मौसम परिवरतन भए सँग बच्चामा विभिन्न प्रकारका भाइरल इन्फेक्सनको समस्या बँढै गएको पाइन्छ । यसमा पनि बच्चामा देखापर्ने रुघाखोकी तथा ज्वरोलाई मौसमी (सिजनल) इन्फ्लुन्जा भनिन्छ। मौसममा आएको परिवर्तनसँगै मानिसको स्वास्थ्यमा प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पर्ने भएकाले यस समयमा हरेक मानिसलाई सिजनल फ्लु बढि हुने गरेको छ । यो इन्फ्लुन्जा भाइरसका कारणले लाग्ने सङ्क्रामक रोग हो। फ्लुको संक्रमण जुनसुकै उमेर समूहका व्यक्तिमा हुने गरे पनि इमिन्युटि कम हुने भएकाले सबैभन्दा बढि प्रभावित बच्चाहरु हुने गर्छन। सर्वसाधारणले सामान्य रूपमा लिने गरेको सिजनल फ्लुले कतिपय बच्चामा भने जटिलता ल्याउन सक्छ। सिजनल फ्लु कसरी लाग्छ ? उपचार पद्धति के हो ? फ्लुबाट बच्ने उपायहरू के-के छन् ? यसै बारेमा निसर्ग हस्पिटलका डीएम बालरोग विशेषज्ञ डा पुष्पराज अवस्थीसँग महिला स्वास्थ्यका लागि शान्ति शर्माले गरेको कुराकानी आधारित् :
सिजनल फ्लु (इन्फ्लुन्जा) भनेको के हो ?
सिजनल फ्लु भनेको इन्फ्लुन्जा भाइरसबाट लाग्ने संक्रामक रोग हो। यसले रुघाखोकीको भाइस जस्तै फोक्सो, घाँटी तथा नाकको कोषिकालाई प्रभावित गर्छ । इन्फ्लुन्जा भाइरस ए र बी किसिमको हुने गर्छ। इन्फ्लुन्जा भाइरस ए बढि देखिन्छ बी भन्दा र यसले बच्चालाई बढी सताउने गर्छ । सिजनल फ्लुको समस्या बच्चामा पनि ५ बर्ष मुनिका बालबालिकामा बढि भएको पाईन्छ । यसमा पनि २ महिना देखि २ बर्षको बच्चालाई बढि सताउने गर्दछ ।
इन्फ्लुन्जा भाइरस ए र बी मा के फरक छ ?
इन्फ्लुन्जा भाइरस ए र बी का लक्षणहरुमा खासै फरक हुदैन । तर इन्फ्लुन्जा भाइरस ए अलि जटिल किसिमको हुन्छ । यो निको हुन लामो समय लाग्ने गर्द छ, भने इन्फ्लुन्जा भाइरस बी ले सामान्य लक्षण देखाउ छ र धेरै जसो आफै पनि निको हुने गर्दछ।
सिजनल फ्लु कारणहरु
इन्फ्लुन्जा भाइरस भएकाले यो एक व्यक्तिबाट अर्कोमा सर्ने गर्दछ । यो संक्रमित व्यक्तिलाई भेट्दा वा सम्पर्कमा आउदा सर्ने गर्दछ । बच्चामा इमिन्युटि पावर कम हुने भएकाले यसको संक्रमण छिटो हुने गर्छन। त्यसैले बच्चालाई रुँघा खोकी लागेका व्यक्तिहरू बाट टाढा राख्नु पर्दछ ।
इन्फ्लुन्जा भाइरसका लक्षणहरु
बच्चाको शरिरमा भाइरस पसेपछि १ देखि ४ दिनमा यसको लक्षण देखा पर्छ ।
- सिंगान बग्ने ।
- सुख्खा खोकी लाग्ने।
- ज्वरो आउने।
- घाँटी दुख्ने।
- आँखा चुहिने ।
- पटक–पटक हाच्छिउँ आउने।
- दिसा पातलो हुने ।
- हल्का बान्ता हुने ।
- बच्चा चिडचिडो हुने ।
- श्वास फेर्न गाह्रो हुने।
समान्यतया फ्लुमा यस्ता लक्षणहरु देखिन्छन् । तर फ्लु कडा भए यसले निमोनियाको रूप लिन्छ। त्यसैले बच्चामा फ्लुको समस्या भए एक पटक चिकित्सकको सल्लाह लिनु पर्दछ । जथाभावि चिकित्सकको सल्लाह बिना औषधि खुवाउनु हुदैन् ।
उपचार
फ्लुमा बच्चाको लक्षण अनुसारको उपचार गर्नुपर्ने हुन्छ। हल्का ज्वरो आएमा सिटामोल खान दिने, पर्याप्त मात्रामा पानी तथा झोलिलो पदार्थ खान दिने, न्यानोमा राख्नुपर्ने हुन्छ। निमोनिया भएको अवस्थामा निमोनियाको उपचार गर्ने, श्वासप्रश्वासमा समस्या आएको अवस्थामा अक्सिजन लगाउने तथा श्वास फेर्नका लागि सहज हुने औषधिको प्रयोग गर्नुपर्ने हुन्छ। यदि फ्लु कडा छनै भने सामान्य उपचारले नै ९०/९५ % फ्लु एक हप्तामा निको हुन्छ ।
फ्लु कुन अवस्थामा जटिल हुन्छ ?
