काठमाडौँ। ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरेर मनाइँदै छ । सन् १८६३ मा विश्वमा रेडक्रस अभियानको सूत्रपात गर्ने रेडक्रस अभियानका संस्थापक जँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर हरेक वर्ष आजकै दिन रेडक्रस दिवस मनाइन्छ ।
आधुनिक र प्रविधियुक्त विश्वमा अन्तरदेशीय र देशभित्र हुने युद्ध, हिंसा, विभेदका कारण मानवता कमजोर हुँदै गइरहेको जनाइएको छ । यसैगरी विश्वमा तापक्रम वृद्धि र जलवायु परिवर्तनको प्रभावका कारण विपद्का घटना, खडेरी र अनिकालका कारण मानवताको रक्षा थप चुनौतीपूर्ण बन्दै गइरहेको छ ।
यसै सन्दर्भमा यस वर्षको नारा ‘मानवतालाई जीवित राखौँ’ ले यस अनिश्चित, ध्रुवीकृत, द्वन्द्व र विभेदको चपेटामा परेको संसारमा निःस्वार्थ सेवाभाव राखी मानवीय पीडा कम गर्न अहोरात्र खटिने स्वयंसेवकहरूले पु(याउने सेवामार्फत मानवताको दियो जगाइराख्न आवश्यक छ’ भन्ने सन्देश दिन खोजेको छ ।
यस दिवसले रेडक्रसकर्मीमा मानवीय आत्मसम्मानको रक्षा गर्ने, मानवीय पीडा कम गर्ने र विशेषतः पहुँच बाहिर जोखिमपूर्ण अवस्थामा रहेका व्यक्ति तथा समुदायलाई सेवा गर्ने प्रेरणा र प्रतिबद्धता प्राप्त हुनेछ भन्ने अपेक्षा गरिएको छ ।
रेडक्रस अभियान मूलभूतरूपमा मानवता, निष्पक्षता, तटस्थता, स्वाधीनता, स्वयंसेवा, एकता र विश्वव्यापकता जस्ता सात आधारभूत सिद्धान्तद्वारा निर्देशित भई कार्य गर्ने गर्दछ । रेडक्रस अभियानले प्रत्येक वर्ष सशस्त्र सङ्घर्ष र विभिन्न विपत्तिका बेला विश्वभरिका नौ करोड ५० लाखभन्दा बढी व्यक्तिलाई सेवा पु(याउन सक्षम रहेको जनाइएको छ ।
रेडक्रस अभियान विश्वको सबैभन्दा ठूलो मानवीय सञ्जाल भएको अन्तर्राष्ट्रिय परोपकारी संस्था हो । विश्वभरका १९१ राष्ट्रिय सोसाइटीहरूसहित मिलेर बनेको यस अभियानमा करिब एक करोड ६० लाखभन्दा बढी स्वयंसेवक आबद्ध रहेको रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ ९आइएफआरसी०ले जनाएको छ ।
आइएफआरसीका महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईले शुभकामना सन्देश जारी गर्दै पछिल्लो समय जलवायु परिवर्तनले उत्पन्न विपद्का घटनाले मानवताको रक्षामा चुनौती बन्दै गइरहेको जनाउँदै मानवीय सेवामा जुट्न आह्वान गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी रेडक्रस अभियानको एक अभिन्न अङ्गका रूपमा विसं २०२० भदौ १९ गते स्थापना भएको हो । हाल नेपाल रेडक्रसका सातै प्रदेशमा प्रदेश कार्यालय, ७७ जिल्लामा जिल्ला शाखा कार्यालय, सबै स्थानीय तहमा गरी एक हजार छ सय १५ उपशाखा कार्यालय र छ हजार नौ सय ३४ जुनियर तथा युवा सर्कल छन् ।
समुदायस्तरसम्म फैलिएका यी साङ्गठनिक निकायमा नौ लाख ३० हजार सदस्य तथा स्वयंसेवक आबद्ध छन् । सङ्गठन र स्वयंसेवकको देशव्यापी सञ्जाल भएको नेपाल रेडक्रसले आइएफआरसीको आर्थिक एवं प्राविधिक सहयोगमा प्रकोप व्यवस्थापन, स्वास्थ्य सेवा, सामुदायिक विकास, खानेपानी तथा स्वच्छता प्रवद्र्धन, रेडक्रस सिद्धान्त र मूल्य मान्यताको प्रवर्द्धनजस्ता कार्य क्षेत्रहरूमार्फत बर्सेनि करिब २५ लाखभन्दा बढीलाई सेवा पु(याउन सफल भएको छ । आइएफआरसीका नेपालस्थित देशीय प्रतिनिधि अजमद उल्लाले नेपालमा मानवीय सेवा जारी रहने जानकारी दिए ।