विश्व स्वास्थ्य सङ्गठनको निर्देशिका अनुसार नेपाल सरकारले कोरोनाभाइरस सङ्क्रमितले सङ्क्रमणमुक्त प्रमाणित हुन नेगेटिभ रिपोर्टका लागि परीक्षण गर्नु आवश्यक छैन।
सरकारले चौध दिनपछि आइसोलेशन अन्त्य गर्न सकिने बताइरहे पनि अधिकांश सङ्क्रमितले परीक्षणको नतिजा नेगेटिभ नआउँदासम्म दोहोर्याएर परीक्षण गरिरहेको पाइन्छ।
यसबाट व्यक्ति र राज्यको सीमित श्रोतसाधनको अपव्यय हुनुका साथै सङ्क्रमितको परीक्षणका रिपोर्ट आउन ढिलाइ हुँदा कारण यो फैलिन समेत मद्दत पुगेको विज्ञहरूले बताएका छन्।
तर सङ्क्रमितहरू भने नेभेटिभ नतिजा नआएसम्म ढुक्क हुन नसकिने बताउँछन्।
खासगरी सहरी क्षेत्रमा अधिकांशले नतिजा नेगेटिभ नआउँदासम्म पटक-पटक परीक्षण गराउने गरेको पाइएको छ।
पोखरा महानगरपालिका-१७ की चिनु गुरुङले परीक्षणको नतिजा नेगेटिभ आएपछि मात्र ढुक्क भएको बताइन्।
सङ्क्रमणको लक्षण बाँकी छैन भने परीक्षण आवश्यक छैन सरकारी प्रचार आफूलाई हालै मात्र जानकारी भएको बताउँदै गुरुङले आफ्ना श्रीमान्को तेस्रो पटक परीक्षण नगराउने मनस्थिति बनाएको बताइन्।
पीसीआर परीक्षणको अनुमति पाएको निजी क्षेत्रको प्रयोगशाला लाइफ केयर डाइग्नोष्टिक्सका प्याथोलोजिष्ट डा. सुमन पौडेलका अनुसार करिब ८० प्रतिशत व्यक्तिहरू पुनः परीक्षणका लागि आउने गरेका छन्।
कोरोनाभाइरसको कुनै लक्षण बाँकी छैन भने कोरोनाभाइरस सङ्क्रमण भएको नौ दिनपछि नै परिवारमा घुलमिल गर्न सकिने विश्व स्वास्थ्य सङ्गठनको नयाँ निर्देशिका भएको उनी बताउँछन्।
तर त्यसको पालना नहुँदा वास्तवमा प्रयोगशाला सेवा अत्यावश्यक पर्नेहरूले पाउन कठिन भएको डा. पौडेलको भनाइ छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदविन्दु शर्मा भन्छन्, "कोरोनाभाइरसको सङ्क्रमणबाट निको भएपछि परीक्षण गर्नु स्रोतसाधन र समयको अपव्यय हो भनेर व्यापक प्रचार प्रसार गरिएको छ।
डा. शर्माले अहिले पुनः परीक्षण गराउने प्रवृत्तिमा क्रमशः सुधार भएको बताए।
बिबिसी