मौसम अनुसार हरेक कुराहरु परिवर्तन हुदै जान्छ । हाल गर्मी मौसम सुरु भएको छ । जाडोयाममा जस्तै गर्मीयाममा पनि स्वास्थ्यमा विभिन्न किसीमका समस्याहरु आउने गर्छन् त्यसैले बिशेष ख्याल गर्नु पर्ने हुन्छ ।
गर्मीमा विषेशगरी घामबाट छालालाई बचाउँनु पर्ने हुन्छ । प्रायः घाममा काम गरिरहनु पर्ने मानिसका लागि घामबाट बच्न अझ आवश्यक हुन्छ । घामका किरणहरुमा छालालाई असर पार्ने तत्व रहेका हुन्छन् जसले गर्दा छाला रोग तथा छाला क्यान्सर समेत हुन सक्ने बिज्ञहरु बताउँछन् ।
केहि मानिसहरुलाई गर्मीमा पसिना धेरै आउँन सक्छ । पसिना आएसँगै छालामा चिल्लोपना आउँने गर्छ । जसले गर्दा छालामा घाउ खटिराहरु आउँने सम्भावना बढाउँछ ।
घामको असरबाट बच्नका लागि हामीले घर बाहिर निस्कदा छाता ओढ्ने, पुरै शरीर ढाक्ने कपडा लगाउँनु पर्ने हुन्छ तर नेपालमा गर्मी बढ्दै जाँदा यो कुरा त्यति सम्भव मानिदैन । नेपालको परिवेशमा तराईको जिल्लाहरुमा गर्मी मौसममा अत्याधिक गर्मी हुने भएकाले पुरै शरीर ढाक्ने लुगा लगाउँनु भनेको असम्भव जस्तै हो । पुरै शरीर ढाक्ने लुगा लगाउँन नसके पनि हामीले छोटो लुगा लगाएर पातलो सुतिको आउटर लगाउँन सक्छौं । यदि यो सबै कुराहरु सम्भव भएन भने घाममा सन्सक्रिमको प्रयोग गर्नु पर्ने हुन्छ ।
सन्सक्रिमको प्रभावकारीता कति ?
सन्सक्रिमको प्रयोग गर्मीमा मात्र होइन हरेक मौसममा आवश्यक हुन्छ । सन्सक्रिमको प्रयोगले सनटेन, सनवर्न तथा प्रिमेच्योर एजिङबाट जोगाउँने मात्र नभई दैनिक सन्सक्रिम लगाउँदा चायापोतो, रिन्कंलबाट जोगाउँछ ।
छालामा हुने क्यान्सर जस्तै घाँटि, नाक, अनुहारमा हुने जति पनि क्यान्सर छन् यी सबैलाइ सन्सक्रिमले रोक्न सक्छ । त्यस्तै कसैलाई घाममा गएपछि चिलाउँने, एलर्जि हुने जस्ता समस्या देखिन सक्छन् । यस्ता समस्यालाई समेत सन्सक्रिमले रोक्ने काम गर्छ । त्यसकारण गर्मीयाममा घामको असरबाट बच्ने सबैभन्दा उत्तम उपाए भनेको सन्सक्रिम लगाउनु नै हो ।
एक शोधकर्ताका अनुसार, कुनै पनि ब्यक्तिलाई आफ्नो उमेरभन्दा अगाडी छालामा चाउरीपन बढी देखिनु, छाला फुर्सो हुनु, छाला फुट्नु, छालाको रंगमा परिवर्तन आउनुको मुख्य कारण अल्ट्रा भ्वाईलेट किरणको प्रभावले हुने गरेको उल्लेख गरिएको छ ।
लामो समयसम्म सूर्यको प्रकाशमा बस्दा छाला कालो हुनुका साथै छालासंग सम्बन्धित विभिन्न किसिमका रोगहरु पनि देखा पर्ने गर्छ । यस्तो अवस्थामा छालालाई सूर्यको पराबैजनी किरणवाट जोगाउने हो भने सनस्क्रिम सबैभन्दा भरपर्दो माध्यमको रुपमा रहेको पाईन्छ ।
कुन सन्सक्रिम कसरी लगाउँने ?
सबैभन्दा पहिला त कुन प्रकारको सन्सक्रिम लगाउँने भन्ने थाहा पाउँन आवश्यक हुन्छ । सबैको अनुहार एकै प्रकारको हँुदैन । कसैको चिल्लो त कसैको सुख्खा हुने गर्छ । चिल्लो डन्डिफोर आउँने अनुहार भएको व्यक्तिले जेल सन्सक्रिम लगाउनु पर्ने हुन्छ । त्यस्तै अनुहार सुख्खा भएमा क्रिम र लोसन सन्सक्रिम लगाउँनु पर्ने हुन्छ । सन्सक्रिम कस्मेटिक पसलहरुमा भन्दा औषधि पसलमा किन्दा राम्रो हुन्छ ।
औषधि पसलमा राखिएका सन्सक्रिमहरुमा थोरै मात्रामा केमिकलहरु मिसाएको हुन्छ भने बाहिर कस्मेटिक पसलहरुमा पाईने सन्सक्रिममा भने ३०/४० किसिमका केमिकल मिसाइएको हुन्छ ।
सन्सक्रिममा लेखिएको एसपीएफ के हो ?
