झम्झमाउनु तथा निदाउनु भनेको शरीरका विभिन्न भागमा छोएको थाहा पाउने ज्ञान हराउनु हो। झम्झमाउनु भनेको त्यस्तो अवस्था हो जसमा कुनै भागमा मसिनो सियोले कुपकुपी कोपेको जस्तो चुभनको अनुभव हुन्छ । यो विशेष गरेर पैताला र हातमा हुन्छ र यसलाई अंग्रेजीमा पिन्स एण्ड निडल्स भनेर चिनिन्छ । निदाउनु भनेको कुनै प्रकारको स्पर्शज्ञान नहुनु हो ।
यस्तो किन हुन्छ ?
लामो समय खुट्टा खप्ट्याएर बसियो या हात माथी थिची राखियो भने र तिनमा रहेका नशाहरु अंठिए भने स्नायु नशामा रक्त प्रवाह रोकिन गई हात वा खुट्टा निदाएको या झम्झमाएको अनुभूति हुन्छ । कहिलेकाहीं कुनै रोगका कारण पनि मस्तिष्कमा सन्देश पुर्याउने नशाहरु च्यापिने वा रक्तप्रवाह मा कमी आउने भई सम्बन्धित अंगहरु निदाएको वा झम्झमाएको अनुभूति गरिन्छ । यो कहिलेकाहीं मधुमेहको या स्पाइनल कर्ड को समस्याको द्योतक पनि हो ।
झम्झमाउनु वा निदाउनु भनेको त्यस्तो नरमाइलो अवस्था हो जसमा कुनै निश्चित भागमा थुप्रै मसिना सियाहरुले कोपिरहे जस्तो र चलाउँदा झनन्न भए जस्तो अनुभूति हुन्छ । सो भागमा छोएको थाहा पाइँदैन । यहाँसम्म कि निदाएको भागमा कुनै सियोले घोच्न खोज्ने हो भने पनि थाहा हुँदैन ।
कारणहरु :
निदाउनु र झम्झमाउनुका पछाडी विभिन्न कारणहरु हुन सक्छन् । ती मध्ये केही महत्वपूर्ण कारणहरुको मात्र तल चर्चा गरिन्छ–
अ. स्नायु नशामा आघात : कुनै पुरानो चोटपटक वा प्रोल्याप्स्ड डिस्क (मेरुदण्डको हाडमा क्षति हुनाले हुने समस्या) जस्ता समस्यामा स्नायुनशामा आघात पुग्न गई निदाउनु र झम्झमाउनुका लक्षण देखा पर्दछन् । जब स्नायुनशामा क्षति पुग्छ वा अँठ्ठिन्छ तब यसले मस्तिष्कसम्म सूचना पठाउन सक्दैन र सम्बन्धित अंग निदाएको र झम्झमाएको अनुभव हुन्छ । यसले कहिलेकाहीं सो अंगको क्रियाकलापमा पनि हानि पुर्याउँछ । कहिलेकाहीं कतै नाडी च्यापिँदा हात यसरी निदाउने र झम्झमाउने गर्छ कि हातले समात्न नसक्ने र अत्यन्त पीडा हुने जस्तो समस्या पनि आउन सक्छ । तेसलाई कार्पेल टनेल सिन्ड्रोम भन्दछन् ।
आ. चाप : यदि लामो समयसम्म एउटै स्थिति मा बसिराखियो भने वा साँघुरा कपडा लगाइयो भने स्नायुनशाहरु मा अवरोध पुग्न गई निदाउनु र झम्झमाउनुको अवस्था आउँछ । तर यो अवस्था त्यति चिन्तनीय होइन । अवरोधलाई हटाउनासाथ विस्तारै समस्यामा सुधार आउँछ ।
इ. चोटपटक : चोटपटक लाग्न गई कुनै नशामा क्षति पुग्यो भने पनि शरीरको सम्बन्धित भागमा निदाएको र झम्झमाएको अनुभूति हुन्छ । जस्तो कि काँध को कुनै स्नायुमा क्षति पुग्यो भने हातमा र ढाडको कुनै नशामा क्षति पुग्यो भने खुट्टामा यो समस्या महसुस गरिन्छ ।
