काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हसिना खानले सुर्तीजन्य पदार्थको प्रयोग र स्वास्थ्यमा पर्ने गम्भीर असरलाई दृष्टिगत गरी सुर्तीजन्य पदार्थको पहुँच र प्रयोगको दरमा कमी ल्याउनुपर्ने बताए ।
स्वास्थ्य सेवा विभागले आज आयोजना गरेको विश्व सुर्तीजन्य पदार्थरहित दिवस कार्यक्रममा उनले हरेक वर्ष विश्वमा सुर्तीजन्य पदार्थ सेवनका कारण विश्वमा वार्षिक ८० लाख मानिसले ज्यान गुमाउने गरेको तथ्याङ्क रहेको र नेपालमा ३९ हजारभन्दा बढीले अकालमा ज्यान गुमाउने गरेको बताए । यो तथ्याङ्क कूल मृत्यु हुने सङ्ख्याको १८ प्रतिशत हो । विश्वभरि आज ‘सुर्ती उद्योगको प्रभावबाट बालबालिकालाई बचाऔँ’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो ।
क्यान्सर, मुटु रोग, श्वासप्रश्वाससम्बन्धी दीर्घरोग र मधुमेहजस्ता नसर्ने रोगहरु निम्त्याउने प्रमुख कारकका रुपमा रहेको सुर्तीजन्य पदार्थले स्वास्थ्यका साथै समग्र वातावरणमा पनि क्षति पु(याएको उनको भनाइ छ ।
सुर्तीजन्य पदार्थसँग सम्बन्धित समस्या र स्वास्थ्यको असरहरुको न्यूनीकरणमा अपेक्षित नतिजा हासिल गर्न नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनसम्बन्धी ऐन तथा कानुनलाई थप प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न अपरिहार्य रहेको उनले बताए । सुर्तीजन्य पदार्थको विज्ञापन निषेध गरिएको भए पनि बिक्री वितरण कडाइका साथ नियमन गर्न जरुरी रहेको उनले बताए ।
स्वास्थ्य सचिव डा रोशन पोखरेलले सुर्तीजन्य पदार्थको सेवन निरुत्साहित गर्दै नागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्न विभिन्न ऐन, कानुन बनाइएको बताए । उहाँले सुर्तीजन्य पदार्थ सेवनलाई न्यूनीकरण गर्न सुर्तीजन्य पदार्थमा कर बढाउने, धुम्रपानरहित वातावरणमा लागू गर्ने, सादा प्याकेजिङ लागू गर्ने, जनचेतना अभिवृद्धि गर्ने र स्वास्थ्य सेवा दिने स्थानमा धुम्रपान छोड्न मद्दत गर्न संरचनाको व्यवस्था गर्ने कार्यमा मन्त्रालय अग्रसर रहेको स्पष्ट पारे ।
क्यान्सर रोग विशेषज्ञ डा अरुण शाही बालबालिकालाई सुर्तीजन्य पदार्थबाट जोगाउन चकलेट, स्ट्रबेरी, चेरीलगायत विभिन्न स्वादमा सुर्तीजन्य पदार्थ बेच्न नहुने बताए । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक डा भक्तबहादुर केसीले कूल क्यान्सरको ४० प्रतिशत कारण घुम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोग हुने गरेको उल्लेख गरे ।
त्यस्तै, सुर्तीजन्य पदार्थको सेवनले मुटुको रोग, फोक्सोको समस्या, मस्तिष्कघात हुने गर्दछ । गर्भावस्थामा यसको प्रयोगले कम तौल भएका बच्चा जन्मनु तथा समय अगाडि जन्मिने, गर्भ तुहिनेजस्ता जटिलताहरु निम्त्याउन सक्छ । सुर्तीजन्य पदार्थका सेवनले मुखको, फोक्सोको क्यान्सर, श्वासप्रश्वाससम्बन्धी रोग, मस्तिष्कघात तथा रक्तनलीसम्बन्धी रोग लाग्ने गर्दछ ।
छ जना पुरस्कृत
दिवसका अवसरमा सुर्तीजन्य पदार्थको नियन्त्रण र रोकथाममा भूमिका निर्वाह गरेका छजनालाई पुरस्कृत गरिएको छ । पत्रकार अतुल मिश्र, नीता सापकोटा र डिवी खड्का तथा संस्थातर्फ हेल्थ नेपाल प्रालि, कर्मचारीतर्फ विनोदविन्दु शर्मा र सुनिल शर्मालाई नगद रु ५० हजारसहित पुरस्कृत गरिएको हो ।