काठमाडौँ । नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले मिति २०८१ जेठ ४ गते जारी गरेको सूर्तीजन्य पदार्थमा लाग्ने करको प्रतिशत र करको बिधा सहित प्रकाशित गरेको भ्रामक विज्ञप्ति प्रति एक्सन नेपालले असहमति जनाउँदै ध्यानाकर्षण गराएको छ ।
सूर्ती उद्योगीहरुले संसार भरी नै भ्रामक सुचना सम्प्रेषण गर्ने, वैज्ञानिक बिधिमा आधारित नभएका तथ्य बाहिर ल्याउने र निति निर्माणमा संलग्न भएका नेता तथा कर्मचारीहरुलाई त्यस्ता तथ्य र अन्य बिधिहरु प्रयोग गरि प्रलोभनमा पार्ने एवं निति निर्माणमा हस्तक्षेप गरी आफू अनुकुल कानुन र परिस्थिती निर्माण गर्ने प्रचलन सर्वबिदितै भएकाले यसप्रति ध्यानाकर्षण हुनुपर्ने एक्सन नेपालका डा. पामिर गौतमले बताए ।
एक्सन नेपालले गरेको पत्रकार सम्मेलनमा गौतमले नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले जारी गरेको बिज्ञप्ति प्रति एक्सन नेपालको असहमति रहेको बताए । उनले एक्सन नेपालले सधै वैज्ञानिक बिधि र अनुसन्धानमा आधारित तथ्य र संसारभर प्रचलनमा आएका बिशिष्टकृत अभ्यासहरुको मात्रै परिपालना र वकालत गर्दै आएको जानकारि दिए ।
नेपालमा करको दर कम भएकै कारण यहाँ चुरोटको मुल्य विश्वकै तुलनामा सबैभन्दा कम रहेको उनको भनाई छ । आन्तरिक राजश्व बिभागको तथ्याङ्क अनुसार गत वर्ष नेपालमा लगभग ११ अर्ब २६ करोड ६६ लाख ६६ हजार ६ सय ६७ खिल्ली चुरोट उत्पादन भयो । यस हिसाबमा कुल अन्तःशुल्क २६ अर्ब २२ करोड रुपैया (प्रति खिल्ली औसत रु २.३२ को दरले) राजश्व संकल भएको थियो । प्रति खिल्ली अन्तः शुल्क रु ४ (औसतमा) मात्रै बनाउँदा पनि ४५ अर्ब ६ करोड ६६ लाख ६६ हजार ६ सय ६८ रुपैया राष्ट्रले राजश्वको रुपमा संकलन गर्नेछ जुन अहिलेको भन्दा रु १८ अर्ब ८४ करोड ६६ लाख ६६ हजार ६ सय ६८ रुपैया बढी हो ।
अहिले प्रति खिल्ली रु ०.६ स्वास्थ्य जोखिम कर हुँदा राष्ट्रले कुल ६ अर्ब ७६ करोड रुपैया राजश्व उठाउँछ । स्वास्थ्य मन्त्रालयले प्रस्ताब गरे अनुसार प्रति खिल्ली रु ३ स्वास्थ्य जोखिम कर बृद्धि गर्ने हो भने लगभग ३३ अर्ब ८० करोड रुपैया स्वास्थ्य जोखिम कर उठ्ने देखिन्छ जुन अहिलेको भन्दा रु २७ अर्ब ४ करोड रुपैया बढि हो । नेपालमा सर्वाधिक बिक्रि हुने चुरोटको मुल्य रु ३२० पर्छ भने भारतमा त्यस्तै चुरोटको मुल्य करिब नेपाली रु ५४४ छ ।
यदि चुरोटमा कर बढाइयो भने नेपाली भन्दा विदेशी चुरोट सस्तो हुने र अवैध रुपमा विदेशी चुरोट नेपाल भित्रिने झुटो पैरवी गरिएको तर वास्तवमा त्यसो नहुने विभिन्न तथ्यहरुले देखाएको उनले बताए ।
त्यसै गरि एक्सन नेपालका अध्यक्ष आनन्द बहादुर चन्दले कानून विपरितको काम गर्न कसैलाई छुट नहुने भन्दै यस्ता गतिविधिमा लाग्ने र भ्रामक सुचना सम्प्रेषण गर्ने माथि कार्वाही गर्नु पर्ने बताए । बर्तमान सरकारले विश्व स्वास्थ्य संगठनको शिफारिस अनुसार सूर्तीेजन्य पदार्थमा कर बृद्धि गर्यो भने मौजुदा राजश्व ३२ अर्व ९८ करोडमा थप ४५ अर्व ८९ करोड गरि जम्मा ७८ अर्व ८७ करोड राजश्व संकलन हुन देखिएको बताए । विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको कर दर (७५%) भन्दा नेपाल सरकारले सूर्तीजन्य पदार्थमा लगाएकोे कर निकै कम छ । यसले सूर्तीजन्य उद्योग प्रति नेपाल सरकारको सम्झौतावादी निति प्रष्ट देखिएको उनले बताए ।
सुर्तीजन्य पदार्थको सेवनबाट नेपालमा बार्षिक ३७ हजार बढीको मृत्यु हुने गरेको छ । सूर्तीेजन्य पदार्थबाट लाग्ने रोगहरु जनस्वास्थ्यको प्रमुख चिन्ताको रुपमा देखिएको अवस्थामा सरकार त्यस प्रति गम्भिर हुन जरुरी रहेको उनको भनाई छ । सञ्चारमाध्यममा सुर्तीजन्य पदार्थको विज्ञापन वा सूचना सम्प्रेषण गर्न पाइने छैन’ भनेर स्पष्ट रुपमा उल्लेख गरिएको छ तर पनि नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघको नाममा ‘भ्रमपूर्ण विज्ञप्ती’ प्रकाशित भएको उनले बताए ।
चन्दका अनुसार सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने कानुनको कार्यान्वयन र सूर्तीजन्य पदार्थमा उपयुक्त करको संयोजनले मात्र सूर्तीजन्य पदार्थको सेवनबाट उत्पन्न हुने स्वास्थ्य, सामाजिक र आर्थिक संकटलाई प्रभावकारी रुपमा सम्बोधन गर्न सकिन्छ ।