काठमाडौँ । पछिलो समय वयस्कहरूमा ४५ प्रतिशत गिजाको समस्या र ७३ प्रतिशत बालबालिकाको दाँत किराले खाने समस्या देखिएको पाइएको छ ।
विश्व मुख स्वास्थ्य दिवसको अवसरमा आज कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालले पत्रकार सम्मेलन आयोजना गरी पछिल्लो समय वयस्कहरूमा ४५ प्रतिशत गिजाको समस्या र ७३ प्रतिशत बालबालिकाको दाँत किराले खाने समस्या देखिएको अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा बुद्धिमान श्रेष्ठले बताए ।
अस्पतालले बिएम फाउन्डेसन र रोटरी क्लब अफ काठमाडौँ नर्थसँगको सहकार्यमा उपत्यकाभित्रका ६८ विद्यालयमा अध्ययन गरेको थियो । कूल २४ हजार एक सय ५४ विद्यार्थीसँग गरेको अनुसन्धानका क्रममा ७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या देखिएको हो ।
बालबालिकाले राम्रोसँग ब्रस नगर्ने, बजारमा पाइने तयारी खाना खाने, चक्लेट, बिस्कुटलगायत गुलियो खानेकुरा खाँदा अधिकांश बालबालिकाको दाँत किराले खाने समस्या देखिएको डा श्रेष्ठले बताए ।
कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्रले विश्व मुख स्वास्थ्य दिवसका अवसरमा बुधबारदेखि शुक्रवारसम्म तीन दिने निःशुल्क दन्त परीक्षण गर्ने भएको छ । साथै मार्च २० अर्थात् विश्व मुख स्वास्थ्य दिवसका अवसरमा सो अस्पतालले भोलि जनचेतनामूलक ¥याली आयोजना गर्ने, निबन्ध प्रतियोगिता र कला प्रतियोगिता आयोजना गर्ने भएको हो ।
अस्पतालले विभिन्न समुदायमा गएर गरेको दन्त शिविरका निःशुल्क दन्त शिविर गर्ने गरेको डा श्रेष्ठले बताए । हाललै उक्त अस्पतालले झापा, स्याङ्जा, काभ्रेपलाञ्चोक, कैलाली, सिन्धुली र नुवाकोटमा दन्तशिविर सञ्चालन गरेको थियो ।