बाँके । लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडमा नयाँ व्यवस्थापनले नेतृत्व सम्हालेपछि अस्पताल सुधारका विभिन्न कार्ययोजना अघि सारेको छ। कम्पनी अन्तर्गतका शिक्षण अस्पताल नेपालगन्ज र शिक्षण अस्पताल कोहलपुरलाई सेवा गुणस्तर सुधार गर्दै अगाडि बढाउने योजना सार्वजनिक गरिएको हो। शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुरमा अस्पतालको व्यवस्थापकीय पक्ष फेरिएसँगै विशिष्टकृत सेवा विस्तार गर्दै उपचार सेवालाई थप स्तरीय बनाउन लागिएको छ ।
कोहलपुर र नेपालगन्ज स्वास्थ्यको हवका रुपमा परिचित भइरहेका बेला छिमेकी प्रदेशहरूमा सुविधा सम्पन्न अस्पतालहरू सञ्चालनमा आउन थालेपछि त्यो चुनौतीलाई पन्छ्याउन शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुरमा विशिष्ट कृत सेवाहरू थपिन लागिएको हो ।
लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडका सचिव श्याम शर्माले सोमबार कोहलपुरमा पत्रकारहरूसँग लुम्बिनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रका जनतालाई थप स्तरीय सेवा प्रदान गर्नका लागि विशिष्ट कृत सेवा थप्नुको विकल्प नभएको बताए । उनले त्यहीअनुसार व्यवस्थापकीय पक्ष खटिएको बताए ।
अस्पतालले प्रवाह गर्ने सबै उपचार सेवालाई विशिष्ट कृत गराउँदै लैजाने योजनाका साथ लागि परेको उल्लेख गर्दै कम्पनी सचिव शर्माले स्वास्थ्य सेवालाई प्रतिस्पर्धी बनाइने उल्लेख गर्नुभयो । शिक्षण अस्पताल कोहलपुरका निर्देशक डा।रेशम बहादुर रानाले अस्पतालबाट प्रवाह हुने सेवालाई क्रमशः स्तरीय बनाउँदै लगिएको जानकारी दिए । एनेस्थेसियोलोजिष्ट डा रानाले क्रिटिकल केयरमा शिक्षण अस्पताल कोहलपुर सबैभन्दा बढी स्तरीय रहेको पनि बताए ।
उपचारसँगै कोहलपुर शिक्षण अस्पताललाई चिकित्सा शिक्षा अध्ययनको केन्द्रका रुपमा विकास गरिने तयारीमा आफूहरू रहेको पनि उनको भनाइ छ । अहिले कोहलपुरबाट एमबीबीएस एमडी, एमडी एमएस, विएस्सी नर्सिङमा अध्ययन भइरहेको छ । आगामी साउनदेखि बिडिएस, बिएमआइटी, बिएमएलटीको अध्ययन गराउने तयारीमा कलेज जुटेको छ । यसअघि सञ्चालनमा रहेको पिसिएल नर्सिङलाई पनि निरन्तरता दिने तयारी कलेजले गरेको छ । सरकारका कारण पिसिएल नर्सिङको अध्ययन अहिले रोकिएको छ ।
‘कोहलपुर शिक्षण अस्पताललाई पूर्णरुपमा नेपालगन्ज मेडिकल कलेजको रुपमा सञ्चालन गर्दै यस क्षेत्रमा स्वास्थ्य उपचारको नयाँ नयाँ उपकरणहरू थप गरी विशेषज्ञ सेवा दिने गरी अगाडि बढेका छौँ’ निर्देशक डा रानाले भने । यही साउन १ गतेदेखि कोहलपुर अस्पतालमा बन्द भएको स्वास्थ्य बीमा कार्यक्रम पनि सुरु गरिने डा।रानाले बताए ।
२०५४ सालमा स्थापना भएको लर्ड बुद्ध एजुकेशनल एकेडेमी अन्तर्गतको शिक्षण अस्पताल नेपालगन्ज र शिक्षण अस्पताल कोहलपुरसँगै नर्सिङ क्याम्पस, मेडिकल कलेज लगायतका प्रतिष्ठानहरूमा १ सय ६५ चिकित्सक, ३९ मेडिकल अफिसर, ६ सय ३० नर्स, १ सय बढी प्यारा मेडिकल सहित १ हजार ४ सय बढी कर्मचारी कार्यरत छन्। कोहलपुरमा ५ सय २५ र नेपालगन्जमा ३ सय १५ शय्याको अस्पताल सञ्चालनमा आएपनि बिरामी सङ्ख्या दैनिक त्यो भन्दा बढी नै सेवा दिइरहेको छु, कम्पनी सचिव शर्माले जानकारी दिए।