प्रोटिन एमिनो एसिडहरू मिलेर बन्छ । प्रत्येक कोषको लागि यो महत्वपूर्ण हुन्छ । प्रोटिनले शरीरको कोषिका निर्माण र मर्मतमा ठूलो भूमिका निर्वाह गर्छ । कपाल र नङ स्वस्थ राख्छ । शरीरले धेरै प्रकारका आन्तरिक रस हर्मोन बनाउन प्रोटिन नै चाहिन्छ ।
शरीरलाई दैनिक काम गर्दा चाहिने शक्ति प्रोटिनबाट आउँछ । शरीरमा प्रोटिनको कमी हुँदा थकान र कमजोरी महसुस हुन थाल्छ । त्यसैले प्रोटिनयुक्त खानेकुरा उचित मात्रामा सेवन गर्नुपर्छ । प्रोटिनको कमी भयो भने मान्छे दुब्लाउँदै जाने हुन्छ । बच्चामा प्रोटिनको कमी भएर सुकेनास र फुकेनासको समस्यासमेत देखिन्छ । नेपालमा पहिले यस्तो समस्या धेरै थियो । यो समस्या अहिले कम हुँदै गए पनि गाँउघरतिर अझै देखिँदै छ । मधुमेह भएको व्यक्तिलाई प्रोटिन कमी भएमा शरीरमा चिनीको मात्रा नियन्त्रण गर्न समस्या हुन्छ ।
शरीरमा प्रोटिनको कमी भएमा रक्तअल्पता पनि हुन्छ । अनि रोगप्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ । शरीरमा प्रोटिनको निकै कमी भए जोर्नीसमेत दुख्छ । जोर्नीमा पाइने तरल पदार्थको निर्माणमा समेत असर पर्छ । यसले गर्दा जोर्नीको लचिलोपन हराउँछ र जोर्नी दुख्ने गर्छ । एक सामान्य वयष्क व्यक्तिलाई दैनिक शरीरको तौलको प्रतिकिलोग्राम ०।८ ग्रामदेखि १ ग्राम प्रोटिन चाहिन्छ । यसबाहेक दैनिक व्यायाम गर्ने व्यक्तिका लागि प्रतिकिलोग्राम तौलमा १ ग्रामदेखि १।५ ग्राम प्रोटिनको मात्रा आवश्यक हुन्छ । तर प्रोटिन खाने भनेर जथाभावी धेरै खाँदा समस्या पनि हुन सक्छ । प्रोटिनको धेरै सेवन पनि हानिकारक हुन सक्छ । यसले मृगौलामा क्षति पु¥याउन सक्छ ।
गर्भावस्थामा भने महिलालाई सामान्य अवस्थाभन्दा बढी प्रोटिनको जरुरत पर्छ । प्रोटिनको कमीले गर्दा आमा र बच्चामा रगतको कमी पनि हुन्छ । बालबालिकाको लागि लिटो बनाउँदा पनि प्रोटिन भएको अन्न र गेडागुडीको प्रयोग गर्न सकिन्छ । लट्टेको दाना, गहुँ, जौ, फापर आदिमा पनि पर्याप्त प्रोटिन हुन्छ । जस्तो– १०० ग्राम लट्टेको दानामा १५ ग्राम, फापरमा १० ग्राम, चिउरामा ६।६ ग्राम प्रोटिन पाइन्छ । १०० ग्राम चना, मुसुरो, मुग, बोडी, मास, राजमामा त २० देखि २५ ग्राम प्रोटिन पाइन्छ । १०० ग्राम भटमासमा ४३ ग्राम प्रोटिन पाइन्छ । यस्ता दाल, गेडागुडी, अन्न आदि कुनै न कुनै वस्तु विभिन्न तरिकाले खाँदा शरीरमा पर्याप्त प्रोटिन पुग्छ ।
