काठमाडौँ । प्रदेश अस्पतालमा उपलब्ध गराएको उपकरण संचालन नआउँदा हिमोफिलियाका विरामी पहिचान गर्न समस्या भएको बताइएको छ ।
हिमोफिलिया सोसाइटी नेपालले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा दाताको सहयोगमा उपलब्ध गराइएका उपकरण संचालन नआउँदा हिमोफिलिया विरामी पहिचान गर्न नसकिएको हो । हिमोफिलिया सोसाइटीका अध्यक्ष मुकुन्दमणि घिमिरेले हिमोफलिया रोग पहिचान गर्न दाताको सहयोगमा उपलब्ध गराईको ‘कोगुलोमिटर’ उपकरण संचालन नहुँदा पहिचान गर्न समस्या भएको बताए ।
उनका अनुसार कोशी अस्पताल, चितवनस्थित भरतपुर अस्पताल, पोखरा स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान र लुम्बिनी प्रादेशिक अस्पतालमा उपलब्ध गराइएको ‘कोगुलोमिटर’ उपकरण रिएजेन्टको अभावले संचालन आएका छैनन । मधेश र कर्णाली प्रदेशमा भने संचालनमा आएका छन् । सुदुरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालले भने प्राविधिक अभावले उक्त उपकरण लैजान मानेको छैन ।
राष्ट्रिय जनगणना अनुसार चार हजार नौ सय ३७ हिमोफिलियाका विरामी रहेको तथ्याङ्क रहेपनि अहिले पहिचान गरि उपचारमा ८७० जना विरामी रहेको सोसाइटीका अध्यक्ष घिमिरेले जानकारी दिए ।“हिमोफिलियाका विरामीको पहिचान गर्न काठमाडौँ आउने झन्झट कम गर्नका लागि हामीले प्रादेशिक अस्पतामला नै ‘कोगुलोमिटर’ उपकरण उपलब्ध गराएको थियौ” उनले भने, “तर सरकारले पहिचान गर्नका लागि रिएजेन्ट उपलब्ध नगराउँदा ति उपकरण त्यतिकै थन्किएका छन् ।”
उनले सवै जिल्लामा “हिमोििफलियाका विरामी रहेको र ति विरामीलाई अकालको मृत्युबाट जोगाउन, अङ्गभङ्ग हुन नदिन र उपचारमा ल्याउनका लागि पहिचान गर्न आवश्यक रहेको बताए ।अहिले काठमाडौँमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पतालमा हिमोफिलियाका विरामीको पहिचान गर्न स्क्रिनिङ गरिन्छ ।
हिमोफिलियाको परीक्षणका लागि ८०० रुपियादेखि दुई हजार रुपिया लाग्ने गर्दछन । रगत जमाउने आवश्यक तत्वको कमिको कारणले लामो समयसम्म रक्तस्राव भइरहेन अवस्थालाई हिमोफिलिया भनिन्छ । हिमोफिलिया एक बंशाणुगत समस्या हो भनेर पनि चिनिन्छ । मानव शरीरमा हुने रगतको १३ वटा तत्वमध्ये कुनै एउटा तत्वको कमीको कारण हिमोफिलिया हुन्छ । यो बङशाणुगत र कोषमा उत्परिवर्तन भएर पनि हुन्छ ।
हिमोफिलिया प्रभावित व्यक्तिहरु चोटपटक लाग्न सक्ने स्थानबाट सकभर जोगिनु पर्ने हुन्छ । शरिरमा रगत जमाउने आवश्यक तत्वमध्ये कुनै तत्वको मात्रा एक प्रतिशतभन्दा कम भएका गम्भिर हिमोफिलिया, एक देखि पाँच प्रतिशतसम्म भएमा मध्यम हिमोफिलिया र पाँच प्रतिशतभन्दा माथि भएका अल्प हिमोफिलिया भनिन्छ ।