आधुनिकताको नाममा धेरै मानिसहरू स्वस्थकर तथा पोषिलो दही, मोहीको सट्टामा बजारको हानिकारक पेयपदार्थ पिउने गर्छन्। ग्रामिण क्षेत्रमा समेत दूध, दही जस्ता पोषिलो पेयपदार्थ बेचेर विभिन्न ब्राण्डका पेयपदार्थ पिउँछन्। यस्ता पेयपदार्थले मोही, सर्वतलाई नै विस्थापित गर्दै गएका छन्।
अति गुलियो र रसायन मिसिएका पेयपदार्थले दाँत, पेट, हाडजोर्नी लगायत शरीरका अन्य अंगहरूमा विभिन्न प्रकारका समस्याहरू उत्पन्न गराउँछ। यस्ता पेय पिउनाले मोटोपन लगायत अनेक किसिमका रोगको शिकार भइन्छ। समाजका ‘ठूलाबडा’ र अभिभावकको खानपान अभ्यास, विज्ञापन बजार आदिकै प्रभावले होला, हाम्रा बालबालिका त्यही सिकेर ‘कोल्ड ड्रिंकको कुलतमा परेका छन्। यसले बालबालिकालाई सानैदेखि दीर्घ रोग हुने जोखिम बढेको छ। बालबालिका दीर्घ रोगले घेरिए परिवार र समाजमा मात्र होइन, देश विकासमै समस्या पर्छ।
पेयपदार्थ पिउने बानीले नशाकैजस्तो अम्मल लाग्छ
एक कोल्ड डिंक्सको अध्ययन गर्दा त्यसमा क्यान्सर पैदा गर्ने तत्व मापदण्ड भन्दा निकै बढी भएको पाइएको तथ्य थियो। द सेन्टर फर इन्भायरमेन्ट हेल्थले सो पेयपदार्थलाई रंगयुक्त बनाउन उपयोग गरिने रसायन तोकिएभन्दा निकै बढी भएको र यसमा क्यान्सर उत्पन्न गर्ने तत्व पाइएको सार्वजनिक गरेको हो।
सन् १९६९ मा जाम्बियामा एउटा ठूलै घटना भयो। त्यहाँका थुप्रै आमाहरूले कोल्डड्रिंक्स उत्तम ठानेर बालबालिकालाई बजारका प्रचलित कोल्ड ड्रिंक्सहरू खुवाए। आमाको दूधको सट्टा कोल्डड्रिंक्स खाने धेरै बालबालिका कुपोषणका कारण अस्पताल भर्ना हुन पुगे। अस्पताल भर्ना भएका मध्ये ५४ प्रतिशत बालबालिकालाई चिसो पेयपदार्थ खुवाइएको पत्ता लागेको थियो। त्यसरी कुपोषित भएका बालबालिकालाई फान्टा वेवी नामाकरण गरिएको थियो।
अमेरिकन डायबेटिक एशोसिएसन र अमेरिकन हार्ट एशोसिएसन दुवैले चिनी भएको कोल्ड ड्रिंकको उपभोग घटाउन आग्रह गरेका छन्। अमेरिकन डायविटिज एसोसिएसनले डायविटिज भए चिनीविनाको चिया,कम क्यालोरी भएको पेयपदार्थ वा कागती पानी मात्र पिउन सुझाव दिएको छ।
कोल्ड ड्रिंक्समा हुने हानिकारक तत्वहरू
चिसो पेय भनेको बास्ना, गुलियो स्वादलगायत फिँजहरू आउने ग्यासहरू राखिएको पानी हो। चिसो पेय बढी पिउनेको पिसावबाट बढी मात्रामा खनिज तत्वहरू जानसक्छ। शरीरबाट जति बढी खनिजको निष्कासन हुन्छ त्यती नै बढी हाड फुसफुसे भई कमजोर हुने, हड्डी वाथ सूजन हुने, थाइराइड ग्रन्थीका कमजोरी हुने, मुटुको धमनीका रोगहरू हुने, उच्च रक्तचाप र जस्ता स्वास्थ्य समस्याको जोखिम सामना गर्नुपर्ने हुन्छ।
