काठमाडौं । सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन सरकार गम्भीर बन्नुपर्ने राष्ट्रपति रामचन्द्र पौडेलले बताए । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा आजदेखि सुरु भएको दशौं राष्ट्रिय शिखर सम्मेलनमा बोल्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।
उक्त कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले संविधानले प्रत्येक नागरिकको पहुँचमा आधारभुत स्वास्थ्य सेवा पुग्नेगरी व्यवस्था गर्नका लागि प्राथमिकता दिएको बताउँदै संविधानको प्राथमिकतालाई कार्यान्वयनमा ल्याउनेतर्फ सरकारको ध्यानाकर्षण गराए । परिषद्ले स्वास्थ्य क्षेत्रमा गरेका अध्ययन तथा अनुसन्धानले राष्ट्रिय स्वास्थ्य नीति, रणनीति तथा कार्ययोजना बनाउन योगदान पुर्याएको बताए ।
उनले नसर्ने रोग र जलवायु परिवर्तनका कारण हुने रोगका विषयमा अनुसन्धान अगाडि बढाउन आग्रह गरेका छन् । स्वास्थ्यको क्षेत्रमा अध्ययन, अनुसनधानलाई महत्व दिनुपर्ने उनको भनाई छ । अध्ययन तथा अनुसनधानलाई आगामी दिनमा अझै सक्रिय भएर अगाडि बढ्नुपर्ने र स्वास्थ्यमा आजको आवश्यकतालाई ध्यान दिन वैज्ञानिकहरूलाई आग्रह समेत गरे ।
सरकारले स्वास्थ्य अनुसन्धानमा लगानी बढाउन र नवप्रवर्तनलाई प्रोत्साहित गर्नु जरुरी रहेको उल्लेख गरे। स्वास्थ्यमा सर्वब्यापी पहुँच सुनिश्चित गर्न, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अवलम्बन गर्ने नीति तथा रणनीतिहरूलाई सघाउन तथ्यमा आधारित प्रमाणहरू जुटाउने कार्यमा तदारुकताका साथ लागिरहने विश्वास पनि व्यक्त गरे।
स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सरकारको स्वास्थ्यका नीति पूरा गर्न समेत अनुसन्धान महत्वपूर्ण रहेको बताए । उनले दिगो विकास लक्ष्य पूरा गर्न अनुसन्धानले सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गरे । आधुनिक समयमा स्वास्थ्य क्षेत्रमा रहेका विभिन्न समस्याको पहिचान गर्न तथा ती समस्याको समाधानका लागि यस क्षेत्रमा निरन्तर अध्ययन, अनुसन्धान र विकास हुन पनि जरुरी रहेको बताए ।
साथै तीन दिनसम्म चल्ने उक्त सम्मेलनमा ७५ वटा अनुसन्धानमूलक पेपरहरुको मौखिक तथा २६३ वटा पोष्टरहरुको प्रस्तुतीकरण हुने छ । सम्मेलनमा प्रत्येक दिन स्वास्थ्य तथा जनसंख्या क्षेत्रका अनुसन्धानका विभिन्न विषयमाथि सामूहिक छलफल समेत हुने छन् । नेपालको वित्तिय स्वास्थ्य, प्रमाणमा आधारित औषधि र चिकित्सा अभ्यास, प्रभावकारी र उत्तरदायी स्वास्थ्य प्रणाली, गुणस्तरीय र समतामूलक स्वास्थ्य सेवा, वातावरणीय स्वास्थ्य र जलवायु परिवर्तन, सर्ने तथा नसर्ने रोगहरू, मानसिक स्वास्थ्य लगायतका १५ वटा भन्दा बढी विषयमा सामूहिक छलफल हुने छ ।