एसपीएफ भनेको सन प्रोटेक्शन फैक्टर हो । घामले हाम्रो शरीरको कुनै पनि ठाउँमा ड्यामेज नगरोस भन्नका लागि सन्सक्रिम लगाउँने गछौं । कुनै पनि सन्सक्रिममा एसपिएफ ३० लेखेको छ भने छालामा ३० पटकसम्म सनलाईट रोक्न सक्ने क्षमता भएको भन्ने बुझिन्छ ।
सन्सक्रिममा एसपीएफ जति बढि लेखेको हुन्छ त्यति पटक नै घामको किरणको असरलाई रोक्छ भन्ने जनाउँछ । छालाको रंग अनुसार पनि एसपीएफ लगाउँन सकिन्छ जस्तै खैरो रंग छ भने त्यस्तो व्यक्तिले ३० नम्बरको एसपीएफ लगाए पुग्छ । त्यस्तै धेरै गोरो रंग छ भने ४० देखि ५० को एसपीएफ लगाउनु पर्ने हुन्छ ।
लगाउँने तरीका
हामी सन्सक्रिम लगाउँने त हो भन्दै जथाभावि रुपमा लगाईरहेका हुन्छौ । तरीका नजानेर त्यतिकै लगाउँदा त्यसले फाईदा गर्नुको साटो बेफाईदा गर्न सक्छ । त्यसकारण हामीले कुनै पनि क्रिम लगाउनु पूर्व लगाउँने तरीका जान्न धेरै आवश्यक हुन्छ ।
सन्सक्रिम घाममा निस्कनु भन्दा ३० मिनेट पहिला लगाउनु पर्ने हुन्छ । थोरै सनस्क्रिम लगाएर हुदैन फेरि धेरै भन्दैमा पनि अनुहारभर नै चिल्लो निस्कनेगरि लगाउँनु पनि हँदैन त्यसकरण ठिक्क मात्र ३ देखि ५ एम्एलसम्म लगाउनु पर्छ ।
अरु मेकअप गर्दा जसरी सिधै हातमा लिएर दल्ने गर्नु हुदैन । औलाले अनुहारभरि टिकटिक पारेर मज्जाले औंलाले नै मसाज गर्नु पर्ने हुन्छ । राम्रोसँग भित्रसम्म पुगेर छाला सुख्खा नभएसम्म मज्जाले मसाज गर्नु पर्ने हुन्छ । सन्सक्रिम भित्रसम्म पुग्न पाएन भने माथिबाट लगाईने अन्य क्रिम वा पाउडरले रियाक्सन गर्न सक्छ । र त्यसको प्रभावकारीता पनि कम हुन्छ ।
सन्सक्रिम लगाएको ३० मिनेटसम्म अन्य कुनै पनि मोस्चराइजर, लोसन लगाउँनु हुदैन । कतिपयले सन्सक्रिम लगाउँनु भन्दा पहिला मोस्चराइजर लगाएका हुन्छन् । तर यो लगाउने तरीका सरासर गलत हो । सन्सक्रिम छालालाई बचाउनका लागिलागि लगाईने हो त्यसका लागि सुरुमा छालामा सन्सक्रिम पुगेन भने छालालाई बचाउँन सक्दैन ।
त्यस्तै कतिपयले २ घण्टाको अन्तरालमा सन्सक्रिम लगाउँनु पर्छ भन्ने गरेको सुनिन्छ तर यो व्यवहारिक छैन अर्थात सम्भव हुदैन । बिहान मेकअप गरेर घरबाट निस्केपछि २ घण्टामा सन्सक्रिम लगाउँने हो भने त्यो सबै मेकअप हटाएर मात्र पुनः सन्सक्रिम लगाउँनु पर्ने हुन्छ । मेकअप माथि नै सन्सक्रिम लगाउँदा कुनै प्रभावकारिता नै हुँदैन । यदि सन्सक्रिम २ घण्टाको अन्तरालमा लगाउँने हो भने अनुहारलाई मज्जाले वास गरेर सफा पार्नु पर्ने हुन्छ ।
छालालाई घामबाट जोगाउँने अन्य उपाय
- सकेसम्म पुरै शरीर छोप्ने कपडा लगाउँने,
- सम्भव भएसम्म ओझेलमा अर्थात छाँ या परेको स्थानमा बस्ने,
- सिधै मुखमा घाँमको किरण पर्न नदिन टोपि वा स्काफ ओड्ने,
(छाला तथा यौन रोग विशेषज्ञ डा.भास्कर मोहन कायस्थसँगको कुराकानीमा आधारित)