वीरगञ्ज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले वीरगन्जको नारायणी अस्पताललाई तराई मधेसकै प्रमुख उपचार केन्द्रको रुपमा स्थापित गरिने बताए ।
गृहनगर वीरगञ्ज आइपुग्नुभएका मन्त्री यादवले अस्पतालको ओपिडी, फार्मेसी, पोस्टअप, ल्याब लगायतका विभिन्न शाखाहरूको स्थलगत अनुगमनपछि आयोजित कार्यक्रममा अदालतमा विचाराधीन रहेको नारायणी अस्पताल भवन निर्माणको मुद्दालाई फास्ट ट्र्याकमा सम्बोधन गर्न पहल भइरहेको बताए । उनले प्रधानमन्त्री र कानुन मन्त्रीसँग भेटेर मुद्दाको फैसला चाँडै गर्न आग्रह गरेको र फैसला भएसँगै भवन निर्माणको काम द्रुतगतिमा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
मन्त्री यादवले अस्पतालको पूर्वाधार विकासदेखि औषधि, उपकरण खरिदका लागि मन्त्रालयबाट विभिन्न प्याकेजहरू घोषणा गरिएको जानकारी दिए । उनले समग्र देशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि पूर्व स्वास्थ्य मन्त्रीसँग सहकार्य गर्दै विज्ञहरूको सुझाव अनुसार काम गरिरहेको बताए ।
कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। एनामुल हकले अस्पतालको भवन पुरानो हुँदा बिरामीहरूको उपचारमा समस्या आएको बताउँदै, अधिकांश भवनहरूको अवस्था जर्जर रहेको र वर्षायाममा पानी चुहिँदा उपचारमा कठिनाइ आउने समस्या रहेको बताए ।
वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले नारायणी अस्पतालको स्तरोन्नतिलाई प्रमुख एजेण्डा बनाएर काम गर्न स्वास्थ्य मन्त्री यादवलाई आग्रह गरे थिए ।
अनुगमन कार्यमा नारायणी अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ता, पूर्व प्रदेश सभा सदस्य जन्नत अन्सारी लगायतको सहभागिता रहेको थियो ।