टीबायोटिक हो । यसले माइक्रोबियल र फंगल संक्रमणलाई हटाउँछ । यसमा भएको एन्टीअक्सिडेन्टले शरीरलाई हानि गर्ने फ्री –याडिकलबाट बचाउँछ । अनि शरीरका कोशिकाहरूको मर्मत गर्न पनि यो सहयोगी हुन्छ ।
मोटोपन हटाउन : मोटोपन हटाउन चाहने व्यक्तिहरूले प्रोटीनयुक्त आहार लिनुपर्छ र च्याउमा भरपूर प्रोटीन हुन्छ । तौल घटाउनका लागि च्याउ राम्रो विकल्प हो । प्रोटिनयुक्त भोजन भएकाले च्याउको सेवनले वजन नियन्त्रण गर्न मदत गर्छ ।
क्यान्सरबाट बचाउन : च्याउमा भएको बीटा ग्लाइसिन र लिनोलिक एसिडले क्यान्सरबाट बचाउन मद्दत गर्छ । यसमा भएका काइटिन, लायसिन र प्रोटीनले शरीरमा ट्युमर बन्न दिँदैनन् ।
मधुमेह कम गर्न : च्याउमा भिटामिन, फाइबर र मिनरलहरू हुन्छन् अनि बोसो, कार्बोहाइड्रेट्स र सुगर हुँदैन, त्यसैले मधुमेहका रोगीले यसको सेवन गर्नु ठीक हुन्छ । यसले प्राकृतिक इन्सुलिन तथा इन्जाइमको रुपमा काम गर्दछ ।
मुटु राम्रो बनाउन : च्याउमा भएका एन्जाइमहरूले कोलेस्ट्रोल स्तर घटाउँछन् र यिनमा भएका पोषक तत्त्वले स्वास्थ्यलाई राम्रो राख्छन् र मुटुरोगको जोखिम पनि कम गर्छ ।
कुपोषणबाट बचाउन : कुपोषणबाट बालबालिकालाई बचाउनका लागि च्याउ खान दिनु ठीक हुन्छ । यो गर्भावस्थादेखि वृद्धअवस्थासम्मका लागि उपयुक्त आहार हो । च्याउमा प्रोटिनसँगै भिटामिन इ तथा सेलेनियम लगायतका सुक्ष्म पोषक तत्व पनि पाइन्छन् ।
जोर्नी समस्या :च्याउ क्याल्सियमको निकै राम्रो श्रोत हो जुन हड्डीको विकाश तथा मजबुतीका लागि जरुरी हुन्छ । च्याउको नियमित सेवनले उमेर बढेसँगै लाग्ने ओस्टियोपोरोसिस, जोर्नी दुख्ने जस्ता समस्या कम हुन्छन् ।
पेटको समस्याबाट मुक्ति : फाइबररहित आहार लिँदा अपच र कब्जियतको समस्या हुन्छ तर ताजा च्याउ खाँदा यस्ता समस्याहरू हट्छन् किनकि च्याउमा फाइबर हुन्छ ।
रक्ताल्पता हटाउन : च्याउ रक्ताल्पता हटाउनका लागि राम्रो विकल्प हो किनकि यसमा फोलिक एसिड प्रचुर मात्रामा हुन्छ । यसमा भएको फलाम र फोलिक एसिडले हेमोग्लोबिनको स्तर सामान्य राख्छन् । च्याउमा आइरन तत्व पर्याप्त मात्रामा पाइन्छ जसको ९० प्रतिशत शरीरले लिन सक्दछ । यसले शरीरमा रक्तअल्पताको समस्या समाधानमा सहयोग गर्दछ ।
सामान्यतया च्याउले स्वास्थ्यलाई धेरै फाइदा गर्छ तर सही च्याउ खाइएन भने अनेकौं रोग लाग्छ । अनि च्याउका केही प्रजातिहरू विषालु हुन्छन् । यस्ता विषालु र कच्चा च्याउ खाँदा एलर्जी, दम, उल्टी, मतिभ्रम, बेहोशी र वाकवाक लाग्ने समस्या हुन्छ । धेरै च्याउ खायो भने एलर्जी हुन्छ । त्यसैले च्याउ किन्दा सावधानी अपनाउनुपर्छ । जहिले पनि ताजा च्याउ खानुपर्छ ।