ई. मधुमेह : धेरै वर्षदेखि रगतको चिनीको मात्रामा नियन्त्रण भएन भने हात र खुट्टामा वा हात र खुट्टाका औंलामा जाने स्नायुतन्त्रमा क्षति पुग्न गई ती स्थानहरु मा निदाउने र झम्झमाउने हुन सक्छ । यसलाई बाहिरी न्यूरोप्याथी भनिन्छ । जब तपाईंका हात र खुट्टामा स्पर्श चेतना हुँदैन तब पोलिने, लड्ने र ती अंगहरुमा अरु चोटपटक लाग्ने सम्भावना हुन्छ ।
उ. औषधिहरु : केही औषधिहरुको दुष्प्रभावका रुपमा स्नायुतन्त्रमा हानि हुन गई शरीरको सम्बन्धित भाग निदाउने तथा झम्झमाउने हुन सक्छ । त्यस्ता औषधिहरुमा क्यान्सरका औषधिहरु, क्षयरोग का औषधिहरु, AIDS का विरुद्ध दिइने औषधिहरु, मेट्रोनिडाजोल इत्यादि पर्दछन् ।
उपचार का विकल्पहरु :
तपाईंको शरीर निदाउने तथा झम्झमाउने समस्या लाई राम्ररी अध्ययन गरे पछि मात्र त्यसका लागि उपचार जरुरी छ कि छैन थाहा पाउन सकिन्छ । यदि जरुरी छ भने कस्तो औषधि, शल्यक्रिया वा फिजियोथेरापी चाहिन्छ त्यसको निर्क्यौल गर्नुपर्ने हुन्छ । कतिपय गम्भीर अवस्थाहरु मा इमर्जेन्सी कक्ष मा नै पुगेर तत्कालै उपचार गरिहाल्नु पर्ने पनि हुन्छ र कतिपय अवस्थाहरु लाई ओपीडी कै नियमित जाँच बाट उपचार गरे पनि निको हुने हुन्छ । न्यूरोलोजिष्ट सँग वा हाडजोर्नी विशेषज्ञ सँग भेट्नुपर्ने रहेछ भने पनि तपाईंलाई डाक्टर ले सल्लाह दिने छन् ।
जे भए पनि केही कुराहरु छन् जसलाई तपाईं स्वयं ले अपनाएर आफ्नो समस्या लाई केही हद सम्म कम गर्न वा निराकरण गर्न सक्नु हुने छ । जो यसप्रकार छन्–
- कसेर लगाएका कपडाहरु लाई खुकुलो पार्नु
- गह्रौं वस्तु नउचाल्नु, एउटै असजीलो आसन मा नबस्नु तथा समय समयमा आसन परिवर्तन गरिरहनु जसले गर्दा घाँटी र ढाडको समस्या हुँदैन ।
- कुनै काम गर्दा नियमित रुपमा विश्रान्ति लिनु, योग, व्यायाम गर्नु तथा राम्रो तरीकाले बस्ने अभ्यास गर्नु
- हात–खुट्टा हल्लाउनु, औंलाहरु चलाउनु, बसिरहेको या अपठेरोसँग सुतिरहेको अवस्था छ भने उठ्नु राम्रो हुन्छ
- धुम्रपान र अत्यधिक मादक पदार्थ सेवन नगर्नु
- निदाउने तथा झम्झमाउने समस्या ल्याउने खालका औषधिको सेवन सकेसम्म नगर्नु
- मधुमेह मा रगत मा भएको चिनी को स्तर नियन्त्रण सँगै व्यायाम र नियमित परीक्षण गर्नु
- सम्भव हुन्छ भने पूर्ण शाकाहारी (दूध पनि नखाने) नहुनु । तर सम्भव छैन भने डाक्टर को सल्लाह लिएर भिटामिन बी १२ अतिरिक्त रुप मा सेवन गर्नु
- यदि गम्भीर किसिम को निदाउने तथा झम्झमाउने समस्या छ भने गाडी चलाउने जस्ता जोखिमयुक्त काम नगर्नु
- डाक्टर को सल्लाह लिएर नियमित फिजियोथेरापी गर्नु