नेपालगन्ज । अत्यधिक गर्मीको सामना गरिरहेका बाँके र बर्दियामा विपन्न वर्गलाई तातो हावाको लहर ‘लु’ को असरबाट जोगाउन ‘तातो हावा परियोजना’ सुरु भएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका र नरैनापुर गाउँपालिका तथा बर्दियाको गुलरिया नगरपालिकामा ४५ दिने परियोजना सुरु भएको हो ।
१७ मे २०२४ देखि सुरु भएको तातो हावा परियोजना १ जुलाई २०२४ सम्म लागू हुनेछ । स्टार्ट फण्ड नेपालको सहयोगमा बाँके युनेस्को क्लब र कतार च्यारिटीले परियोजना सञ्चालन गरेका हुन् । अपाङ्गता, दलित, सीमान्तकृत, विपन्न, एकल महिला, अपाङ्गता भएका व्यक्ति भएको परिवार, गर्भवती महिला र दूध चुसाउने आमालाई लक्षित गरी परियोजना सञ्चालन गरिएको बाँके युनेस्को क्लबका परियोजना प्रमुख साजिद अली सिद्धिकीले बताए ।
अत्यधिक गर्मीको कारण तातो हावाको प्रभावबाट हुने स्वास्थ्य जोखिमलाई न्यूनीकरण गर्न र तातो हावाको असरबाट जोगिन सामाजिक सचेतना जगाउन परियोजना सञ्चालन गरिएको हो । विद्यालय र घरधुरी छनौट गरेर विभिन्न क्रियाकलाप सञ्चालन गरिने बाँके युनेस्को क्लबले जनाएको छ ।
बालबालिकालाई छाता, पानी पिउने बोतल, जीवनजल, ग्लुकोज पाउडर, विद्यालयमा चिसो खानेपानीको व्यवस्थापन, सिलिङ फ्यान जडान तथा समुदाय स्तरमा अति विपन्न र जोखिममा रहेका परिवारलाई खाद्यान्न सहयोग, छाता, गम्छा, औषधियुक्त झुल, चप्पल, सार्वजनिक ठाउँमा चिसो खानेपानीको व्यवस्था, सामाजिक सचेतना फैलाउने लगायतका गतिविधि सञ्चालन गरिने बाँके युनेस्को क्लबकी विनिता आरसीले जानकारी दिए।