क्याफिन
क्याफिन केन्द्रीय स्नायु प्रणालीलाई उत्तेजित गराउने र लत लगाउने तत्व हो। यसले कृत्रिम रुपमा शरीरलाई उत्तेजित गराउँछ र हृदयगती बढाउँछ। उत्तेजित अवस्थामा स्मरण शक्ति बढेको, स्फूर्ति बढेको, र थकाई मेटिएको अनुभव हुन्छ। तर यो क्षणीक हुन्छ। शारीरिक कसरतपछि चिसो पेयपदार्थ पिउँदा शरीरमा क्यालसियम र पोटासियमको कमी हुन्छ। जसका कारण मांशपेशीहरू सुन्निन सक्छन् र कसरतपछि यथास्थितिमा फर्कन धेरै समय लाग्छ।
चिसो पेयपदार्थमा हुने क्याफिन र चिनी दुवैले क्याल्सियम नष्ट गर्ने र हाड खियाउने गर्दछन्।
चिनी
चिनी सबै चिसो पेयहरूमा पाईने एक प्रमुख तत्व हो। यसमा धेरैमात्रामा फ्रक्टोज वर्गको चिनी वा त्यस्तै विभिन्न स्वादहरू मिश्रित तरल पदार्थहरू राखिएको हुन्छ। अधिकांश चिसो पेयमा ४ देखि १५ चिया चम्चासम्म चिनी घोलिएको हुन्छ। एक चियाचम्चा चिनीले १६ क्यालोरी शक्ति पैदा गर्छ। १५ चम्चा चिनीमा २ सय ४० क्यालोरी अर्थात ५ चम्चा नौनी खाए बराबरको क्यालोरी उत्पन्न हुन्छ। बढी क्यालोरीयुक्त खाद्य वस्तुले शरीरको तौल बृद्धि गर्छ।
विश्व स्वास्थ्य संघले प्रकाशन गरेको एक बुलेटिन अनुसार अहिले चिनी मिसाइएका पेयपदार्थको उपभोग विश्वमा नै बढिरहेको छ। अध्ययन गर्दा खानासँग सम्बन्धित रोगहरू जस्तोः टाइप २ डायविटिज र अधिक मोटोपनको बृद्धिको एउटा मुख्य कारक तत्व पेयपदार्थ भएको पाइएको छ।
कृत्रिम बास्ना
चिसो पेयबाट आउने बास्नाहरू सबै कृत्रिम हुन्छन्। टारटजिन नामक रङ्गले सुन्तले पहेँलो रंग दिन्छ। यसलाई क्यान्सरको सम्भावित कारक पनि मानिएको छ। धेरैजसो चिसो पेयहरूमा सोडियम पनि हुन्छ। डाइट सोडामा सोडियमको परिमाण ज्यादा हुन्छ। १८० मिलि डाइट सोडामा ३१ मिलीग्राम सोडियमको परिमाण भेटिएको छ। सोडियम बढी हुँदा शरीरमा अनेक प्रकारका स्वास्थ्य समस्या हुन्छन्।
दुखद दृश्य
सरकारी र निजी अस्पतालका क्यान्टिनमा प्याकेट बन्द पत्रु खाना, केक, चिसो पेय पदार्थ धमाधम बेचिन्छन्। मानिसहरू मुटु र मिर्गौला खराब पार्ने तिनै वस्तु धमाधम खाइरहेका हुन्छन्, अस्पतालभित्र चाहिं परिवारका कुनै सदस्यको मुटु वा मिर्गौलाको उपचार चलिरहेको हुन्छ। (लेखक डा.अरुणा उप्रति पोषणविद् )