धेरै जस्तो फ्लु सामान्य उपचारले नै निको हुन्छ । तर कुनै बेला अलि जटिल रुपलिन्छ । यदि आमाको दुध खाने बच्चाले दुध खान सकेको छैन , श्वास फेर्न गार्हो भएको छ, कोखा हानेको छ, ज्वरो धेरै आको छ र बच्चा सुस्त भएको छ, बान्ता रोकिएको छैन भने यस्तो अवस्थामा बच्चा अस्पताल भर्ना गर्नु पर्ने हुन्छ ।
कसै कसै लाई माथिलो श्वास थलिको इन्फेक्सन भएको छ जसलाई सेकेन्डरि इन्फेक्सन भनिन्छ यसमा निमोनिया हुने , कानमा इन्फेक्सन, कूनै बेला ब्याक्टेरिया इन्फेक्सन गरेर दिमागमा समेत पुग्न सक्ने हुन्छ।
फ्लु भएका बच्चाको हेरचाह कसरि गर्ने ?
रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न पौष्टिक आहार हरियो सागपात, झोलिलो खानेकुरा खाने र सरसफाइमा ध्यान दिने गर्नुपर्छ।
- तातो तथा झोल भएका खानेकुरा धेरे खुवाउने ।
- आमाको दुध खाने बच्चालाई दुध चुसाउने ।
- बच्चाको सर - सफाईमा विशेष ध्यान दिने ।
- न्यानो बनाएर राख्ने।
- स्कुल जाने बच्चाहरुलाई स्कुल नपठाउने ।
कसरी जोगिने ?
- रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न पौष्टिक आहार हरियो सागपात, झोलिलो खानेकुरा खुवाने गर्नुपर्दछ ।
- बच्चाको सरसफाइमा ध्यान दिने गर्नुपर्छ।
- मौसम बदलिदा चिसो, धुवाधुलो र प्रदुषणबाट बचाउने ।
- आमाको दुध मात्र खाने बच्चालाइ फ्लु लाग्ने सम्भावना कम हुन्छ
- फ्लुविरुद्धको खोप लगाउने ।
६ महिनाभन्दा माथिका सबै उमेरका मानिसलाई फ्लुविरुद्धको खोप लगाउन सकिन्छ । फ्लुविरुद्धको खोप हरेक वर्ष लगाउनु पर्छ । जोखिम वर्गमा पर्ने बालबालिका, दीर्घरोगी, ज्येष्ठ नागरिक र गर्भवतीमा सिजनल फ्लुले निकै जटिलता ल्याउने भएकाले उनीहरूलाई फ्लुविरुद्धको खोप दिनु सबैभन्दा बढी सान्दर्भिक मानिन्छ । भ्याक्सिन निःशुल्क भने छैन। फ्लुविरुद्धको एक भ्याक्सिनलाई कम्पनीअनुसार २ हजार देखि ३५ सय रुपैयाँसम्म पर्न आउँछ।