काठमाडौँ । विश्वमा औषत ८०० जना गर्भवती तथा सुत्केरी महिलाको, रोकथाम गर्न सकिने कारणहरुले मृत्यु हुने गरेको विज्ञहरु बताउ छन् ।
अन्तराष्ट्रिय मिडवाइफ दिवसको अवसर पारेर मिडवाइफ्री सोसाइटी अफ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै सोसाइटीकी अध्यक्ष प्रो. गोमा निलौलाले विश्वमा औषत ८०० जना गर्भवती तथा सुत्केरी महिलाको रोकथाम गर्न सकिने कारणहरुले मृत्यु हुने गरेको बताईन् । नेपालमा जिवित जन्ममा १५१ जना महिलाको मृत्यु हुने गरेको छ। यस मृत्युदरलाई घटाउन मिडवाइफको महत्वर्पुण भुमिका रहने उनले बताईन् ।
उनले स्वास्थ्य सेवा प्रणालीमा गर्भवती, सुत्केरी महिला तथा नवजात शिशुहरुलाई कम लागत, कम हस्तक्षेप र समुदायमा आधारित निरन्तर हेरचाह पुर्याउने जनशक्ति मिडवाइफ रहेको बताईन् । मिडवाइफले प्रदान गर्ने सेवाको प्रकृतीले गर्दा पर्यावरण मैत्री, दिगो स्वास्थ्य सेवा प्रदायकको अहम भुमिकामा मिडवाइफ रहन्छन् । साथै जलवायु प्रकोपको अवस्थामा समुदायमा आवश्यक मातृ तथा शिशु सेवा पुर्याउने पहिलो जनशक्ति मिडवाइफ रहेको निलौलाको भनाई छ ।
नेपाल सरकारले सामुदायिक स्तरको यौन तथा प्रजनन् स्वास्थ्य सेवा प्रवर्द्धन गर्न मिडवाइफ जनशक्तिलाई स्वास्थ्य सेवा प्रणालीमा समाबेश गरि परिचालन गर्नुपर्ने आवश्यक रहेको सोसाइटीकी पूर्व अध्यक्ष प्रो किरण बज्रचार्यको भनाई छ । उनले जलवायु परिवर्तनको प्रकोपका लागि मिडवाइफ एक महत्वपूर्ण समाधान रहेको बताईन् । समुदायमा आवश्यक पर्ने स्वास्थ्य शिक्षालाई एकिकृत गर्न घर भित्र र बाहिर वायु प्रदुषण कम गर्न धुवा रहित चुलो, पानी संरक्षण विधिहरु, घरमै बनाउने सर्वोत्तम पिठोको बारेमा सशक्तीकरण गरि जलवायु कार्य रणनीतिहरुमा समेत मिडवाइफ टेवा पुर्याएको हुन्छ ।
नेपाल सरकार तथा यस क्षेत्रमा कार्यरत दातृ निकायहरुलाई स्रोत र साधन परिचालन गरी कार्यन्वन गर्न मिडवाइफ्री सोसाइटी अफ नेपालले अन्तर्राष्ट्रिय मिडवाइफ दिवसको अवसरमा आहवान गरेको छ ।
मिडवाइफ नै किन ?
मिडवाइफहरुले यौन तथा प्रजनन् स्वास्थ्य र सुरक्षित मातृत्वको क्षेत्रमा मातृ तथा नवजात शिशुको स्वास्थ्य सेवा प्रबर्धन, सम्बर्धन र संरक्षणमा महत्वपूर्ण योगदान पुऱ्याएर मातृ तथा नवजात शिशुको मृत्यु दर घटाउन ठूलो भुमिका खेल्न सक्ने कुरालाई विभिन्न अनुसन्धानहरुले देखाएका छन् ।
त्यसैले सम्मानजनक प्रसुती सेवाका साथ सुरक्षित मातृत्व सेवालाई थप प्रभावकारी बनाइ मातृ तथा नवजात शिशुको मृत्युदर अझै घटाएर दिगो विकासको लक्ष प्राप्त गर्न, यौन तथा प्रजनन् स्वास्थ्य, सुरक्षित मातृत्व सेवामा सर्वव्यापी पहुँचको सुनिश्चितता गर्दै जलवायु परिवर्तनको प्रकोप घटाउन मिडवाइफको भूमिका महत्वर्पुण हुन्छ ।