सल्यान । सल्यानमा ८५ जना मोतिया विन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । शिविरमा मोतिया विन्दु समस्या पत्ता लागेका १२९ जना मध्ये ८५ जना ९३४ पुरुष र ५१ महिला० को निःशुल्क शल्यक्रिया गरिएको दार्मा गाउँपालिका सल्यानले जनाएको छ ।
विगत लामो समयदेखि धमिलो देखिएको आँखाले एक्कासी उज्यालो देखिदा निकै खुशी लागेको दार्मा गाउँपालिका ४ की मन कुमारी मल्ले बताईन् । उनले भनि ‘हामी जस्ता बुढाबुढी जो वरपर जान सक्दैनौ, गाउँमै शिविर राखेकोमा पालिकालाई धन्यवाद छ ।’
यस्तै दार्मा -२ का कृति बहादुर चन्दको मुहार पनि निकै मुस्कुराइ रहेको थियो । ७०-७५ वर्षको उमेरमा फेरी आँखाको ज्योति पाउँदा र सहारा बिनै हिँडडुल गर्न पाउँदा मुहारमा छुट्टै चमक थियो । उनले भने ‘लाग्दथ्यो बुढ्यौली जीवन कसरी कटाउने हो , तरे अप्रेशन पछि आँखाले ज्योति पायो । फेरी नयाँ जीवन पाएझैँ लागेको छ ।’
गाउँमा सञ्चालन भएको शिविरले गरिब, विपन्न, अशक्त, ज्येष्ठ नागरिक र बालबालिकालाई ठूलो राहत मिलेको गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताए । उनले भने जे जसरी सकिन्छ, राज्य हुनुको आभास नागरिकलाई दिलाउनु जनप्रतिनिधि तथा सरकारको दायित्व हो ।
नेपाल नेत्र ज्योति संघ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेश सुर्खेतको आर्थिक सहयोग, राप्ती आँखा अस्पताल रक्षा चौरको प्राविधिक सहयोग र दार्मा गाउँपालिकाको आयोजनामा शिविर सम्पन्न भएको हो ।