काठमाडौँ । बैशाख १६ देखि सरकारले देशका सात जिल्लामा हात्तिपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु गर्ने भएको छ ।
हालसम्म ५३ जिल्लामा हात्तिपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम सफल भइसकेको र यसवर्ष झापा, धनुषा, महोतरी, सर्लाही,रौतहट, रसुवा र कपिलवस्तुमा हातीपाइले विरुद्धको औषधि खुवाइने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले बताए।
यसपटक सात जिल्लाका १०१ पालिकामा रहेका ५० लाख ७८ हजार नागरिकलाई हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउने लक्ष्य लिइएको छ । उक्त कार्यक्रमका लागि सरकारले १२ करोड बजेट विनियोजन गरेकोमध्ये ११ करोड स्थानीय निकायमा निकासा भइसकेको छ। आम औषधि सेवन अभियानको कभरेज बढाउने लक्ष्यका साथ सञ्चालन भएको उक्त कार्यक्रममा नेपाललका १९ जिल्लाहरुले निवारणको प्रमाण पत्र समेत पाइसकेको डा मरासिनीले बताए ।
आम हातीपाइले रोगमा विभिन्न तीन थरिका औषधि खुवाइन्छ । जसमा आइभरमेक्टीन, डाइइथाइल्कारबामाजिन तथा अल्बेन्डाजोल रहेका छन्।
हात्तिपाइले कस्तो रोग हो ?
हातीपाइले रोग मानिसलाई शारीरिक रुपमा अशक्त तथा अपांग बनाउने एक सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीविले गराउँछ। यो रोग संक्रमित लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने गर्छ।
मानिसको शरीरमा यो यो परजीवि प्रवेश गरेको केही वर्ष पछि मात्रै रोगका असरहरु शरीरमा देखिने गर्छ । यस रोगको लक्षण देखिसकेपछि निको पार्न सकिँदैन । त्यसैले हात्तिपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्ण रुपमा निको हुनका लागि आम औषधि सेवन गर्न जरुरी छ।
हातीपाइलेको औषधि कस-कसले सेवन गर्नुपर्छ ?
आम औषधि सेवन कार्यक्रम सञ्चालन हुने जिल्लाहरुमा बसोबास गर्ने औषधि सेवन गर्न योग्य सबै व्यक्तिले यो औषधि सेवन गर्नुपर्छ ।
हातीपाइले रोगको औषधि कस-कसले सेवन गर्नु हुँदैन ?
- दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु
- गर्भवती र सात दिन सम्मका सुत्केरी
- छारे रोगको समस्या भएका व्यक्तिहरु
- पहिले आम औषधि सेवन गर्दा गम्भीर समस्या देखिएका व्यक्तिहरु
- सिकिस्त बिरामीहरु
सिकिस्त बिरामीहरु भन्नाले रोगका कारण ओछ्यान परेका बिरामीहरु,अस्पताल भर्ना भएका बिरामीहरु र त्यस्ता बिरामीहरु जो जीवनभर चिकित्सकीय उपचार सहायतामा बसेका हुन्छन् । जस्तै मिर्गौला रोगको डायलासिसका बिरामीहरु आदि ।