काठमाडौं - बालबालिकाको शारिरीक, बौद्धिक, सामाजिक, भाषिक तथा संवेगात्मक विकासमा राम्रो स्वास्थ्य, पर्याप्त पोषण, प्रारम्भिक सिकाईको अवसर, सकारात्मक उत्प्रेरणा र सुरक्षा तथा संरक्षणको महत्व हुन्छ । यी सबै पक्षहरूको संयोजन र सुनिस्चितता गर्ने प्रमुख दायित्व अभिभावकहरूको हो । अहिलेको सामाजिक तथा आर्थिक परिवेशमा धेरै आमाबाबुहरू दुवै घरबाट बाहिर गएर काम गर्छन् । यसले गर्दा आफ्ना बालबालिकालाई पर्याप्त समय र उत्प्रेरणा दिन सकिरहेका हुदैनन्।
बालबालिकासँग सम्बन्धित केही लेखहरूमा सामान्य परिस्थिति र वर्तमान बन्दाबन्दी (लकडाउन) को परिस्थितिमा बालबालिकालाई कसरी सहयोग गर्न सकिन्छ, उनीहरूलाई के कस्ता सकारात्मक तथा सिर्जनात्मक कार्यहरूमा ब्यस्त राख्न सकिन्छ जसले गर्दा उनीहरूको सिक्ने प्रकृयालाई निरन्तरता दिन सकियोस् भन्ने जस्ता विषयमा विभिन्न विचारहरू प्रकाशन भएका छन् जुन निकै महत्वपूर्ण छन् ।
आमाबाबु दुबै वा दुईमध्ये कोही एकजना कामको सिलसिलामा घरभन्दा टाढा हुनु सामान्यजस्तै भइसकेको हाम्रो समाजमा ती आमाबाबुले आफ्ना बालबालिकालाई सकारात्मक उत्प्रेरणा कसरी दिने रु बालबालिकाको विकास प्रकृयामा कसरी सघाउने रु त्यस्ता आमाबाबुले अहिलेको कोरोना भाइरसको महामारीको अवस्थामा कसरी टाढाबाट आफ्ना बालबालिकालाई हेरचाह गर्ने ?
अभिभावकहरू आफ्नो घर, परिवार र छोराछोरीहरूबाट टाढा हुँदा सम्झना आइरहनु र छोराछोरीले सिक्नैपर्ने आधारभूत कुराहरू पनि सिकाउन नपाइने हो कि , नराम्रा बानीहरू पो सिक्छन् कि भन्ने चिन्ता हुनु स्वभाविक नै हो । तर यसका उपायहरू छन् ।
घरभन्दा बाहिर हुँदा पनि टेलिफोन, मेसेन्जर, भाइबर लगायतका सामाजिक सञ्जालहरूको माध्यमबाट बालबालिकासँग नियमित रुपमा संवाद र अन्तरक्रिया गर्न सकिन्छ । यसले उनीहरूको भाषिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदछ । कथा, कविता वाचन गरेर, सँगै पढेर, प्रश्नोत्तर गरेर पनि उनीहरूको कल्पनाशक्ति तथा तार्किक क्षमता विकासमा सकारात्मक योगदान पुर्याउन सकिन्छ ।
( युनिसेफले तयार पारेको लेख)