काठमाडौं। स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १० औं राष्ट्रिय शिखर सम्मेलन चैत २८, २९ र ३० गते हुने भएको छ ।
“दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि स्वास्थ्य र जनसंख्या सम्बन्धी अनुसन्धान र नवप्रवर्तन”भन्ने नाराका साथ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले चैत २८, २९ र ३० गते काठमाडौंको बौद्धस्थित होटल ह्यात रिसिडेन्सीमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको १० औं राष्ट्रिय शिखर सम्मेलन आयोजना गर्न लागेको हो।
स्वास्थ्य क्षेत्रका अनुसन्धानकर्ताहरू, नीति निर्माताहरू विकासका साझेदारहरू बीच छलफल गरी नेपाल सरकारलाई स्वास्थ्य क्षेत्रका मुद्दाहरुको अन्तर विषयात्मक नविनतम अनुसन्धानद्वारा सम्बोधन गर्ने उद्देश्यले हरेकवर्ष परिषद्ले शिखर सम्मेलनको आयोजना गर्दै आइरहेको छ । सम्मेलनले स्वास्थ्य र जनसंख्या अनुसन्धान प्रवर्द्धन गर्न र राष्ट्रिय स्वास्थ्य प्राथमिकताहरू छलफल गर्न अनुसन्धानकर्ताहरू, स्वास्थ्य तथा जनसंख्याका साझेदारहरू, शिक्षाविद्हरू, चिकित्सकहरू र नीति निर्माताहरूलाई एकै मञ्चमा ल्याउने सम्मेलनको उदेश्य रहेका छ।
तीन दिनसम्म चल्ने उक्त सम्मेलनमा ७५ वटा अनुसन्धानमूलक पेपरहरुको मौखिक तथा २६३ वटा पोष्टरहरुको प्रस्तुतीकरण हुने छ । सम्मेलनमा प्रत्येक दिन स्वास्थ्य तथा जनसंख्या क्षेत्रका अनुसन्धानका विभिन्न विषयमाथि सामूहिक छलफल समेत हुने छन् । नेपालको वित्तिय स्वास्थ्य, प्रमाणमा आधारित औषधि र चिकित्सा अभ्यास, प्रभावकारी र उत्तरदायी स्वास्थ्य प्रणाली, गुणस्तरीय र समतामूलक स्वास्थ्य सेवा, वातावरणीय स्वास्थ्य र जलवायु परिवर्तन, सर्ने तथा नसर्ने रोगहरू, मानसिक स्वास्थ्य लगायतका १५ वटा भन्दा बढी विषयमा सामूहिक छलफल हुने छ ।
यस्तै सम्मेलनमा विभिन्न १० वटा विधामा अवार्डहरू प्रदान गरिने छ । प्रस्तुत भएका उतकृष्ट मौखिक प्रस्तुतीकरण र पोस्टर प्रस्तुतीकरणहरु मध्येबाट एक एक जनालाई अवार्ड प्रदान गरिनेछ। साथै अन्य विधाहरु स्वास्थ्य अनुसन्धान पुरस्कार, मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार (चिकित्सकहरुलाई मात्र), उत्कृष्ट स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार, मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार (परिषद् कर्मचारीलाई मात्र), स्वास्थ्य अनुसन्धान तथा कृति प्रकाशित गरी ६० वर्ष उमेर पुगि सकेको १ जना अनुसन्धानकर्तालाई लाईफ टाईम एचिभमेन्ट पुरस्कार बाट सम्मानित गरिनेछ। साथै परिषद्मा वर्षभरि उत्कृष्ट काम गर्ने एक जना स्थायी कर्मचारीलाई बेस्ट प्रफर्मेन्स अवार्ड पनि प्रदान गरिनेछ।
यसै गरी परिषद्को जर्नलमा एक वर्ष भित्र प्रकाशित वैज्ञानिक लेखहरुमध्येबाट उत्कृष्ट वैज्ञानिक लेखलाई Journal of Nepal Health Research Council (JNHRC) Award -२०२३ प्रदान गरिनेछ । यस्तै सम्मेलनमा युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार, मृगेन्द्र सम्झना मेडिकल दृष्ट ओरेशन अवार्ड समेत प्रदान गरिने छ ।