खोटाङ : बेलायतस्थित खोटाङ सेवा समाजले स्वास्थ्य सेवामा पहुँच नभएका जिल्लावासीलाई लक्ष्यित गरेर बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ । समाजले ‘जन्मभूमिको सम्मान, स्वास्थ्य श्रमदान अभियान’ नाराका साथ जिल्लाका विभिन्न ११ ठाउँमा बृहत् स्वास्थ्य शिविर आयोजना गरेको हो ।
शुक्रबारदेखि विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले हरेक ठाउँमा दुई दिन निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन थालेका समाजले जनाएको छ । शिविर यही चैत २३ गतेसम्म सञ्चालन हुनेछ । निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
बृहत् स्वास्थ्य शिविरको पहिलो चरणमा जिल्लाका विभिन्न चार स्थानमा एकैसाथ सेवा प्रवाह गरिएको समाजका अध्यक्ष डा प्रमोद राईले बताउनुभयो । आज साकेला गाउँपालिकाको साकेला आधारभूत अस्पताल, खोटेहाङ गाउँपालिकाको खोटाङ बजार स्वास्थ्यचौकी, जन्तेढुङ्गा गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी र रावाबेँसी गाउँपालिकाको हरमटारमा शिविर सञ्चालन भएको छ ।
बृहत् स्वास्थ्य शिविरमा गाइनोक्लोजिस्ट, पेडियाट्रिक, जनरल फिजिसियन, दन्त रोग, हाडजोर्नी, ग्यास्ट्रोलोजीलगायत रोगको उपचार र परीक्षण गरिनेछ ।
साथै निःशुल्क औषधि पनि वितरण गरिने छ । आज र भोलि ऐसेलुखर्क गाउँपालिकाका चार ठाउँमा तथा चैत २० र २१ गते हलेसी तुवाचुङ नगरपालिका, बराहपोखरी गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा शिविर सञ्चालन गरिनेछ । चैत २२ र २३ गते दिक्तेल रुपाकोट मझुवागढीको बुइपा र केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारमा शिविरको आयोजना हुनेछ ।
सेवा समाजका पदाधिकारी तथा सदस्यबाट सङ्कलित रु तीन करोड दश लाख बराबरको रकम स्वास्थ्य शिविरमा खर्च हुने अध्यक्ष राईले बताउनुभयो । शिविरमा ४५ जना विशेषज्ञ चिकित्सकसहित एक सय ३० जनाभन्दा बढी स्वास्थ्यकर्मीले सेवा प्रवाह गर्नेछन् ।