बाँके । भेरी अस्पताल नेपालगन्जमा रेबिजविरुद्धको खोप अभाव भएको छ ।
भेरी अस्पतालका सूचना अधिकारी डाक्टर सङ्केत रिजालले १५ दिन देखि खोपको अभाव भएको जानकारी दिए। माग बढे पनि अस्पतालमा खोप अभाव भएपछि सेवाग्राहीलाई फिर्ता पठाउनुपर्ने बाध्यता रहेको उनको भनाई छ ।
राजापुर नगरपालिका–९, इश्वरीगन्ज बर्दियाका हरिलाल थारुले पनि त्यति टाढाबाट नेपालगन्ज आउँदा पनि निःशुल्क खोप नपाउँदा दुःख लागेको बताए । “२३ महिनाको यो छोरोलाई बिरालोले हातको औँलामा टोकिदियो, निःशुल्क रेबिजविरुद्धको खोप लाउन पाइन्छ भनेर त्यति टाढाबाट यहाँ ल्याएर आएँ” थारुले भने, “अस्पतालमा खोप सकिएको छ, बाहिरबाट किनेर ल्याऊ भने, मेडिकलबाट ६ सय २५ रुपियाँमा किनेर ल्याएँ । त्यति टाढाबाट यहाँसम्म आउँदा बेकारमा दुःख मात्र पाइयो ।”
अर्का सेवाग्राही खुसी गुरुङले पनि निःशुल्क पाउने गरेको भेरी अस्पतालमा खोप अभाव भएपछि निजी अस्पतालमा रु छ सय २५ रुपियाँ तिरेर खोप लगाउनुपरेको गुनासो गरे।
सूचना अधिकारी डा।रिजालले गत १५ दिन देखि नै अस्पतालमा एआरभी विभागमा रेबिजविरुद्धको खोप सकिएको बताउँदै उक्त खोप संघीय र प्रदेश सरकारसँग माग गरिएको जानकारी दिए । उनले भने, भेरी अस्पताल मात्र नभएर देश भरी नै रेबिज विरुद्धको खोपको अभाव रहेकोले तत्काल खरिद गरी पूर्ति गर्न सरकार सँग आग्रह गरे ।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा। पवनजंग रायमाझीले अस्पतालमा रेबिजविरुद्धको खोप प्रदेश आपूर्ति केन्द्र र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आउने गरेको र हाल सो स्थानमा पनि मौज्दात शुन्य भएकोले खोप अभाव भएको बताए । उनले अस्पतालमा खोप उपलब्ध नहुँदासम्म सर्वसाधारणलाई सो सेवा प्रदान गर्न नसकिने बताए ।
सुपरिटेन्डेण्ट डा। पवनजंग रायमाझीले खोप आपूर्ति गर्ने स्वास्थ्य सेवा विभाग हो तर उक्त विभागले समयमा खोप खरिद नगरेकोले सेवाग्राहीहरूलाई समस्या भएको देख्दा आफूलाई समेत पिडा भइरहेको जिकिर गर्दै तत्काल खरिद गरी खोप पठाउन संघीय सरकार सँग माग गरे ।