काठमाडौं । मस्तिष्काघातबाट बच्न उच्च रक्तचाप, मधुमेह र मोटोपनलगायतका समस्याबाट मुक्त हुनुपर्नेमा सम्बन्धित क्षेत्रका विज्ञले सुझाव दिएका छन् ।
नेपाल मेडिसिटी अस्पतालद्वारा आज आयोजित कार्यक्रममा वरिष्ठ स्नायुरोग विशेषज्ञ प्रा डा. गोपालरमण शर्माले मस्तिष्काघातको उपचार महङ्गो रहेको भन्दै मस्तिष्काघात भएपछि छिटोभन्दा छिटो अस्पताल ल्याउनु आवश्यक रहेको बताए ।
उनले भने, “मस्तिष्काघात भएका बिरामीलाई छिटो भन्दा छिटो अस्पताल नल्याए पक्षघात हुने वा बचाउन कठिन हुने अवस्था भएकाले बढीमा चार/पाँच घण्टाभित्रै अस्पताल ल्याइसक्न सम्बन्धित सबैसँग अनुरोध गर्दछु ।”
स्नायुरोग विशेषज्ञ डा. बाबुराम पोखरेलले व्यक्तिको अनुहार बिग्रने, शरीरको सन्तुलनसहित आँखाको ज्योति गुम्ने, बोली लरबरिने र हातले काम गर्न छाड्नेजस्ता सङ्केत मस्तिष्काघातको लक्षण हुनसक्ने भन्दै त्यसतर्फ सचेत भई बिरामीलाई अस्पताल लैजान सुझाव दिए । विश्वमा करिब १ करोड ५० लाख मानिसको ब्रेन स्ट्रोकका कारण मृत्यु हुने गरेको तथा ५० लाख मानिसहरुमा अपांगताको समस्या आउने गरेको उनले बताए । जसमध्ये करिब ५० लाख ले मात्रै गुणस्तरीय स्वास्थ्य सेवा पाउने गरेको उनि बताउछन् ।
स्नायुरोग विशेषज्ञले नसर्ने रोगका रुपमा परिचित मस्तिष्काघातबाट बर्सेनि हजारौँ नेपालीको मृत्यु हुने गरेको, पक्षघातको समस्या झेल्नुपरेको र ठूलो धनजनको नोक्सान भइरहेको उल्लेख गर्दै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गरेका थिए ।
अस्पतालले मस्तिष्काघातसम्बन्धी समस्या समाधानका लागि चौबिसै घण्टा सेवा उपलब्ध गराइएको, चिरफार शल्यक्रिया (ओपन सर्जरी) र सानो प्वाल बनाई (न्यूरो इन्टरभेन्सन) विधिबाट शल्यक्रिया गर्दै आएको र निकट भविष्यमा ‘कम्प्रिहेन्सिभ स्ट्रोक सन्टेर’ सञ्चालन गर्न लागेको डा. प्रसन्ना कार्की बताइन् । यस सेन्टर मार्फत बिरामीलाई मस्तिष्काघात भएको ४ देखि ५ घण्टामै अस्पताल आईपुगे तत्काल सेवा प्रदान गरिने उनको भनाई छ । उनले समयमै अस्पताल ल्यए उपचार सम्भव रहेको जानकारि दिईन् ।