हावामा भएका एलर्जी बनाउने तत्वले नाकभित्रको छालासँग प्रतिक्रिया गर्छ र मानिसलाई रुघा लाग्ने गर्छ । यस्तो एलर्जीले हुने रुघाका कारण नाकबाट पानी बग्ने, बन्द हुने, चिलाउने, आँखा रातो हुने, चिलाउने आदि समस्या देखिने गर्छ । यसैगरी, यस्तो रुघा मौसमी र बाह्रमासे गरी दुई प्रकारका हुन्छन् । यी हुन् यसका केही जटिलता :
जटिलता
-यस्तो रुघाले आवर्तक पिनासको समस्या निम्त्याउने प्रबल समस्या हुन्छ ।
-यस्तो रुघाकै कारण नाकमा मासु पलाउने समस्या पनि हुन सक्छ । यसले निकै दुःख दिने गर्छ ।
-यसकै कारण कान पनि पाक्ने गर्छ ।
-यसले दाँतसम्बन्धी विभिन्न समस्या निम्त्याउने गर्छ ।
-दमलाई हामी फोक्सोसम्बन्धी समस्याको रूपमा लिन्छौँ । तर, यस्तो प्रकारको एलर्जीले पनि दमको समस्या निम्त्याउन सक्छ ।
रोकथाम
यस्तो समस्यालाई अर्थात् एलर्जीबाट रुघा सुरु हुनुअगाडि नै यसको रोकथाम गर्न आवश्यक हुन्छ । यसको रोकथामको उपाय भनेको एलर्जी बनाउने तत्वको पहिचान गरी त्यसबाट जोगिनु हो ।
एलर्जिक रुघाको उपचार
-कुनै पनि एलर्जिक रुघा पूर्ण रूपमा निको हुँदैन । गर्न सकिने भनेको के मात्र हो भने रोकथामका लागि उपचार । यसलाई रोकथाम गर्न अहिलेसम्म दुईवटा विधिको अभ्यास गरिँदै आएको छ ।
-ती दुई विधिमध्येको एक हो, औषधि खानु । यस्तो रोगलाई रोकथाम गर्न विभिन्न समूहका औषधि उपलब्ध छन् । जस्तो कि एन्टिहिस्टामिनिक्स, कोर्टिकोस्टेरोइड, सोडियम क्रोमोग्लिकेट, सिम्पाथोमिमेटिक आदि । यस्ता औषधिको प्रयोग गरी लक्षणहरूको उपचार गरिन्छ ।
अर्को विधि हो, इमुनोथेरापी । औषधिबाट निको हुन नसकेको आवस्थामा यस्तो खालको थेरापीबाट उपचार गरिन्छ ।
केही खोज
यस्तो समस्याबारे विश्वका उत्कृष्ट स्वास्थ्य वैज्ञानिक र डाक्टरहरूले नयाँ उपचार विधिका लागि निरन्तर अध्ययन गरिरहेका छन् । जसबाट केही नयाँ समूहका औषधि पत्ता लगाएका छन् । ती लियुकोट्राइन रेकेप्टोर एन्टागोनिस्ट, मस्ट सेल स्टाब्लिजर, मोन्टेलुकास्ट आदि हुन् । यी औषधि उपचारमा लाभदायक हुने प्रमाणित भएको छ ।
यसका लागि लेजर थेरापी पनि नयाँ उपचार विधि हो । यो पनि पछिल्लो समय चिकित्सा विज्ञानले पत्ता लगाएको छ ।