पालगञ्ज । बाँकेका १३ जना महिला स्वास्थ्य स्वयंसेविकालाई नगद रु ५० हजारसहित बिदाइ गरिएको छ । ६० वर्ष उमेर पुगेका उनीहरुलाइ जिल्ला स्वास्थ्य कार्यालयले आज सम्मान कार्यक्रम आयोजना गरि बिदाइ गरेको हो । लुम्बिनी प्रदेश स्वास्थ्यमन्त्री राजु खनालले अवकाश पाएका स्वयंसेविकाहरुलाइ सम्मानसहित बिदाइ गर्नुभयो ।
स्वास्थ्यमन्त्री राजु खनालले प्रदेशभर नौ हजार स्वास्थ्य स्वयंसेविका रहेको जानकारी दिए । उनिहरुको योगदानलाई सम्मान गर्न प्रदेश सरकारले रु ५० हजार नगद प्रदान गर्ने नीति लिएको मन्त्री खनालले बताए ।
उनले प्रदेशभित्र एक सय पाँच विशेषज्ञ दरबन्दी रिक्त रहेको जानकारी दिए । सम्मानित महिला स्वयंसेविका बीना पाण्डेले विगतमा टोलटोलमा पुगेर स्वास्थ्य सेवा दिएको स्मरण गर्दै अहिले प्रविधिले धेरै सहज बताए ।
जिल्ला स्वास्थ्य कार्यालय प्रमुख अङ्गद शाहीले स्वास्थ्य महिला स्वयंसेविका स्वास्थ्य क्षेत्रका खम्बा भएको औँल्याउँदै गाउँगाउँमा स्वास्थ्यसम्बन्धी जागरण ल्याउन अमूल्य योगदानको प्रशंसा गरे ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्यद्वय आशा नेपाली, मीना सिद्धिकी, प्रदेशका स्वास्थ्य सचिव जर्नादन पन्थी, उपमहानगरका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्द लगायतले महिला स्वयंसेविकाले समुदाय र स्वास्थ्य संस्थाबीच पुलको काम गरेको बताए। नेपालगन्ज उपमहानगरका १० र जानकी गाउँपालिकाका तीन गरी १३ जनालाई नगदसहित सम्मान गरिएको हो ।
बाँकेका सबै स्थानीय तहमा कूल ३५ जना महिला स्वयंसेविका कार्यरत छन् । लुम्बिनी प्रदेशमा बर्सेनि चार सयको हाराहारीमा महिला स्वयंसेविकाले अवकाश पाउने गरेका छन् । अवकाश पाएका स्वास्थ्य स्वंससेविकालाई सम्मानसहित बिदाइ गरिएको लुम्बिनी प्रदेशमा पहिलो पटक हो ।