काठमाडौं - मनसुन सुरु हुँदैछ । त्यसैले आकाशमा गड्याङगुडुङ र चट्याङ परेको सुनिन थालेको छ । त्यसो हुँदा आकाशमा आगोको झिल्काजस्तै लामो प्रकाश देखिन्छ । त्यो विशेष प्रकारको विद्युतीय प्रवाह हो । त्यो समयमा जमिनसम्म नै प्रवाहित हुन्छ । त्यसैलाई चट्याङ भनिन्छ ।
वर्षा र हुरीबतासको समयमा र बर्सात्मा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिमा प्रवाहित वायु एकापसमा ठोक्किन्छन् । त्यसरी ठोक्किँदा ठूलो आवाजसहित उच्च भोल्टको विद्युतीय विस्फोटबाट पैदा हुने विद्युतीय लहर नै चट्याङ हो ।
सूर्यको तापले पानीका विभिन्न स्रोतबाट पानीका कणहरू वाष्पीकरण भई आकाशतिर जान्छन् । तिनै पानीका कणहरू चिसिँदै गएर बादलको रूप लिन्छन् तर सबै बादल एकै प्रकारका हुँदैनन् । तिनीहरू विभिन्न तापक्रममा रहन्छन् । जब बादलमा पानीको मात्रा बढ्दै जान्छ बादल बाक्लिँदै जान्छ ।
चट्याङबाट बच्ने उपाय
- चट्याङ पर्ने अवस्था देखिएमा खुला ठाउँमा तथा छत नभएको सवारीसाधनमा भएमा सुरक्षित ठाउँमा जानुपर्छ ।
- चट्याङ परेको समयमा अग्ला स्थान, टावर र ठूला रुखमुनि ओत लाग्नु हुँदैन । प्रायः जमिन र बादलको दूरी कम भइरहने पहाडी भूभागमा (बढी चट्याङ पर्ने सम्भावना रहेकाले पानी परेका वेला यस्तो ठाउँमा बस्नुहुँदैन ।
- दिउँसो ३ देखि ४ बजेसम्मको समयमाचट्याङ पर्ने सम्भावना बढी हुन्छ । तसर्थ, चट्याङ पर्ने संकेत देखिएका वेला घरमै बस्न उचित हुन्छ ।
- चट्याङप्रतिरोधी घर बनाउनुपर्छ । घरमाथि तामाको रड राखेर घरमुनि माटोमा जिआई पाता गाडेमा चट्याङको जोखिम हुँदैन ।
- चट्याङ परेको वेला विद्युतीय सामग्री र तारजडित टेलिफोन प्रयोग गर्नु हुँदैन । साथै, यो वेला धातुको तारबारनजिक बस्नु हुँदैन ।