ग्रामिण भेगका महिलाहरुमा देखिने पाठेघर खस्ने समस्या एक प्रमुख तथा जटिल समस्या हो । यसलाई हाम्रो समाजमा ‘आङ खस्ने’ समस्या पनि भनिन्छ ।
कतिपय ग्रामिण भेगका महिलाहरुले यसलाई सामान्य रुपमा लिने गर्छन् । उनीहरुले यसलाई स्वास्थ्य समस्याको रुपमा नभई बच्चा भएपछि हुने स्वभाविक असरका रुपमा लिने गरेको पाईन्छ । हाम्रो परिवार तथा समाजमा प्रजनन् अंगको बारेमा निकै न्यून मात्रामा छलफल हुने भएकाले पनि यो समस्या महिलाहरुको लागि घातक हुने गरेको छ । अर्को तर्फ पाठेघर खस्नुलाई अघिल्लो जन्मको पाप हो भन्ने गलत मान्यताले पनि महिलाहरु पीडित बन्न बाध्य भएका छन् ।
तर वास्तवमा यो महिलाहरुमा देखिने शारिरीक समस्या मात्रै हो । पाठेघर खस्नु भनेको महिलाको शरीरमा पाठेघर रहनुपर्ने निश्चित ठाउँ छाडेर योनीबाट बाहिर आउनु हो । यो समस्या मुख्यतया पहिलो बच्चा पाएको महिला तथा धेरै बच्चा पाएका महिला जोसुकैलाई हुन सक्छ ।
पाठेघर खस्नुका कारणः
गर्भाशयलाई बाँधेर राख्ने नशाहरु कमजोर हुँदा पाठेघर तल खस्न पुग्छ । यस्ता छन् पाठेघर खस्नुका मुख्य कारणहरुः
– सानै उमेरमा विवाह गर्नु
– कम उमेरमा बच्चा जन्माउनु तथा गर्भान्तर नगरी बर्षेनी बच्चा जन्माउनु
– बच्चा जन्मिसकेपछि चाँडै साल झरेन भनेर बल प्रयोग गरी साल निकाल्नु
– सुत्केरी अवस्थामा टुक्रुक्क बसेर लुगा धुनु वा गह्रौँ कामहरु गर्नु
– गर्भवती वा सुत्केरी अवस्थामा राम्रो स्याहार नपाउनु
पाठेघर खस्दा देखिने लक्षणहरुः
यस्तो बेला टुक्रुक्क बस्दा केही अप्ठ्यारो हुन्छ र ढाड पनि दुख्छ । खोक्दा, टुक्रुक्क बस्दा, बल गरेर कन्दा पाठेघरको मुख योनीको प्वालमा देख्न सकिन्छ । यस्तो अवस्थामा पाठेघरले पिसाबको थैलीलाई थिच्ने भएकोले छिनछिनमा पिसाब लाग्ने, कम्मर दुख्ने, खोक्दा, भारी बोक्दा योनीको मुखमा केही डल्लो आएर बसेको जस्तो हुन्छ ।
पाठेघर खस्नबाट बच्ने उपायहरुः
– किशोरीहरुलाई पोषिलो खाना खुवाउने ।
– कम्तिमा २० वर्ष पुगेपछि मात्र छोरीको विवाह गर्ने ।
– गर्भवती अवस्थामा कम्तिमा चारपटक र सुत्केरी अवस्थामा तीन पटक स्वास्थ्य जाँच गराउने ।
– स्वास्थ्य संस्थामा गई दक्ष प्रसुतिकर्मीबाट प्रसुति गराउने ।
– गर्भावस्था र सुत्केरी अवस्थामा पोषिलो खाना पर्याप्त मात्रामा खाने ।
– सुत्केरी भएको ६ हप्तासम्म आराम गर्ने ।
– गर्भावस्था र सुत्केरी अवस्थामा गहृौ भारी नबोक्ने ।
– दोस्रो बच्चाको लागि कम्तिमा २ वर्ष पर्खने ।