काठमाडौं। नेपालमा मात्रै नभई विश्वमा नै क्यान्सरका कारण धेरै मृत्यु हुने गरेको पाइएको छ। सुरुवाती चरणमा क्यान्सर पत्ता लगाएर उपचार गर्न सकेको खण्डमा क्यान्सरलाई पूर्ण रुपमा निको हुन्छ भन्ने सन्देश दिनका लागि मह सञ्चारले ‘के डेरा के घर’ टेलि चलचित्र बनाएको छ।
विगतको तुलनामा नेपालमै सुलभ र गुणस्तरीय उपचार हुन्छ र विरामीले पनि त्यति झण्झट बहोर्नुपर्दैन भने सन्देश दिनका लागि क्यान्सररोग लागेका एकजना विरामीको घटनालाई समेटेर मह सञ्चारले उक्त टेलि चलचित्र बनाएको हो । क्यान्सर लागे पछि उपचार खर्च जुटाउनको लागि घरखेत नै बेच्नुपर्ने अवस्था हुने र त्यस पछि पनि विरामीलाई बचाउन सकिँदैन भन्ने अन्धविश्वास हाम्रो समाजमा विद्यमान छ । त्यसै समयमा उपचार खर्च दिनुपर्ला भनेर मुखले ठीक्क पार्ने आफन्त र छिमेकीहरु पनि टाढा भाग्ने गर्छन् ।
उक्त टेलि चलचित्रमा लामो समयदेखि चुरोटको लत लागेका हरिवंश (हरिशंकर) लाई फोक्सोको क्यान्सर लागेपछि मुखले ठिक्क पार्ने छिमेकी र आफन्तले उपचारको लागि विरामीलाई विदेशमा लैजान गलत सल्लाह दिएपछि उपचार खर्च जुटाउनको लागि काठमाण्डौको आफ्नो महंगो घर आफ्नै घरमा भाडामा बस्ने मदनकृष्ण (मदन शंकर) लाई बेचेर हरिवंश सोही घरमा भाडामा बस्न वाध्य भएको कथावस्तुलाई आधार बनाई मह सञ्चारले ‘के डेरा के घर’ बनाएको हो ।
नेपालमै क्यान्सरको उपचार गर्ने अत्याधुनिक र सुविधासम्पन्न अस्पताल तथा विशेषज्ञ चिकित्सकहरु हुँदाहुँदै पनि क्यान्सरका विरामीलाई उपचारको लागि विदेशमा लैजाँदा धेरै खर्च लागेर आफुले दुस्ख गरि जोडेको एउटै मात्र घर पनि बेच्नु परेको तितो यथार्थ सो टेलि चलचित्रमा समावेश गरिएको छ । वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवशं आचार्य, नरेन्द्र कशांकार, नारायणदेवी श्रेष्ठ, सिरु बिष्ट, सावित्री शर्मा, राजु भुजु, शशिकुमार खड्का,पुजा लिम्बु, ओजश्वी बिष्ट, दिपक कोइराला, सहारा कोइराला लगायतको भूमिका रहेको सो टेलि चलचित्रलाई मह जोडीले निर्देशन गरेका छन्।
शुक्रबार ‘के डेरा के घर’ को प्रिमियर शो देखाइयो । मह सञ्चारका संस्थापक एवम् निर्देशकद्वयको उपस्थितिमा देखाइएको सो प्रदर्शनीमा ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले क्यान्सरको जनतेचनामुलक कार्य गरेकोमा धन्यवाद दिदै, क्यान्सर बारेको जनचेतना फैल्याउन सहकार्य गर्न महानगर तयार रहेको बताए।
‘नेपालीको क्यान्सरको उपचार नेपालमै हुन्छ, विदेशमा जानु पर्दैन’ भन्ने सन्देश दिनको लागि सो टेलिचलचित्र बनाइएको उपचारको लागि सहयोगी हातहरु संस्थाकी अध्यक्ष एवम् नेपाल क्यान्सर हस्पिटलकी निर्देशक स्वरुपा श्रेष्ठले बताईन् ।
त्यसै गरि नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेण्टरका कार्यकारी अध्यक्ष डा।सुदिप श्रेष्ठले अहिले नेपालमै क्यान्सरको उपचारको लागि विश्वस्तरीय अस्पतालहरु र विशेषज्ञ चिकित्सक हुँदाहुँदै पनि धेरै नेपाली विरामीहरु आफन्त र छिमेकीको गलत सल्लाहमा उपचारको लागि विदेशिने गरेको र यसबाट लाखौं नेपाली रुपैयाँ विदेशिने गरेको र विरामी र विरामी कुरुवाले दुस्ख पाउने गरेको बताए।
मदन देवी फाउण्डेशन ललितपुर, नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि, आईजिआई प्रुडेन्शियल इन्सुरेन्स, नेपाल अर्वुद्धरोग निवारण संस्था ललितपुर शाखा, रोटरी क्लव अफ यल, उपचारको लागि सहयोगी हातहरु, ललितपुर महानगरपालिका वडा नं १६ र पुर्ण मंगल जोशीको आर्थिक सहयोगमा सो टेलिचलचित्र बनाएको हो । मह जोडीले उनीहरुलाई सम्मान पनि गरे । मह सञ्चारले करीव ४० वर्षअघि ‘के घर के डेरा’ टेलि चलचित्र बनाएको थियो ।