हरियो धनियाँ, मेथीको साग, हरियो कर्कलो, ब्रोकाउली, लसुनको पातमा पनि केही न केही प्रोटिन पाइन्छ । यसरी भान्सामा भएको दाल र अन्नको प्रयोग गरी पर्याप्त प्रोटिन खाएर स्वस्थ रहन सकिन्छ । शाकाहारी खानेकुरामा प्रोटिन नपाइने भन्ने होइन । शाकाहारी स्रोतहरुमा सोयाबिन, पनिर, दाल, गेडागुडी, ड्राइफ्रुट्स, दूध, फर्सीको बियाँ, तिल, आलस, गहुँ, चामल, कोदो, फापर, ब्रोकाउलीलगायत पर्छन् । सिमी प्रोटिन र रेसादार तत्वको निकै राम्रो स्रोत हो । पोषणविद्हरु् यसलाई प्रोटिनको ‘पावरहाउस’ पनि भन्छन् । सुकाइएको र हरियो सिमी सबैमा प्रोटिनको साथै पर्याप्त मात्रामा भिटामिन ए, सी, के र बी६ पाइन्छ । एक कप उमालेको सिमीमा करिब ७ ग्राम प्रोटिन हुन्छ ।
माछा, अण्डा सबै प्रोटिनका स्रोत हुन् । गहुँ, चना, मुँग, दालजस्ता उमारिएको गेडागुडीमा प्रोटिन निकै बढी पाइन्छ । एक कप उमारिएको अन्नमा १३ देखि १६ ग्रामसम्म प्रोटिन हुन्छ । यसमा क्यालोरी कम हुने हुनाले सलादमा मिसाएर पनि खान सकिन्छ । उमालेर या पकाएर खानाले पनि यसमा भएको प्रोटिनले फाइदा नै दिन्छ । शिशुको शरीरमा प्रोटिन पाउनको लागि घरमा बनाएको खाना नै दिनुपर्छ ।
बट्टाका शिशु भोजनमा प्रोटिन कम तर बढी चिनी, बढी नुन र बढी चिल्लो हुन्छ र सानैदेखि शरीरमा यस्ता तत्वहरु बढी हुँदा पछि स्वास्थ्यमा अनेक थरीका समस्या पर्न सक्छ । हाम्रो पुरानो चलन अनुसारका विभिन्न अन्नहरु मिसाएर बनाएको पिठोको लिटो, हलुवामा प्रोटिनको साथै शिशुको शरीरलाई आवश्यक पर्ने सबै पौष्टिक तत्व पाइन्छ । त्यसै गरी सुत्केरी र गर्भवती आमाको लागि चाहिने प्रोटिनयुक्त पौष्टिक तत्वहरु पनि घरेलु खानाबाट नै पाइन्छ ।
दालमा प्रोटिनको मात्राको साथै रेसादार तत्व पनि पर्याप्त हुन्छ । भात र तरकारीसँग दाल मिश्रण गरेर खाँदा शरीरमा चाहिने खनिज तत्वहरु सहजै शरीरमा जान्छ । दाल, गेडागुडीमा रहेको रेसादार तत्वको कारणले शरीरमा चिनीको मात्रा सन्तुलनमा राख्न मद्दत गर्छ । प्रोफेसर पिटर इलिस ९किङ्स कलेज, लन्डन० भन्छन्, ‘प्रोटिनयुक्त विभिन्न दालहरु प्रयोग गर्दा आलु खाएजस्तो शरीरमा एक्कासी इन्सुलिनको मात्रा बढ्दैन । त्यसले गर्दा चिनीको मात्रामा घटबढ हुन पाउँदैन ।’
प्रोटिनले भरिपूर्ण ‘पूरक आहार’ खानुपर्छ भनेर धेरै भ्रामक विज्ञापन भइरहेको हुन्छ । यसको लागि विश्वभरमा खर्बौ रुपियाँ खर्च गरिन्छ । मान्छेलाई स्वस्थ रहन ‘बजारको प्रोटिन’ चाहिन्छ भन्ने भ्रम छ । तर प्रोटिन पाउन महँगा औषधि र प्रोटिन सेक खान पर्दैन । शाकाहारी व्यक्तिले पनि विभिन्न वनस्पति, अन्न आदिको प्रयोग गरेमा पर्याप्त प्रोटिन पाउन सकिन्छ । तर बुझ्नुपर्ने कुरा के छ भने मधुमेह, मृगौला समस्या, मुटुका समस्यालगायत विभिन्न शारीरिक समस्या भएकाहरुले कति प्रोटिन प्रयोग गर्नु उपयुक्त हुन्छ भन्ने बारेमा स्वास्थ्यकर्मीसँग परामर्श लिनुपर्छ । (लेखक डा.अरुणा उप्रति पोषणविद् )