मनहरी । बागमती प्रदेश सरकारका नव नियुक्त स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दा नतिजा मुलक प्रतिफल आउने गरी कार्यसम्पादन गर्न मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएको छ ।
मङ्गलबार राति अबेर नवनियुक्त स्वास्थ्यमन्त्रीका रुपमा पद बहाली गर्दै श्रेष्ठले स्वास्थ्य मन्त्रालयले नागरिकको स्वास्थ्य सुधारका लागि लिएका सकारात्मक पहल र कार्यहरुको कार्यन्वयन तीव्रताका साथ गर्दै जानुपर्नेमा जोड दिए ।
स्वास्थ्य क्षेत्रको विस्तृत कार्यक्षेत्रलाई विचार गर्दै आगामी वर्षको बजेट सिलिङ नै स्वास्थ्य मन्त्रालयका लागि वृद्धि गर्नुपर्ने बताउँदै उनले त्यसका लागि सम्बन्धित निकायमा आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । नागरिकको गुणस्तरीय स्वास्थ्य सेवाप्रति प्रतिबद्ध हुँदै उनले आज विभिन्न निर्णय सार्वजनिक गरेका छन् ।
सार्वजनिक गरिएका निर्णयमा आत्महत्या न्यूनीकरणका लागि संयन्त्र निर्माण कार्यक्रम सम्बन्धमा स्वास्थ्य मन्त्रालयको नेतृत्वमा सर्वपक्षीय आत्महत्या न्यूनीकरणसम्बन्धी संयन्त्र बनाई व्यापक जनचेतना फैलाउने, बागमती प्रदेशमा रहेका १३ वटै प्रदेशिक अस्पताल र आयुर्वेद चिकित्सालयमार्फत मानसिक रोगको निदान एवं उपचार सेवा प्रदान गर्ने, स्थानीय तहको साझेदारीमा समुदाय स्तरमा मानसिक स्वास्थ्यको स्क्रिनिङ र निदान एवं मनोसमाजिक परामर्शलाई सुदृढीकरण गर्ने, प्रदेश स्वास्थ्य नीतिको मस्यौदाको स्वीकृत गरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजानुपूर्व आर्थिक मामिला तथा योजना मन्त्रालयको रायका लागि पठाउने निर्णय भएको जनाइएको छ ।
पदभार ग्रहण कार्यक्रममा स्वास्थ्य मन्त्रालयमा नवनियुक्त स्वास्थ्यमन्त्रीलाई मन्त्रालयका सचिव बद्रीबहादुर खड्का, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार र डिन, स्वास्थ्य निर्देशनालयका निर्देशक दीपकप्रसाद तिवारी, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक श्री वसन्त अधिकारी एवं स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुखलगायत सम्पूर्ण कर्मचारीबाट स्वागत गरिएको थियो ।