उदयपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदयपुरको गाईघाटमा नै मेडिकल कलेज स्थापना गर्ने बताए ।
मेडिकल कलेज स्थापनाको माग सहित राजधानी पुगेको त्रियुगा नगरपालिकाको प्रतिनिधि मण्डलसँग शनिबार भेटघाटको क्रममा प्रधानमन्त्री दाहालले सिंहदरबारमा उक्त कुरा बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहालले उदयपुरमा यसअघिनै मेडिकल कलेज स्थापना गर्ने निर्णय भइसकेको बताउदै त्रियुगा नगरपालिकाले प्रस्ताव गरेको स्थानमा मेडिकल कलेज स्थापना गरिने बताए ।
त्रियुगा नगरपालिकाको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले आगामी बजेटको तयारी रहेको बेला ध्यानाकर्षण गर्न आएकोले आगामी बजेटमा त्रियुगा नगरपालिकामा मेडिकल कलेज निर्माणको प्रक्रिया सुरु हुने स्पष्ट पारे ।
यसैबिच उक्त सर्वपक्षीय सर्वदलीय प्रतिनिधि मण्डलको टोली नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार भेटगरी मेडिकल कलेज उदयपुरको गाईघाटमा स्थापना गर्न आवश्यक पहल गर्न आग्रह गरेको छ ।
प्रतिनिधिमण्डल सँगको भेटमा अध्यक्ष ओलीले जनघनत्व, सदरमुकाम र जग्गा व्यवस्थापनको आधारमा गाईघाटमा नै मेडिकल कलेज स्थापना गर्न उपर्युक्त रहेको बताए ।
मेडिकल कलेज गाईघाटमा नै स्थापना गर्नु पर्ने माग सहित पुगेको टोलीलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मेडिकल कलेज स्थापना गर्दा धेरै कुरा अध्ययन गरेर निर्णय गरिने भएकाले उदयपुरमा त्रियुगा नगरपालिकाको विकल्प नरहेको बताए ।
त्रियुगा नगरपालिकाकी उपप्रमुख महेश्वरी राईले गाईघाटमा मेडिकल कलेज निर्माणको काम यस वर्षको बजेटमा समावेश गरेर अघि बढाउनको लागि अध्यक्ष ओलीलाई आग्रह गरे ।